+

दक्षिण अफ्रिकासँगको एक रनको हार सम्झाउने खेल

२०८३ वैशाख  ३० गते १४:०१ २०८३ वैशाख ३० गते १४:०१

अन्तिम ओभरमा चुक्दा नेपालले धेरैपटक ऐतिहासिक जित निकाल्नबाट वञ्चित हुँदै आएको छ

दक्षिण अफ्रिकासँगको एक रनको हार सम्झाउने खेल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा स्कटल्याण्डसँग अन्तिम ओभरमा १३ रन थप्न नसक्दा २ रनले हार बेहोरेको छ।
  • कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको साझेदारीले नेपाललाई केही राहत मिल्यो तर टप अर्डर धराशायी भएपछि दबाब बढ्यो।
  • गुल्सन झाले ३५ बलमा ६१ रन बनाएर अविजित रहे पनि अन्तिम बलमा छक्का हानेपनि नेपाललाई हारबाट बचाउन सकेनन्।

३० वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले स्कटल्याण्डसँग साँघुरो हार बेहोर्‍यो । नेपालले अन्तिम ओभरमा १३ रन जोड्न नसक्दा मंगलबार नेपाली समर्थक २ रनको हारको साँची बस्नुपर्‍यो ।

वर्षाका कारण डीएल पद्धतिका आधारमा ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको नेपालको सुरुवात राम्रो हुन सकेन । टप अर्डर धराशायी बन्दा नेपाल दबाबमा पर्‍यो । कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको साझेदारीले नेपाललाई केही राहत मिल्यो । ठूलो साझेदारी गरेका दुवै जना आउट भएपछि नेपाल पुनः धर्मराउन थाल्यो । जसलाई गुल्सन झाले अडाएर अन्तिमसम्म पुर्‍याए ।

ओभर कम हुँदा ब्याटरलाई डट बल खेल्ने छुट थिएन । गुल्सन आउन नपाउँदै आरिफ शेख आउट भए । त्यो अवस्थामा २९ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

नेपाललाई जितका लागि ६० बलमा ८४ रन आवश्यक थियो । ‘नेपालले हार्छ’ भन्दै दर्शक मैदान छाड्न थालिसकेका थिए । गुल्सनले करण केसीसँग साझेदारी गर्दै समर्थकलाई आस दिलाए । १६९ रन जोड्दा नेपालले सातौं विकेट गुमायो ।

करण १८ रन बनाएर आउट हुँदा नेपाललाई थप दबाब सिर्जना भयो । त्यतिबेला नेपाललाई जितका लागि ३० बलमा ५२ रन आवश्यक थियो । त्यसपछि आएका नन्दन यादवले गुल्सनलाई साथ दिन थाले ।

नेपाललाई जितका लागि १८ बलमा ४० रन चाहिएको थियो । ३७औं ओभरमा १२ रन जोड्दै गुल्सन र नन्दनको जोडीले नेपाललाई आश दिलायो । १२ बलमा २८ रन चाहिएको अवस्थामा ३८औं ओभरमा १५ रन जोडेर जितलाई नजिक पुर्‍यायो । अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन आवश्यक थियो । क्रिजमा जमिसकेका गुल्सन र नन्दन थिए ।

अन्तिम ओभरको पहिलो बलमा २ रन लिएका गुल्सनले दोस्रो बल डट खेले । तेस्रो खेलमा २ रन लिएका गुल्सनले चौथो र पाँचौं बल डट खेल्दा नेपालको जितको यात्रा रोकिन पुग्यो । अन्तिम बलमा छक्का हानेपनि गुल्सनले २ रनको साँघुरो हार टार्न सकेनन् । गुल्सनले ३५ बलमा ६१ रन बनाएर अविजित रहे । उनले ५ छक्का र २ चौका प्रहार गरे । नन्दनले पनि १० बलमा ८ रन बनाएर साथ दिए ।

घरेलु मैदानमा लज्जास्पदा हार बेहोर्न लागेको नेपालका लागि गुल्सन ढाल बनेर उभिए, अन्तिमसम्म लडिरहे । तर, नेपाललाई हारबाट बचाउन सकेनन् । अन्तिम बल छक्का हानेपनि गुल्सन खुसी भएनन् । उनी नेपाललाई जिताउन नसक्दा भावुक बन्न पुगे । जसले सन् २०२४ मा भएको दक्षिण अफ्रिकासँगको हारको सम्झना दिलायो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गतको उक्त खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनको नमिठो हार बेहोरेको थियो । उक्त खेलमा नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो ।

त्यतिबेला पनि क्रिजमा थिए, गुल्सन । पहिलो र दोस्रो बल डट खेलेका गुल्सनले तेस्रो बलमा चौका र चौथो बलमा २ रन लिँदै नेपाललाई जित नजिक पुर्‍याए । तर, अन्तिम दुई बलमा कुनै पनि रन जोड्न नसक्दा नेपाल ऐतिहासिक जित निकाल्नबाट वञ्चित भएको थियो । दुवै खेलमा गुल्सन अन्तिमसम्म लडे । तर, जित दिलाउन सकेनन् ।

जुन नेपाली क्रिकेट समर्थकले बिर्सनै नसक्ने हार बनेको छ । स्कटल्यान्ड र दक्षिण अफ्रिकासहित धेरै खेलमा नेपाल अन्तिम ओभरमा चुक्दा ऐतिहासिक जितबाट टाढा रहँदै आएको छ ।

भारतमा भएको आईसीसी टी–२० विश्वकप क्रिकेटमा पनि नेपाल अन्तिम ओभरमा चल्न नसक्दा ४ रनको तीतो हार बेहोर्नुपरेको थियो ।

नेपाली क्रिकेट टोली
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय