News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका पूर्व राष्ट्रिय खेलाडी जोन सिम्पसन काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
 - सिम्पसनले इंग्ल्यान्डबाट ३ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन् र ससेक्सको कप्तानी गरिरहेका छन्।
 - काठमान्डु गोर्खाजले सिम्पसनलाई पाँचौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ र एनपीएल दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुनेछ।
 
१८ कात्तिक, काठमाडौं । इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो । उनले यसअघि चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) पनि खेलेका थिए ।
३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन् । सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उनले यो सबै ३ खेल खेलेका थिए । लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनुका साथै ५ क्याच लिएका थिए ।
‘जोन सिम्पसनले आफ्नो प्रमाणित नेतृत्व क्षमता, अनुभव र संयमता यस समूहमा लिएर आउने छन्, उनले काउन्टीमा वर्षौंदेखि सफलता पाउँदै आएका छन्’ काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले सिम्पसनको बारेमा भने, ‘उनी अहिले ससेक्सको नेतृत्व पनि गरिरहेका छन् । उनको व्यवसायीकता र शान्त स्वभाव अमुल्य छ । काठमान्डु गोर्खाज परिवारमा उनलाई आवद्ध गर्न पाउदा हामी निकै खुशी छौं र उनको आगमनले हाम्रो ब्याटिङ र विकेटकिपिङलाई थप मजबुत बनाएको छ ।’
सिम्पसनसँग इंग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढी रन बनाएको अनुभव छ । २२९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन् । सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १२९ रन बनाएका थिए । यो उनको पछिल्लो खेल रहेको थियो ।
त्यस्तै उनले ११५ लिष्ट ‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढि रन बनाएका थिए । ट्वान्टी–२० मा उनले १९५ खेलमा झन्डै १३० को स्ट्राइक रेटमा ३ हजारमाथि रन बनाएका छन् । ससेक्स अघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए । उनले द हन्ड्रेडमा लांकसायर स्प्रिट र नर्थन सुपरचार्जसबाट खेल्दै आएका छन् । भाइटालिटी ब्लास्टमा उनले २००९ देखि खेल्दै आएका छन् ।
उनी काठमान्डुको पाँचौं विदेशी खेलाडी हुन् । काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, अमेरिकी ब्याटर मिलिन्द कुमारलाई र इंग्लिस काउन्टी खेल्दै आएका बेन चाल्सवर्थलाई आउँदो सिजनको एनपीएलका लागि अनुबन्ध गरिसकेको छ ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4