Comments Add Comment

केपी ओली र प्रचण्डको साझा दाबी : प्रतिक्रियावादीले सकेनन् !

अर्को चुनावमा एकल दुई तिहाई आउँछ– ओली

३ जेठ काठमाडौं । शुक्रबार बिहानै बल्खुमा नेकपाले मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवस मनायो । कार्यक्रमको सञ्चालन महासचिव विष्णु पौडेलले गरे भने अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले मन्तव्य व्यक्त गरे । ओली र प्रचण्डको मन्तव्यमा केही पार्टीगत विषय थियो, केही चाहिँ राष्ट्रिय राजनीतिसँग जोडिएको विषय थियो ।

विसं. ०५० साल जेठ ३ गते दासढुंगा भन्ने ठाउँबाट त्रिशुलीमा जीप खस्दा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठनविभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको अहिले २६ वर्ष बितिसकेको छ । उनीहरुका गाडी चालक अमर लामाको कीर्तिपुरमा गोली हानी हत्या भएको १६ वर्ष बितिसकेको छ ।

साविकको एमाले र वर्तमान नेकपाले हरेक जेठ ३ गते मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ । यही सिलसिलामा शुक्रबार बल्खुमा विशेष समारोहको आयोजना गरिएको थियो । तर, त्यहाँ बोल्ने नेकपाका नेताहरुले शुक्रबार मदन–आश्रितका योगदानहरुको मात्रै चर्चा गरे, उनीहरुको हत्या भएको हो या दुर्घटना भन्नेबारेमा बोलेनन् । बरु शुक्रबार नै राजधानीमा आयोजित अर्को कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले चाहिँ सरकारले मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरु भएको बताएका थिए ।

मदन र आश्रितको हत्या भएको थियो या दुर्घटना ? यो विषय अहिलेसम्म अन्योलमै राखिदै आएको छ । तर, उनीहरुका चालक अमर लामाको भने हत्या नै भएकोमा कुनै शंका छैन । विगतमा एमालेले यसको दोष माओवादीलाई लगाउँदै आएको थियो । तर, माओवादीले लामाको हत्यामा आफूहरुको कुनै संलग्नता नरहेको बताउँदै आएको छ ।

तथापि शुक्रबार बल्खुको विशेष कार्यक्रममा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले हत्या वा दुर्घटनामा प्रवेश नगरिकनै मदन भण्डारीका विषयमा बहस गरे ।

मदन भण्डारीको योगदानका विषयमा प्रचण्डको भनाइको सार यस्तो थियो–

‘हामीले अन्धो भएर पार्टी एकता गरेका हैनौं । हामीले जनताको जनवादलाई तत्कालका लागि र समाजवादलाई रणनीतिका रुपमा… । जनताको जनवादलाई पनि समाजवादउन्मूख जनताको जनवादका रुपमा भनेर जे लिपिवद्ध गरेका छौं, त्यो वैचारिक धरातलमा टेकेर हामी छौं र आउने जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनसम्म पुग्दा विश्व कम्युनिष्ट आन्दोलनका पनि रचनात्मक र सकारात्मक महान बहसका वीचबाट, विज्ञानको विकास प्रयोगबाट हुन्छ । विज्ञानको विकासका सबैको मेहनतबाट हुन्छ र सही विचार वर्गसंघर्षका अनुभवहरुको संश्लेषणबाट हुन्छ । केपी ओली र मैले हस्ताक्षर गर्दै गर्दा हामीले भनेका थियौं, हामीले विचारलाई पनि परिमार्जन र विकसित गर्नेछौं । नेपालबाट समाजवादको एउटा नयाँ मोडेल दिने आँट गर्नेछौं भनेका छौं । हामीले त्यसो गरेनौं र पुरानै कुरा दोहो¥याइराख्यौं भने हामी वैज्ञानिक चाँहि हुन सक्दैनौं ।’

यो पनि पढ्नुहोस पूर्वएमालेलाई प्रचण्डको प्रश्न–मदनका विचारलाई विकसित गर्ने कि दोहोर्‍याउने ?

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मदन भण्डारीका बारेमा दिएको अभिव्यक्तिको मुख्य सार यस्तो थियो–

‘जननेता मदन भण्डारीले अगाडि सारेको विचारको धारा, त्यसलाई हाम्रो पार्टीले छोड्दैन । त्यस विचारको धाराबाट हाम्रो पार्टी अगाडि बढ्छ । त्यसलाई छोड्नै मिल्दैन । किनभने, जाने कता त्यसपछि ? मुख्य कुरा यो हो । यसबाट अगाडि बढ्ने कुरामा निश्चिन्त भएर हामी अगाडि बढ्छौं । हाम्रो एकताले विचारधारात्मक स्पष्टतालाई सुदृढ गर्दै, खँदिलो बनाउँदै लान्छ ।’

यो पनि पढ्नुहोस मदन भण्डारीले जे भन्नुभयो, त्यही अन्तिम होइन : प्रधानमन्त्री ओली

मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादका विषयमा चर्चा गरिसकेपछि ओली र प्रचण्डले पाटीृ एकताको वर्षदिनमा विरोधीहरुको प्रयासलाई असफल पारिएको साझा निश्कर्ष सुनाए । विरोधीहरुले आफूहरुवीच फुट ल्याउने प्रयास गरे पनि नसकेको भन्दै प्रचण्डले नेकपाका नेताहरु विशेष धातुबाट बनेको प्रमाणित भएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले पनि त्यस्तै दाबी गरे । सरकारले राम्रो काम गर्दा पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यमले सरकारविरुद्ध प्रचार अभियान चलाएको भन्दै प्रधानमन्त्रीले ‘प्रतिक्रियावादीहरु असफल हुने’ दाबी गरे ।

आधा घण्टा मन्तव्य दिएका प्रधानमन्त्रीले अर्को चुनावमा नेकपाले एक्लै दुई तिहाई बहुमत ल्याउने दाबी गरे । उनले लोकतन्त्रमा कानुनको पालना गर्नु नागरिकको कर्तव्य भएको सम्झाए । नागरिक, सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई कर्तव्य सम्झाउने प्रयास गर्दै प्रधानमन्त्री ओलीले गरेको सम्वोधन केही अंश अर्थपूर्ण छ, जुन यसप्रकार छ–

प्रतिक्रियावादी शक्तिहरु सहजै पराजय स्वीकार्दैनन् !

हामी एउटा महान अभियानमा छौं, एउटा महान आन्दोलनमा छौं । परिस्थितिहरु चुनौतीपूर्ण छन् । पराजित प्रतिक्रियावादी शक्तिहरु सहजै पराजय स्वीकार्दैनन् । र, त्यस्ता शक्तिहरुले जनताको एकता, जनताको शक्ति, जनताको अभियान, जनताको आन्दोलन, जनताको सफलता ती कुराहरु देख्न रुचाउँदैनन् । त्यसकारण उनीहरु यस स्थितिलाई भत्काउन, बिगार्न लाग्छन् ।

हामीले देखेका छौं सरकार देशको हितको पक्षमा देशभित्र र देशबाहिर काम गरेर नेपलाी अर्थतन्त्रलाई सबल, विकसित कसरी बनाउन सकिन्छ, त्यस काममा सरकार लाग्या छ । तर, प्रचार तपाईले हेर्नुभो भने, सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरु हेर्नुभो भने देख्नुहुन्छ ओहो ! …हमला हामीविरुद्ध छ ।

अहिले हाम्रो विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य समाज बनाउने प्रयास गहिरो गरी भैरहेको छ । त्यो कुरासँग हामी सजग छौं । तर, त्यस कुरामा प्रतिक्रियावादी शक्तिहरु सफल हुने छैनन् । हाम्रो पार्टी सजग छ, एकतावद्ध छ र अगाडि बढ्छ ।

हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ, कतिलाई पच्या छैन । अहिले हामीसँग अलिकति दुईतिहाई छैन, नपचेर के गर्ने ? अर्कोपल्ट दुई तिहाईको हुन्छ यो सरकार । एकल दुई तिहाईको हुन्छ । किनभने, यसले देशको पक्षमा काम गर्छ, जनताको पक्षमा काम गर्छ । यस पार्टीका नेताहरु धन कमाउन हिँडेका छैनन् । अरु कुनै उद्देश्यका साथ हिँडेका छैनन् ।

म तपाईहरुलाई भन्न चाहन्छु, मैले धेरैपल्ट भनेको छु, मेरो ध्यान प्रधानमन्त्रीको हैसियतमा भ्रष्टाचार आफू नगर्ने, गर्न नदिने देश र जनताको सेवामा समर्पित हुने रहेको छ । यस सम्बन्धमा म सार्वजनिक ढंगले चुनौति दिएर भन्न चाहन्छु । असभ्यतापूर्वक कोही मुख छाड्नेहरु, त्यस्ताहरु त कहिले–कहिले देखिइआएका छन्, त्यो बेग्लै कुरा हो । तर, म चुनौतीका साथ भन्छु, भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ ।

हाम्रो यो सफलता, सफलताको शिखर हैन, सफलताको प्रारम्भ हो । हामी राष्ट्र निर्माण गरेर सफलताका सिँढीहरु अझ माथि–माथि चढ्दै जान्छौं ।

केही–केही कमीहरु छन्, केही–केही असजिलाहरु छन्, तरु, हामीले ती कुराहरुलाई सच्याउनुपर्छ । यस पार्टीलाई एउटा नमूना पार्टीका रुपमा, अनुशासित पार्टीका रुपमा यस पार्टीलाई विकास गर्नुपर्छ । हामीले आन्तरिक कुरा के हुन्, सार्वजनिक कुरा के हुन्, आवेशका कुरा के हुन्, यथार्थ कुरा के हुन्, ती कुराहरुलाई छुट्याएर अभिव्यक्ति दिने गर्नुपर्छ । आक्रोशमा अनुचित अभिव्यक्ति सार्वजनिक ढंगले दिनु वाञ्छनीय हुँदैन । त्यतापट्टि हाम्रा कमीहरु हामीले सच्याउनुपर्छ । म सबै साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु । यसबाटोबाट मात्रै हामी अगाडि जान सक्छौं । सच्याउने बाटोबाट मात्रै अगाडि जान सक्छौं । अनुशासित पार्टीको बाटोबाट मात्रै अगाडि जान सक्छौं ।

लोकतन्त्र र अराजकता एउटै चिज होइन । अहिले नेपालमा बहस पनि भइराखेको छ । अराजकतालाई लोकतन्त्रको परिभाषाभित्र, आराजकतालाई स्वाधीनता, स्वतन्त्रताको परिभाषाभित्र राख्न खोज्ने र लोकतन्त्र भनेको एउटा मूल्य, मान्यता, अभ्यास, आचरण मानेको कानूनी शासन हो भन्ने कुरा बुझ्न नचाहने ।

लोकतन्त्र भनेको कानूनी शासन हो । कानूनको उल्लंघन गरेर मनपरि सरकारले गर्न पाउँदैन, सक्दैन । तर, नागरिकका पनि कर्तव्यहरु हुन्छन् । नागरिकको कर्तव्य हुन्छ, कानूनको पालना गर्नु । संविधानको पालना गर्नु । त्यो लोकतन्त्रको आधारभूत कुरा नै हो । लोकतन्त्रका मूल्य मान्यताको रक्षा गर्नका लागि यो सरकार प्रतिवद्ध छ, किनभने जुन पार्टीले लोकतन्त्रका लागि लडेर यहाँसम्म आएको छ, त्यो पार्टीले लोकतन्त्रका मूल्य मान्यतालाई तलमाथि गर्छ भन्ने ठीक होइन ।

अहिले अनेक प्रकारका निराशा फैलाउने कोशिसहरु भएका छन् । कम्युनिस्टले निराश हुन जान्नुहुँदैन । निराश हुन मान्नु पनि हुँदैन । हामी निराश हुनुपर्ने अवस्थामा छैनौं । हामी सफलतापूर्वक अघि बढिरहेका छौं र बढ्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment