+
+
Shares

नेतृत्वको टकराव र अहंकारले प्रतिनिधि सभालाई सधैं पिरलो

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ भदौ २८ गते ८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको इतिहासमा पछिल्लो सात दशकमा आठ पटक प्रतिनिधि सभा सदस्य चुन्ने अवसर प्राप्त भए पनि चार वटा सभाले मात्र पूर्ण कार्यकाल काम गरेका छन्।
  • पछिल्लो प्रतिनिधि सभाले दुई पटक विघटनको प्रयास भोग्दा सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि संसद् सकसपूर्ण रुपमा काम गर्न सकेको थियो।
  • २०७९ सालको चुनावपछि बनेको प्रतिनिधि सभाले पनि पूर्ण कार्यकाल पूरा गर्न नसकेको र राजनीतिक नेतृत्वको अहंकारले अकालमै विघटन हुने वातावरण बनेको छ।

२८ भदौ, काठमाडौं । नेपालको इतिहासमा फेरि अर्को एउटा संसद् कार्यकाल अगावै समाप्त भएको छ । ६ महिनाभित्र चुनाव गर्ने कार्यादेशसहित नयाँ सरकार बनेसँग प्रतिनिधि सभा समाप्त भएको छ ।

संघीय संसद सचिवालयको अभिलेखअनुसार नेपाली जनताले पछिल्लो सात दशकमा आठ पटक प्रतिनिधि सभा सदस्य चुन्ने अवसर पाए । यसमध्ये चार वटा प्रतिनिधि सभाले मात्रै पूर्ण कार्यकाल काम गर्न पाएका छन् ।

पूर्ण कार्यकाल काम गर्न पाएका चार वटा प्रतिनिधि सभामध्ये पनि दुईटा सभालाई विघटन गर्ने प्रयास भएको थियो । तर, सर्वोच्च अदालतले पुनःस्थापित गरिदिएपछि रोकिए ।

तत्कालीन राणा शासनलाई फालेर नेपाली जनताले २००७ सालमा प्रजातन्त्र ल्याए । तर, २०१६ सालमा मात्रै आम निर्वाचन हुन सक्यो । यो नेपालको जननिर्वाचित पहिलो प्रतिनिधि सभा थियो । उक्त प्रतिनिधि सभा लामो समय जान सकेन ।

२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए र निर्दलीय पञ्चायती व्यवस्था लागू गरे ।

संघीय संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार २०१६ सालको संसद्ले पूर्ण कार्यकाल काम गर्न नपाउनुको कारण टकराव नै महत्वपूर्ण कारण हो । उनी भन्छन्, ‘२०१६ सालको संसद् राजा महेन्द्र र बीपी टकरावले गयो ।’

२०१७ सालदेखि २०४६ सालसम्म पञ्चायती व्यवस्था रह्यो । पञ्चायती व्यवस्थामा पनि चुनाव भएका छन् । तर, जनताले चुनेका जनप्रतिनिधिले विवेकले काम गर्न पाउँदैनथे । यसकारण पञ्चायती व्यवस्थामा भएको चुनावलाई संसदीय अभ्यासको रुपमा संघीय संसद् सचिवालयले नै स्वीकारेको छैन ।

२०४६ सालमा प्रजातन्त्र पुर्नबहाली भयो । पञ्चायती व्यवस्था ढल्यो । आम निर्वाचन भने २०४८ मा मात्रै हुन सक्यो । उक्त प्रतिनिधि सभा पनि पूर्ण कार्यकाल रहन सकेन । ‘चुनावबाट सबैभन्दा ठूलो शक्तिको रुपमा उदाएको कांग्रेसभित्र कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र गणेशमानकोबीचमा टरकराव भयो’ पूर्वसचिव थापा भन्छन्, ‘कांग्रेसका तीन नेताहरू देखा रेको टकराव र अहंकारले प्रतिनिधि सभालाई पूर्ण कार्यकाल काम गर्न दिएन ।’

२०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गरे । जसलाई तत्कालीन राजा र सर्वोच्च अदालतले अनुमोदन गरिदिए ।

त्यसपछि २०५१ सालमै आम चुनाव भयो । नेकपा एमालेको नेतृत्वमा सरकार बन्यो । एमाले भित्रको अन्तरविरोध चर्किएपछि २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा विघटनको प्रयास गरे । तर, सर्वोच्चले अस्वीकृत गरिदियो । यसकारण २०५१ सालमा जनताले चुनेको प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्न पायो ।

त्यसपछि २०५६ सालमा चुनाव भयो । उक्त चुनावले चुनेको प्रतिनिधि सभाले पनि पूर्ण कार्यकाल काम गर्न पाएन । २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरी चुनाव घोषणा गरे । तर, तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई नै अपदस्थ गरी सत्ता आफ्नो हातमा लिए । त्यसपछि राजनीतिक कोर्स नै बदलियो ।

२०६२÷०६३ सालको जनआन्दोलनले राजतन्त्र नै फालिदियो । २०६४ सालमा संविधान सभाको निर्वाचन भयो । यो संविधान सभाले पूर्ण कार्यकाल काम गर्‍यो, तर संविधान दिन सकेन ।

२०७० सालमा दोस्रो संविधान सभाका लागि निर्वाचन भयो । यो सभाले २०७२ साल असोज ३ गते संविधान जारी ग¥यो । संविधान जारी गरेपछि २०७४ सालसम्म व्यवस्थापिका संसद्मा रुपान्तरित भएर काम गर्‍यो ।

नयाँ संविधानअनुसार २०७४ सालमा प्रतिनिधि सभाको चुनाव भयो । उक्त सभाले सकसपूर्ण रुपमा पूर्ण कार्यकाल बिताएको थियो । किनभने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाभित्रको विवादका कारण दुई-दुई पटक प्रतिनिधि सभा विघटनको प्रयास गरेका थिए ।

ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ मा प्रतिनिधि सभा विघटन गरेका थिए । दुवै पटक सर्वाेच्च अदालतले त्यसलाई असंवैधानिक भन्यो र संसद पुनःस्थापना गरिदियो । विघटनको प्रयास र अदालतमा पुनःस्थापनाको बहस लम्बिँदा प्रतिनिधि सभाले राम्रोसँग काम गर्न सकेन ।

त्यसबेला नेकपाका अध्यक्षद्धय ओली, पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालका बीचमा टकराव थियो । प्रचण्ड र नेपाल एकातिर भएपछि पार्टीभित्र ओली अल्पमतमा परे र प्रतिनिधि सभा नै विघटनमा लागेका थिए ।

पछिल्लो ७ मंसिर २०७९ मा सम्पन्न चुनावबाट आएको प्रतिनिधि सभाले पनि पूर्ण कार्यकाल काम गर्न नपाउने भएको छ । पछिल्लो चुनावपछि प्रतिनिधि सभाले दुई वटा सरकार बनायो । चुनाव लगत्तै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्यो । उक्त सरकारले १८ महिने कार्यकालमा पटक–पटक सत्तागठबन्धन बदलेको थियो र गठबन्धन बदलिएपिच्छे प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए ।

त्यसपछि संविधानमा आवश्यक संशोधन गर्ने, राजनीतिक स्थिरता दिने, आर्थिक विकास र सुशासन दिने भनेर प्रतिनिधि सभाको सबैभन्दा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार बनाउने गरी १७ असार २०८१ मध्यराति ७ बुँदे समझदारी गरे । उक्त समझदारी अनुसार ३० असार २०८१ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए ।

दुई तिहाइ बहुमतको सरकारले बाचा अनुसार र जनताको चाहना अनुसार काम गर्न नसकेको भनेर आलोचना भरहेका बेला सरकार एक पछि अर्को गरी नागरिकको स्वतन्त्रता कुण्ठित हुने गरी ऐन बनाउन उद्दत थियो ।

फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक बन्द गर्ने निर्णयमा पुगेसँगै जेनजी पुस्ता सडकमा आए । आन्दोलन यति चर्कियो कि ५१ जनाको ज्यान लिने सरकार दमनमा उत्रिँदा समेत सरकार रहन सकेन ।

प्रधानमन्त्री ओलीले २४ भदौमा राजीनामा दिए । जेनजीको आन्दोलनले दुई तिहाइ बहुमतको सरकारलाई बिदा गरेसँगै वर्तमान प्रतिनिधि सभाले काम गर्न सक्दैन भनेर नयाँ चुनाव निर्णय भएको छ । यसरी राजनीतिक दलहरू नै नयाँ सरकार गठनको भूमिकामा नदेखिने अवस्था आउनु र विगतमा समेत प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्न नसक्नुमा राजनीतिक नेतृत्व नै जिम्मेवार देख्छन् पूर्वसचिव थापा ।

‘२०१६ सालको बाहेकका जुन जुन प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्न पाएका छैनन् र विघटन प्रयास भएर प्रभावित भएका छन् सबै समयमा राजनीतिक नेतृत्वको कुबुद्धि र अहंकार प्रमुख कारण देखिन्छ’ उनी भन्छन्, ‘यसपटक पनि नेतृत्वको अहंकारले अकालमै प्रतिनिधि सभा विघटन हुने वातावरण बनेको हो ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?