Comments Add Comment

पूर्वप्रहरीबाट ७ वर्षीया बालिकाको अस्मिता लुटियो

३ जेठ, काठमाडौं । रामेछापकी अनिता (नाम परिवर्तन) का श्रीमान वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा थिए । सन्तानलाई राम्रो शिक्षा दिने आशमा काठमाडौं आएकी अनिता घरेलु कामदारको रुपमा काम गर्न पनि थालिन् ।

उनको धोको थियो, छोरी पढाउने । तर, ७ वर्षकी छोरीको उज्वल भविश्य बनाउन भन्दै जहाँ भाडा माझ्दा थालिन्, त्यहीँ कहिल्यै नविर्सिने चोट पाइन् । उनलाई अहिले पनि त्यो घटना कल्पना भइदिए हुन्थ्यो भन्ने लाग्छ तर, सत्यबाट भाग्न सक्दिनन् ।

उमेरले बालिकाको हजुरबा भन्न सुहाउने घरबेटीले छोरीको अस्मितामाथि खेलबाड गरेका उनको आरोप छ । ‘घरबेटीको छोरी सुत्केरी भएपछि काम गर्न गएकी थिएँ’, गहभरी आँशु पार्दै आमा भन्छिन्, ‘यस्तो होला भन्ने सोचेको भए किन काम गर्थें र !’

उनकाअनुसार छोरीले आमाको काम गर्न जाने ठाउँ हेर्ने इच्छा व्यक्त गरिन् । बालिकाको जिद्दीसामू आमाको केही लागेन । ‘दुई/तीन पटक छोरीलाई लिएर गएकी थिएँ’, उनी भन्छिन् ।

त्यसवेला घरबेटी राजु (भुवन) खरेल छोरीसँग जिस्किरहन्थे, उनी काममा व्यस्त हुन्थे । वेलावेला चकलेट पनि दिन्थे । त्यसले खरेलको व्यवहारमाथि शंका गरिनन् ।

तर, एक साताअघि कक्षा २ मा पढ्ने छोरीको अनौठो प्रश्न सुन्दा भने उनी झस्किइन् । ‘तपाईं त्यो घरमा काम गर्न नजानू न है..’, बालिकाले भनेकी थिइन् । किन भन्ने प्रश्न गरेपछि छोरीले उनलाई घटनाबारे वेलिविस्तार लगाइन् । घरबेटीले आफू काम गरिरहँदा छोरीको गोप्य अंग चलाउँदोेरहेछ । त्यो पनि पटकपटक ।

आमाले प्रहरीमा दिएको जाहेरीमा ०७५ माघ र २१ चैतमा बालिकामाथि जबरजस्तीकरणी भएको उल्लेख छ । त्यसवेला छोरीले पिसाब फेर्ने ठाउँमा दुखेको पनि बताएकी थिइन् । यद्यपि, उनले उजुरी भने हालै मात्र दर्ता गरेकी छन् ।

भारत छिर्न खोज्दै गर्दा समातिए

१८ वैशाखमा किटानी जोहरी परेपछि महानगरीय प्रहरी वृत्त, बानेश्वरले खरेलको खोजी थाल्यो ।

तर, अनिता प्रहरीमा पुग्नुअघि नै खरेल भागिसकेका थिए । किनकि, उनले बालिकालाई बलात्कार गरेको विषय खरेल परिवारले थाहा पाइसकेको रहेछ । परिवारले घटनालाई सामसुम पार्ने प्रयास पनि गर्‍यो तर, अनिताले मानिन् ।

काभ्रेको खरेलथोक पुख्र्यौली घर भएका आरोपित त्यतातिर गएको आशंकामा प्रहरीले खोजी पनि गर्‍यो । तर, नभेटिएपछि प्राविधिक पक्षको विश्लेषणबाट खोजी सुरु भयो ।

वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्ले भन्छन्, ‘त्यसपछि हामीले काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको पनि सहयोग लिएका थियौं ।’ महाशाखाका एक अनुसन्धान अधिकारीकाअनुसार प्रहरीले त्यसपछि खरेललाई कल डिटेल रेकर्ड (सीडीआर) को सहायतामा खोजी गरेको थियो ।

तर, समस्या कस्तो भने उनले आफ्नो पुरानो नम्बर फ्याँकी सकेका थिए । परिवारसँग पनि सम्पर्कमा थिएनन् । तर, खरेलको परिवारलाई जतिसुकै वेला फोन आउन सक्ने भएकाले उनीहरुको मोबाइल नियन्त्रणमा लिएको थियो ।

नभन्दै ३० वैशाखमा श्रीमतीको मोबाइलमा ‘अननोन नम्बर’ बाट कल आयो । त्यो फोन प्रहरी उठाएको थियो तर, उनले श्रीमती सम्झिएर केही शब्द मात्र के बोलेका थिए, फोन काटियो । प्रहरीले तत्काल त्यो नम्बरको लोकशन पत्ता लगायो, जसको आधारमा उनी कञ्चनपुरतिर नेपाल–भारत सीमा क्षेत्रमा देखियो । उनी त्यहाँ परिचित व्यक्तिकै शरणमा बसेको पाइएको छ ।

अनुसन्धान अधिकारीले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरलाई खरेलको हुलिया पठाएर तुरुन्त पक्राउ गर्न आग्रह गरे । अन्ततः उनी अहिले प्रहरी हिरासतमा छन् ।

खरेलले स्वीकारे आरोप

हाल बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहेका खरेल आफू राष्ट्रिय अनुसन्धान विभागको पूर्वकर्मचारी भएको बताउँछन् । आफूले ८ वर्ष जागिर खाएर छाडेको उनको दाबी छ । तर, प्रहरीले भने उनी ‘राअवि’को भगौडा सिपाही भएको आशंका गरेको छ । अहिले प्रहरीले उनीविरुद्ध जबरजस्तीकरण मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर बयान लिइरहेको छ ।

प्रहरीलाई दिएको प्रारम्भीक बयानका क्रममा उनले बालिकामाथि दुव्र्यवहार गरेको स्वीकारेका छन् ।

यद्यपि, जबरजस्तीकरणी नगरेको उनको दाबी छ । थापाथलीस्थित प्रसुति गृहमा गरिएको बालिकाको स्वास्थ्य परीक्षणले भने उनको दाबीलाई गलत सावित गरेको छ । चिकित्सकीय परीक्षणका क्रममा बालिकाको यौनाङ्गमा सुन्निएको पाइएको छ ।

खरेल श्रीमती, एक छोरा र विवाहित छोरीसहित शान्तिनगरमा बस्थे । छोरी सुत्केरी भएपछि माइत आएको बेला अनितालाई घरेलु कामदारका रुपमा राखिएको थियो ।

यो घटना सार्वजनिक भएपछि परिवारका सदस्यहरुले भने बलात्कार आरोप अस्वीकार गरेका छन् । पीडित भनिएकी बालिकाको आमाले पैसाका लागि झुटो आरोप लगाएको र अरुले नै आफ्नाविरुद्ध उकासेको उनीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment