News Summary
Generated by OK AI. Editorially reviewed.- चेन्नई सुपर किङ्सका भेट्रान खेलाडी एमएस धोनी लखनउ सुपर जायन्ट्स विरुद्धको खेलका लागि टोलीसँग यात्रा टिकट मिलाइसकेको छ।
- धोनीले पिँडुलाको चोटका कारण यस सिजन अधिकांश खेल गुमाएका छन् र अब प्लेअफमा कम्तीमा एउटा खेलमा मैदानमा देखिन सक्ने अपेक्षा छ।
- मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्याको चोट गम्भीर नभएको र खेलअघि टोलीसँग जोडिन सक्ने स्रोतले बताएका छन्।
३० वैशाख, काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा हालसम्म मैदानमा नउत्रिएका चेन्नई सुपर किङ्सका भेट्रान खेलाडी एमएस धोनी लखनउ जाने सम्भावना बढेको छ ।
चेन्नईले शुक्रबार हुने लखनउ सुपर जायन्ट्स विरुद्धको खेलका लागि उनको यात्रा टिकट टोलीसँगै मिलाइसकेको समाचार संस्था क्रिकबजमा उल्लेख छ ।
पिँडुलाको चोटका कारण धोनीले यस सिजन कुनै खेल पनि खेलेका छैनन् । उनले केवल केही अवे खेलमा मात्रै टोलीसँग यात्रा गरेका थिए ।
तर अब चेन्नई प्लेअफको दौडमा रहेकाले बाँकी तीन खेलमध्ये कम्तीमा एउटा खेलमा धोनी मैदानमा देखिन सक्ने अपेक्षा बढेको छ । त्यसैले समर्थकमाझ उनको सम्भावित पुनरागमनलाई लिएर उत्साह थपिएको छ ।
यता मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्याको उपलब्धताबारे भने अझै स्पष्टता आएको छैन । हार्दिक ढाडको समस्याका कारण पछिल्ला दुई खेलमा मैदानबाहिर छन् ।
बिहीबार पन्जाब किङ्सविरुद्ध धर्मशालामा हुने खेलअघि मुम्बईको टोली त्यहाँ पुगिसकेको भए पनि हार्दिक टोलीसँग देखिएका छैनन् । यसले उनको खेल्ने सम्भावनामाथि प्रश्न उठाएको छ ।
यद्यपी टोली स्रोतले उनको चोट गम्भीर नभएको र खेलअघि टोलीसँग जोडिन सक्ने बताएका छन् । यस सिजन हार्दिकको व्यक्तिगत प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेको छैन, जसले मुम्बईको चुनौती अझ बढाएको छ ।
प्रतिक्रिया 4