Comments Add Comment

‘कुलम्यान’को आक्रोसः एक दिन काम रोकिए तपाईंलाई थुनिदिन्छु (भिडियोसहित)

२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘कुल म्यान’ पनि भनिन्छ । न उनी खुलेर हाँस्छन्, न उतिसारो रिसाउँछन् । अर्थात सँधै ‘कुल’ ।

तर, नुवाकोटको पैरबेसीमा बिहीबार कुलमानको फरक रुप देखियो । प्राधिकरण प्रमुख घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न बिहीबार नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँ पुग्दा त नुवाकोटको पैरबेसी भन्ने स्थानमा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माण स्थानीयले नियतबस रोकेको थाहा पाए ।

सबस्टेशनको निर्माण रोकिन नहुने भन्दै घिसिङ निर्माणस्थलमा पुगेका थिए । प्राधिकरण प्रमुख आएको थाहा पाएपछि स्थानीय पनि जम्मा भए ।

यो सब-स्टेशन त्रिशूली नदी किनारको नुवाकोटतर्फ पर्ने क्षेत्रमा बनिरहेको छ । तर, २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयबासीको नाममा अवरोध भइरहेको थियो ।

त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदा विरोध भएको थियो । आयोजनाले रसुवातर्फ पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । खाल्डो खनिसकेपछि पनि स्थानीयको माग अनुसार १३ मिटर पछाडि सारेर सबस्टेशनतर्फको किनारमा पर्खाल निर्माण थालिएको थियो । तर, निर्माण अगावै सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फका स्थानीयको नाममा अवरोध भयो ।

बिहीबार पनि प्राधिकरण प्रमुख आएको थाहा पाएपछि स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापा नेतृत्वको समूह आइपुगे । उनीहरु सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै चर्को स्वर निकाले ।

घिसिङले सब-स्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको र बाँकी कामको लागि बसेर छलफल गर्न सकिने बताए । उनले सबस्टेशन निर्माणको नरोक्न आग्रह गर्दै स्थानीयको मागमा आफू गम्भीर रहेको बताए ।

तर, जनताको माग पनि सुनुवाई हुनुपर्‍यो भनेपछि ‘कुलम्यान’ कुलमान रिसाए । भट्टराईको नेतृत्वकै उपभोक्ता समितिमार्फत रसुवातर्फ सुरक्षा पर्खाल लगाइएको स्मरण गराउँदै फेरि थप माग किन भने प्रश्न गरे । उनले भट्टराईलाई सोधे, तपाईको जग्गामा काम गरेको छ ?’

भट्टराईले आफूहरु विकास विरोधी नभएको तर, जनताको माग सम्बोधन हुनुपर्ने बताए । कुलमानले भने, ‘तपाईको माग भन्नुस् न, जनताको होइन । जनताको माग समाधान गर्छौं हामी ।’

भट्टराई आफैं रसुवातर्फको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन् । उनले जनताको नाम लिँदै नाजायज मागहरु राख्ने गरेको आयोजनाका अधिकारी बताउँछन् । बिहीबार पनि उनले जनताको माग भन्दै थप माग तेस्र्याएका थिए ।

आयोजनाका कर्मचारीहरुले यहाँ एक दिन काम रोकिँदा करोडौं क्षति हुने बताए ।

त्यसमा थप्दै कुलमान कडि्कए, ‘एक दिन कसैले रोक्यो भने तपाईंलाई समातेर थुनिदिन्छु ।’

कुलमानले भट्टराईलाई हाराबारा बनाएपछि पछाडिबाट जानुका थापा जनताको माग सुन्नुस् भन्द कराइन् । कुलमानले काम गर्न दिनुस्, जनताका माग सम्बोधन गर्ने बताएपछि उनले काम नरोकेको बताइन् ।

रसुवाली जनताले सधैँ सहयोग गरेको भन्दै कुलमानले स्वार्थ समूहले महत्वपूर्ण आयोजनामा अवरोध पुर्‍याएमा कानूनी उपचार खोज्ने बताएका छन् ।

हाल पैरेबेसी पारीको रसुवाली बस्ती भूकम्प त्यसपछि जोखिमयुक्त भनेर घोषणा भएको छ । पुनर्निर्माण प्राधिकरणले तत्कालै बस्ती स्थानान्तरण गर्नुपर्ने सूचीमा राखेको छ ।

तर, यही बस्तीको नाममा चिलिमे र त्रिशूली नदीका बेसिनमा निर्माण भइरहेका आयोजनाको विजुली एकीन गरी काठमाडौं ल्याउन सकिन गरी निर्माण भइरहेको सब-स्टेशनमा अवरोध भएको छ ।

करिब ६ सय मेगावाट विजुली आपूर्ति गर्ने उद्देश्यसहित बनिरहेको सब स्टेशनको निर्माणमा ढिलाइ भए निर्माणाधीन रसुवागढी, माथिल्लो सान्जेन र सान्जेनको करिब १७० मेगावाट विजुली खेर जान्छ ।

त्यसैले कार्यकारी निर्देशक घिसिङले एकदिन पनि नरोकी यो सबस्टेशन निर्माण गर्न पहल र ताकेता गरेका छन् । तर, रसुवातर्फका स्थानीयको अवरोध भएपछि पटक-पटक समस्या भएको आयोजनाका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment