
#निजामती१
कर्मको डोरो,
सपना या वाध्यता जे होस्,
लोक सेवाको ढोकाभित्र पस्दा
न कुनै “सोर्स” न कुनै “फोर्स”,
न कुनै चाकडी न कुनै चाल,
आफ्नै योग्यता मात्रै प्रमाणपत्र।
जसरी आफ्नो मान्छे नखोजी,
न्यायोचितर स्वच्छ प्रतिस्पर्धा
अथक र साँचो मेहनत,
ज्ञानको उजागर गर्दै समयको मूल्य चिनेर,
कसैको दया माया बेगर,
आफ्नै बलबुता, निन्द्राविहीन रात र अठोट
अनि,
आफ्नै दृढता र विश्वासले खुलेको हुन्छ ।
यो केवल वृत्ति हैन जीवनपथ हो।
यहाँ कलमले न्याय लेख्छ,
हस्ताक्षरले विश्वास बाँड्छ,
निर्णयले भविष्य निर्माण गर्छ।
अरे,
निजामती हुनु गुजारा मात्र हैन,
गम्भिर जिम्मेवारी र निष्ठाको यात्रा हो ।
विकल्प नभएकाहरुका लागि
राष्ट्र सेवाको आधारभूत विकल्प हो।
त्यसैले,
निजामती ट्यागसहित सेवामा रहँदा छोड्दा
विना चलखेल, विना जालझेल,
विना खुराफात, विना तिकडम्,
आत्मसम्मान र स्वच्छ पहिचानसहित
ऊर्जाशील, निर्भय र शानदार हुनुपर्छ ।
#निजामती२
हरेक परिवारको
हरेक समाजको
सपना आफू आफ्ना वरपर सबैको
सफल समुन्नत जीवन र वृत्ती हुन्छ ।
फगत जागिर मात्रै होइन ।
सेवा दिन पाउने अवसर हो ।
राष्ट्र र राष्ट्रियताको भरोसा हो ।
सपनाको विसर्जन हैन
जीवनको निरन्तरता हो निजामती।
नियुक्ति लिँदा होस् वा थप जिम्मेवारी
निजामती “ड्रेस कोड” मा
“टिकटक” र “फेसबुक”मा आफ्नो खुशी साट्दा,
तिम्रो नियुक्ति पत्र,
तिम्रो पदस्थापन पत्र,
तिम्रो पोशाक वा “ब्रान्ड”,
तिम्रो पहिचान,
तिम्रो आवाज,
तिम्रो जिम्मेवारी
घरबाट निस्केर राष्ट्रको बन्दछ ।
र,
मेरो हजुरबा, मेरो हजुरआमा
मेरो बा, मेरो आमा
मेरो दिदी, मेरो भाइ
निजामती सेवामा थिए वा छन् भन्दा
नाती नातीनाको मुहारमा कान्ति हुनुपर्छ ।
साथीभाइ र टोल छिमेकमाझ
निजामती सेवाको धर्म नछोडेकोमा,
सही र गलत छुट्याउने विवेक नगुमाएकोमा
निर्धक्क वाह ! भन्न सक्ने
गर्विलो इतिहास र साक्षी भाव हुनुपर्छ ।
#निजामती३
निर्देशन पर्खने– आदेशपालक !
लोक सेवा तयारीमै बस्ने-घोकन्ते !
समयमा काम नगर्ने- लोसे !
फाइल घुमाउने काम झुलाउने‑ कामचोर !
नियम र प्रक्रिया समाउने- अव्यवहारिक/आउटडेटेड !
लाञ्छना अनेक छन्।
चुनौती अनेक छन् ।
सम्भावना अनेक छन्।
तथापि,
स्थायी र सबल हैसियत,
स्वच्छता, नैतिकता र इमानको जग,
सामाजिक मर्यादा र भरोसाको केन्द्र,
निजामती सेवा कमजोर छैन ।
समयसँगै
प्रतिक्रियालाई अग्रसरताले,
समस्यालाई समाधानले,
आलोचनालाई व्यवहारले,
तटस्थ सेवाभाव र इमानको हतियारले,
समाजलाई उठाउने सिँढी बन्नुपर्छ ।
असल प्रशासनको मुटु बन्नुपर्छ ।
जनताको आशा र अपेक्षामा खरो उत्रनुपर्छ ।
शक्ति र दम्भ हैन विश्वासको प्रतीक बन्नुपर्छ।
#निजामती४
जब कार्यालय पस्छु
आज म आश्वासन हैन, अनुभूति खोज्छु।
र,
आवाज आउँछ
“तपाईं कुन सेवा लिन आउनुभयो ?”
त्यो क्षण मभित्र भरोसा “अपलोड” हुन्छ
मेरो मुटुको सर्भर ह्याँग हुँदैन ।
व्यक्ति बदलिन्छ, तर प्रणाली चलिरहन्छ।
सडक, विद्यालय र मेरो छोराछोरीको सम्भावनामा,
मैले तिरेको करमा भविष्यको लगानी देख्छु ।
कागज दिने हात हैन, सरकारको विश्वास हस्तान्तरण भएको देख्छु ।
मैले गरेको विश्वास र तिरेको कर “पासवर्ड” जस्तै ठानेर
तिम्रो“सर्भर”मा निस्फिक्री धक फुकाएर आँखा चिम्लेर “स्टोर” गर्न सकुँ ।
अनि मलाई लाग्छ,
मेरो सरकार मभित्र छ ।
मेरा लागि मेरो सरकार छ ।
मेरो सरकार मेरो खल्तिमा छ ।
मेरो सरकार मेरो विश्वासमा छ ।
#निजामती५
चिया चमेना होस् या जलपान
‘सरकार छँदैछ त ?’
यो व्यंग्य नभै विश्वास हुनुपर्छ ।
किनकि कतै ढिलासुस्ती,
कतै अस्पष्टता,
कतै व्यक्ति खोज्नुपर्ने संस्कार वा बाध्यता ज्यूँदै छ ।
नयाँ बाटो त्यहीँ सुरु हुन्छ
जब,
कार्यालयको ढोकामा पस्ने नागरिकले
मुस्कानसहितको तत्परता भेटिन्छ ।
त्यो क्षण,
विश्वासको बीउ रोप्न,
नागरिक ढुक्क हुन,
कुर्सीमा बसेको व्यक्ति हैन
प्रणालीमा भर पर्नलाई
जसलाई सोधे पनि जवाफ यौटै हुनुपर्छ ।
जसले दिए पनि समाधान यौटै हुनुपर्छ ।
#निजामती६
कहिलेकाहीँ,
सेवा लिनका लागि
जति ढोका ढकढक्याएर पनि उत्तर पाईंदैन ।
लाइनमा उभिएर पनि पालो पाईंदैन ।
अगाडि नै पुग्दा पनि उत्तर दिने धैर्य पाइँदैन ।
मिठास त “दुर कि बात”,
रुखो जवाफ पाए पनि सजिलो बाटो पाइँदैन ।
हो,
झ्याल सेवा र ढोकाको लाइनमा
कसैको उज्यालो सपना
एक थान सिफारिस पत्रमै अड्किएको हुनसक्छ ।
यस्तो बेला
संवेदना बोकेको सरल मनुवा,
सहज र निसंकोच व्यवहार,
जिम्मेवार राष्ट्रसेवक,
हँसिलो कर्मचारी
स्वस्फूर्त सेवा
समयमै जवाफ दिने तत्परता
गुम्दै गएको साख र
नागरिकको विश्वासको जित्ने आधार हो।
जहाँ जुनसुकै ढोकाबाट पस्दा
नागरिक ढुक्क भनी सकोस्
‘म मेरो कुरा राख्न सक्छु, मेरो समस्याको समाधान पाउनेछु।’
त्यो दिन,
नागरिकले ढुक्क स्वरमा गौरव मिसिन्छ,
‘हो, सरकार छ, मेरो नजिकै छ।’
#निजामती७
घरको चारकुना जस्तै
देशको चौघेराभित्र हजारौँ सपना छन् ।
सामान्य नागरिक,
सामान्य करदाता,
जनताको पसिनाले बनेको
सरकारी कार्यालय भित्र पस्दा-पस्दै कसैले सोध्नुपर्छ !
‘तपाईं कुन सेवा लिन आउनुभएको हो ?’
‘तपाईंका लागि म के गर्न सक्छु ?’
‘तपाईंका लागि हामी के गर्न सक्छौं ?’
त्यो सोध्ने धर्म निजामतीको हो ।
त्यो अग्रसरता निजामतीको हो ।
त्यो ढाडस दिने निजामतीले हो ।
अन्यौल र अलमललाई आश्वस्त पार्ने,
भरोसा दिलाउने,
सेवा-भाव दर्शाउने,
त्यो नै शुरुवात हो,
त्यो नै सुशासन हो,
त्यो नै असल प्रशासन हो।
सेवा लिन पर्दा नागरिक नझस्किउन्,
सेवा लिन पर्दा नागरिक नहच्किउन्,
बरु सहजै भनुन्,
‘मेरो सरकार, मेरो विश्वास,
मेरो भरोसा, मेरो निजामती ।’
– सापकोटा, महालेखापरीक्षकको कार्यालय, काठमाडौंका निर्देशक हुन् ।
प्रतिक्रिया 4