
२२ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने बताएकी छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य रहेको उनको धारणा छ ।
२२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई बधाई तथा शुभकामना सन्देश दिँदै मन्त्री न्यौपानेले सो धारणा राखेकी हुन् ।
उनले सूचना प्रविधिको युगमा निजामती कर्मचारीले प्रविधिमैत्री, नागरिक केन्द्रित, सरल र छिटो सेवा दिनु अनिवार्य रहेकोमा जोड दिएकी छन् ।
‘आजको युगमा विश्व तीव्र गतिमा रुपान्तरण भइरहेको छ । डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र नवप्रवर्तनशील उपायहरुको उपयोग नगरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिँदैन,’ मन्त्री न्यौपानेको शुभकामना सन्देशमा लेखिएको छ, ‘निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल स्पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ ।’
निजामती सेवामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधार मार्फत नागरिकको विश्वास आर्जन गर्न सकिने बताउँदै मन्त्री न्यौपानेले राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरेकी छन् ।
उनले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्ने विश्वास समेत व्यक्त गरेकी छन् ।
प्रतिक्रिया 4