+

साल्टको शानदार शतकमा इंग्ल्याण्डको कीर्तिमानी योगफल

२०८२ भदौ  २८ गते ८:०३ २०८२ भदौ २८ गते ८:०३
साल्टको शानदार शतकमा इंग्ल्याण्डको कीर्तिमानी योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिलिप साल्टले विस्फोटक शतक बनाएपछि इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टी-२०आईमा ३०४ रनको कीर्तिमानी योगफल बनाएको छ।
  • इंग्ल्याण्डको यो स्कोर टी-२०आई इतिहासकै सबैभन्दा ठूलो हो र दुई टेस्ट राष्ट्रबीचको टी-२०आई खेलमा सबैभन्दा उच्च योगफल हो।
  • दक्षिण अफ्रिका १६.१ ओभरमा १५८ रनमै अलआउट भएपछि इंग्ल्याण्डले १४६ रनको विशाल जित दर्ता गरेको छ।

२७ भदौ, काठमाडौं । फिलिप साल्टले विस्फोटक शतकसहित १४१ रन बनाएपछि इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी-२०आईमा कीर्तिमानी योगफल बनाएको छ ।

इंग्ल्याण्डले २० ओभरमा २ विकेट गुमाएर ३०४ रनको विशाल योगफल बनाएको हो । यो इंग्ल्याण्डको टी-२०आई इतिहासकै सबैभन्दा ठूलो स्कोर हो भने दुई टेस्ट राष्ट्रबीचको टी-२०आई खेलमा यो सबैभन्दा उच्च योगफल हो । समग्रमा तेस्रो सर्वाधिक योगफल हो ।

टी-२०आईमा सर्वाधिक योगफल जिम्बाबेको नाममा छ । गाम्बियाविरुद्ध जिम्बाबेले ३४४ रन बनाएको थियो । दोस्रो सर्वाधिक योगफल भने नेपालको नाममा छ । नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

साल्टले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा अविजित १४१ रन बनाए, जुन इंग्ल्याण्ड खेलाडीको टी-२०आईमा उच्चतम व्यक्तिगत स्कोर हो । यसले उनको अघिल्लो उच्च स्कोर (वेस्ट इन्डिजविरुद्ध सन् २०२३ मा बनाएको ११९ रन) लाई समेत तोड्यो । साल्टको शतक टी-२०आई इतिहासकै सातौं उच्चतम व्यक्तिगत स्कोर पनि हो ।

इंग्ल्याण्डका ब्याटरले २२८ रन केवल चौका–छक्का मार्फत बनाए, जुन इतिहासमै तेस्रो सर्वाधिक हो । त्यसैगरी इंग्ल्याण्डमा खेलिएको कुनै पनि टी-२० खेलको यो उच्चतम योगफल बनेको छ ।

जवाफी ब्याटिङमा ३०५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६.१ ओभरमा १५८ रनमै अलआउट भयो र इंग्ल्याण्डले १४६ रनको विशाल जित दर्ता गर्‍यो ।

इंग्ल्याण्ड क्रिकेट दक्षिण अफ्रिका क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय