News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास सोमबार र मंगलबार भएको आन्दोलनमा आगजनी भएर खरानी भयो।
- स्थानीयले भने, 'हामी त आफ्नै घरमा थियौँ, एकाएक भिड आएर ढुंगामुडा गरेपछि आगजनी भयो' र सुरक्षाकर्मी निरीह थिए।
- ओली निवासको अवस्था खण्डहर जस्तै छ, पुराना फोटो र सिसाका टुक्रा छरिएका छन् र स्थानीयले बार्दलीको इतिहास सम्झिए।
२६ भदौ, काठमाडौं । नेपाली राजनीतिक वृत्तमा सधैँ चर्चामा आइरहन्थ्यो, बालकोटको बार्दली । पछिल्ला राजनीतिक उथलपुथल र सत्ता हेरफेरको साक्षी बनेको यो बार्दलीबाट ठूला दलका नेताहरूले कयौं पटक हात हल्लाए ।
असमझदारी बढेपछि फुट्थे, अनि मिल्नुपर्दा यहींबाट एकताको सन्देश दिन्थे । यो बार्दली त्यतिबेला जोडिन्थ्यो, जतिबेला राजनीतिको केन्द्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हुन्थे ।
यही ओली निवास यतिबेला अस्तित्वविहीन भएको छ । भवन पूरै खण्डहर बनेको छ । सरसामान खरानीमा परिणत भएका छन् । कागजपत्रको नामोनिसान छैन ।
भक्तपुर बालकोटमा रहेको ओली निवास त्यतिबेला खरानी भयो, जतिबेला उनी स्वयं प्रधानमन्त्री थिए । सोमबार र मंगलबार जेन-जीको नाममा भएको आन्दोलनको शिकार बन्यो यो घर ।
‘हामी त आफ्नै घरमा थियौँ । एकाएक एउटा भिड आयो । ढुंगामुडा गर्यो । त्यसपछि भित्र तोडफोड गरी आगजनी भयो,’ एक स्थानीयले मंगलबारको अवस्था सुनाए, ‘सुरक्षाकर्मीको टोली त थियो, तर निरीह ।’
ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई रोक्न सक्ने अवस्थामा प्रहरी थिएन । उनीहरूले ओली निवासभन्दा परैबाट हात उठाइसकेको देखिन्छ । बरू घर कुरेर बस्ने सुरक्षाकर्मी मायालाग्दो अवस्थामा देखिएको ती स्थानीयले बताए । उनका अनुसार यसरी आक्रमण भएको केही निमेषमै यो घर जलेर खरानी भयो ।
बिहीबार रिपोर्टिङको क्रममा हामी पुग्दा धुवाँ पुत्याइरहेको थियो । घर भित्रको रापले परैबाट पोलिरहेको महसुस भयो । पैतालाले पनि त्यो ताप सहजै महसुस गर्न सक्थ्यो ।
‘आक्रमणकारीलाई कसैको मतलब थिएन । मान्छे भेटे मार्नेसम्मको योजना बुनेको मानसिकता देख्न सकिथ्यो,’ एक स्थानीयले भने ।
दृश्यहरू टिठलाग्दा थिए । भुइँमा ओलीका पुराना फोटाहरू लडिरहेका थिए । सिसाका टुक्राहरू यत्रतत्र छरिएका थिए । फलामे डन्डी लगायतका सामग्री छरपस्ट थिए ।
भान्साकोठा हेर्न नसक्ने अवस्थामा थियो । कुन कोठा के का लागि बनाइएका थिए, त्यसको मेसो पाउन गाह्रो थियो । कुनै कुनाको अस्तित्व सही-सलामत थिएन ।
यिनै दृश्य हेर्न आइपुगेका थिए, स्थानीय । खण्डहर ओली निवास हेर्नेको भिड थियो ।
यता टीकाथलीदेखि भक्तपुरका विभिन्न ठाउँबाट मानिस गइरहेका थिए । कतिपय यसरी नेताको घर भत्कनुमा खुसी देखिए भने कतिपयमा विरक्तिभाव देखिन्थ्यो ।
‘जल्यो, ठिकै भयो । कति हामीले मात्र दु:ख पाउनु,’ एक स्थानीयले यो भन्दै गर्दा अर्काले खण्डन गरे, ‘जे भए पनि यसरी संरचना भत्काउनु ठिक होइन । यस्ता कुरालाई प्रोत्साहन गर्नुहुँदैन ।’
रोचक कुरा, त्यहाँ रहेका सबैलाई चासो थियो, बार्दलीको । ‘कहाँ हो बार्दली ?’ भन्दै सोध्दै माथि उक्लने युवा बढ्दै थिए । अनि माथि बार्दलीमा गएर हात हल्लाउँथे । र भन्थे- अब देश हामी एक भएर चलाउँछौँ ।
यसरी आएका सबैले फोटो-भिडियो जस्ता कन्टेन्ट क्रियसनमा ध्यान दिएका देखिन्थे । कतिपय त्यहाँ रहेका फलामका टुक्रा खोतल्दै थिए । कतै केही भेटिन्छ कि भन्ने आश देखिन्थ्यो ।
‘यिनीहरूले के खानेरहेछन् ? कस्तो ठाउँमा बस्ने रहेछन् ? कति गरगहना होलान् ?,’ घर हेर्न उक्लिएका सबैको चासो सुनिन्थ्यो, ‘घर त घच्चिकै रहेछ । भित्र पो केके रहेछ, हेरौँ न ।’
तस्वीरहरू : आर्यन धिमाल/कमल प्रसाई (ड्रोनसट)
प्रतिक्रिया 4