+
+
Shares
निजामती सेवा दिवस २०८२ :

सरकारले यस वर्ष भेटेन पुरस्कार पाउनलायक कर्मचारी

निजामती सेवा दिवसको अवसरमा पुरस्कार पाउने कर्मचारीहरुको नामावली यस वर्ष सार्वजनिक गरिएको छैन । तर, अघिल्लो वर्ष छानिएका कर्मचारीहरुलाई भने यस वर्ष पुरस्कार प्रदान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ९:४८
निजामती सेवा दिवसको अवसरमा आइतबार म्याग्दीको बेनीमा निकालिएको प्रभात फेरी ।

२२ भदौ, काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा पुरस्कार दिनलायक कर्मचारी यस वर्ष भेटेन । त्यसैले निजामती सेवा दिवसको अवसरमा पुरस्कार पाउने कर्मचारीहरुको नामावली यस वर्ष सार्वजनिक गरिएको छैन ।

तर, अघिल्लो वर्ष छानिएका कर्मचारीहरुलाई भने यस वर्ष पुरस्कार प्रदान गरिएको छ ।

सरकारले भदौ २२ गतेको दिन मनाइने निजामती सेवा दिवसको उपलक्ष्यमा एक जनालाई सर्वाेत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार दिने गर्दथ्यो । वर्षभरमा राम्रो काम गरेका कर्मचारीहरुको मूल्याङ्कनको आधारमा कर्मचारीहरु छनौट गरिन्थ्यो ।

दुई लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट कर्मचारी भने सरकारले २०७३ सालपछि कसैलाई पनि दिएको छैन । पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता सर्वोत्कृष्ट कर्मचारी नभेटिएको भन्दै सरकारले कसैलाई पनि यो पुरस्कार दिएको छैन ।

तर एक लाख रुपैयाँ राशिको उत्कृष्ट निजामती र ५० हजार रुपैयाँ राशिको निजामती पुरस्कार पाउने कर्मचारीहरुको नामावली भने हरेक वर्ष सार्वजनिक हुन्थ्यो । पुरस्कार पाउने कर्मचारीहरुको नामावली गोरखापत्र दैनिकमा छापिन्थ्यो । तर यसपटक त्यो नामावली सार्वजनिक भएको छैन ।

नेपाल पुलिस क्लबमा जारी निजामती सेवा दिवस मूल समारोहमा मुख्य सचिव एकनारायण अर्यालले विगतको वर्षजस्तै यस वर्ष पनि पुरस्कार पाउनेहरुको नामावली छिट्टै  घोषणा गर्ने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पनि यस वर्ष पुरस्कार घोषणा नगरिएको बताए । तर त्यसको कारण खुलाउन भने उनले चाहेनन् ।

पोहोरसाल छनोट गरिएका कर्मचारीहरुलाई भने उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको हातबाट यस वर्ष पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिए पनि उनी विधान महाधिवेशनमा व्यस्त भएकाले उपप्रधानमन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिको रुपमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?