+
+

प्रहरीका अनुसन्धान अधिकृतहरु नै एम्बुसमा !

जोखिम मोलेर अनुसन्धान गर्न नचाहने प्रवृत्ति बढ्दो

गौरव पोखरेल गौरव पोखरेल
२०७६ जेठ ३ गते २०:००

३ जेठ, काठमाडाैं । ३३ किलो सुनकाण्डमा अपराध अनुसन्धान महाशाखाका अधिकृतहरुलाई नै खलनायकको रुपमा प्रस्तुत गरिँदै गर्दा तीन जना पूर्वप्रहरी अधिकृतले दिएको अभिव्यक्तिले धेरैलाई झस्कायो ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय हेमन्त मल्ल ठकुरी र रमेश खरेलले अनुसन्धान अधिकृतहरुको सार्वजनिक प्रतिरक्षा गरेपछि गृह मन्त्रालयले पूर्वप्रहरी अधिकारीहरुविरुद्ध चेतावनीयुक्त विज्ञप्ति नै जारी गर्‍यो ।

सेवाकालमा अब्बल ठहरिएका यी पूर्वप्रहरी अधिकृतहरुले त्यसवेला गृह मन्त्रालय र स्वयम् प्रहरी संगठनको शैलीविरुद्ध आँट गरेरै आफ्नो विचार राखेका थिए । कतिसम्म भने उनीहरुले सुनकाण्डको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारद्वारा गठित उच्च स्तरीय समितिको अनुसन्धानमाथि प्रश्न उठाएका थिए । पूर्वडीआईजी मल्ल ठकुरी त्यसबेला आफुहरुले अफिसर बिषेशको पक्षमा नभएर अपराध अनुसन्धान शैलीको बचाउमा बालेको बताउँछन् ।

अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले आफू पक्राउ परिसकेपछि दिएको बयानलाई मान्ने हो भने महाशाखाको टोलीले त्यो बेला सुन तस्करीका मुख्य अभियुक्त समात्न ‘कोभर्ट अपरेशन’ चलाएको थियो । ‘कोभर्ट अपरेशन’ आफैंमा जोखिमपूर्ण हुनाले विरलै यस्तो निर्णय गरिन्छ ।

नभन्दै, एसएसपी लोहनीको टोलीलाई पनि त्यो निर्णय महँगो साबित भयो । ‘कोभर्ट अपरेशन’मा संलग्न लोहनी, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल थुनामा परे, ३३ किलो सुनकाण्डको पर्दा उघार्ने अप्रेसन रोकियो ।

अदालतले टोलीका तिनैजनालाई साधारण तारेखमा छाडिसकेको छ र उनीहरु जिम्मेवारीमा फर्किसकेका छन् ।

सुनकाण्डमा नफसेको भए २०४९ को टोलीबाट प्रहरी नेतृत्वको एक दाबेदार बन्न पुग्ने लोहनी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् । केसी र सञ्जेल आतंकवाद तथा संगठित अपराध हेर्ने विशेष ब्युरोमा काम गरिरहेका छन् ।

संगठनमा असर

सुन तस्कर समात्न अपराध अनुसन्धान महाशाखाले चलाएको ‘कोभर्ट अपरेशन’ टिम आफैं ‘एम्बुसमा परेको’ छ महिनापछि निर्मला पन्त हत्या प्रकरणमा मिल्दोजुल्दो अवस्था दोहोरिएको देखियो ।

निर्मलाको बलात्कार र हत्या भएको दुई दिनपछि नेपाल प्रहरीको अर्को सशक्त अंग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली काठमाडौंबाट कञ्चनपुर पुगेर दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा प्रस्तुत गर्‍यो । तर, निर्मलाको ‘भेजाइनल स्वाब’को ‘वाइ एसटीआर प्रोफाइल’सँग सिंहको ‘डीएनए’ नमिलेपछि स्थानीयले आन्दोलन चर्काए । र,३० भदौमा सिआइबी टोलीका प्रमुख रहेका डीएसपी अंगुर जिसीसहित जिल्लाका चार प्रहरी अधिकृत निलम्बनमा परे ।

त्यो घटनापछि अन्य प्रहरी अधिकृतहरु अनुसन्धानका लागि कञ्चनपुर जान हच्किन थाले । घटनाबारे जिल्लाले प्रारम्भिक अनुसन्धान गरिसकेपछि पुगेको सिआइबी टोलीको नियतमाथि नै प्रश्न उठ्दा अधिकृतहरुको मनोबल गिरेको प्रहरी प्रधान कार्यालयका एक अधिकृत बताउँछन् । ‘त्यसपछि मुख्यालयले अनुसन्धानमा अब्बल मानिएका अरु अधिकृतहरुलाई कञ्चनपुर पठाउन खोज्दा सबैले आनाकानी गरे’, नाम उल्लेख गर्न नचाहने ती अधिकृत भन्छन्, ‘त्यसको मुख्य कारण थियो, सुनकाण्ड र निर्मला प्रकरणमा सीआईबी टोलीमाथि चलेको ढण्डा ।’

उनका अनुसार, विष्ट छुटिसकेपछि ‘सक्कली’ अभियुक्त पत्ता लगाउन टोलीहरु त बन्यो, जसले अनुसन्धानमा नाम कमाएका पूर्वप्रहरीहरुसँग पनि छलफल गर्‍यो । केही पूर्वप्रहरीलाई औपचारिक/अनौपचारिक रुपमा कञ्चनपुर जान आग्रह पनि गरियो, तर सबै पछि हटे ।

दिवेश र अंगुरपछि कुमुद

नेपाल प्रहरीको अनुसन्धान क्षमतालाई सुनकाण्ड र निर्मला प्रकरणले थङ्थिलो पारेको जानकारहरु बताउँछन् । तर, चिन्ता त्यत्तिमै सीमित रहेन, संगठनभित्र काविल अनुसन्धान अधिकृतको छवि बनाएका डीएसपी कुमुद ढुंगेल २० वैशाखमा निलम्बनमा परे, त्यो पनि डकैतीका अभियुक्तसँग सम्पर्क देखिएको अभियोगमा ।

यस क्षेत्रका जानकारहरुका अनुसार, अपराध र अपराधीसँग लुकामारी खेल्ने अपराध अनुसन्धान फाँटका प्रहरी र अभियुक्तहरुबीच कुराकानी हुनु अनौठो होइन । आपराधिक संसारको खास सूचना अपराधीबाटै आउने उनीहरु बताउँछन् ।

‘विशेषतः संगठित अपराध सम्बन्धि सूचना लिन आपराधिक समूहका व्यक्तिसँग प्रहरीको निकटता आवश्यक पर्छ’, अपराध अनुसन्धानमा लामो अनुभव हासिल गरेका एकजना पूर्वप्रहरी अधिकृत भन्छन्, ‘कतिपय अवस्थामा आपराधिक समूहमा प्रहरी नै घुस्ने/घुसाइने काम समेत गरिन्छ ।’

उनका अनुसार, नागरिक र देशको हित तथा संगठनको स्वार्थका लागि गरिने त्यस्ता घुसपैठ र खास गरेर ‘कोभर्ट अपरेशन’हरु संगठन प्रमुखको जानकारी र निगरानीमा हुन्छ । तर, डीएसपी ढुंगेल प्रहरीको यही गोप्य शैलीको कारण निलम्बनमा परेका हैनन् भन्न सकिने अवस्था नरहेको पूर्वअधिकृत बताउँछन् ।

ढुंगेल तिनै हुन्, जसले रामेछापमा रहँदा उनले बलात्कारका फरार अभियुक्त श्याम राउतलाई भारतको अण्डमान निकोबार टापुबाट पक्रेर ल्याएका थिए । भारतमा एक विधायकको घरमा लुकेर बसेका गुन्डा नाइके रमेश बाहुनलाई पक्राउ गरेर ल्याउने अफिसर पनि ढुंगेल नै हुन् ।

२०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका योजनाकार समिरमान सिंह बस्न्यात हुन् भन्ने निश्कर्ष निस्केपछि उनलाई पक्रन नेपाल प्रहरीले डिएसपी ढुंगेललाई नै परिचालन गरेको थियो ।

बस्न्यातको पछि लागेको सीआईबी, अपराध अनुसन्धान महाशाखा र विशेष छानविन समितिको टोली सफल नभएपछि आईजीपी प्रकाश अर्यालले सीआईबीका तत्कालिन प्रमुख डीआईजी पुष्कर कार्कीको सल्लाहमा ढुंगेलको नेतृत्वमा टोली परिचालन गर्ने निर्णय गरेका थिए ।

प्रहरीले त्यो ‘हाई प्रोफाइल’ हत्याका मुख्य योजनाकार भनेर निश्चित गरेका बस्न्यात फोन लगायतका प्राविधिक पाटोबाट अलग रहेर भारतका एकपछि अर्को सहरमा लुक्दै बसेका थिए । उनलाई समात्ने जिम्मेवारी लिएर भारत पुगेका डिएसपी ढुंगेल पारिवारिक नाता सम्बन्ध समेत रहेका बस्न्यातसँग फोन सम्पर्क गर्न कुनै हिसाबले सफल भए ।

ढुंगेलको टोलीमा खटिएका अर्का एक अधिकृतका अनुसार, रोमिङमा राखिएको मोबाइल फोनमा ढुंगेलले बस्न्यातलाई आफू रामेछापमै रहेको बताएका थिए । तर, बस्न्यात कति होसियार थिए भने उनले त्यो बुझ्न रामेछापमा आफ्ना मान्छे पठाए । ढुंगेल रामेछापमा नभएको चाल पाएपछि बस्न्यातले पुरै सम्पर्कविहीन बने । र पनि, आकाश-पाताल गरेका ढुंगेलले अन्ततः बस्न्यातलाई गोवामा समाई छाडे ।

बस्न्यातपछि मनोज पुनलाई पक्रने ‘अपरेशन’मा पनि ढुंगेल खटिएका थिए । भारतको कुनै सहरमा लुकेर रुपन्देहीमा अपहरण, फिरौती असुली र हत्याको सृङ्खला चलाएका पुनलाई गिरफ्तार गर्न नेपाल प्रहरीले डीएसपी ढुंगेललाई रामेछापबाट रुपन्देही पठाएको थियो ।

तीनै ढुंगेल डाका मुद्वाका अभियुक्तसँग सम्पर्क भएको भन्ने गम्भिर आरोपमा १९ वैशाखमा निलम्बनमा परे । अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार २६ चैतमा रानीबारीमा भएको डकैतीका अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले वारम्वार फोन गरेका थिए ।

‘श्रेष्ठ हिरासतमा भएको बेला मात्र नभई त्यसअघि पनि पटक-पटक फोन सम्पर्क भएको पाइएको छ’, अपराध अनुसन्धान महाशाखाका एक अधिकृत भन्छन्, ‘डकैती अघि श्रेष्टसँग सम्पर्क गर्नुपर्ने कारण के हुनसक्छ ?’

अपराध अनुसन्धान गर्ने प्रहरीको आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिसँगको फोन सम्पर्कको प्रयोजन के थियो भन्ने कुरा महत्वपूर्ण हुने जानकारहरु बताउँछन् ।

डीएसपी ढुंगेलले विकास श्रेष्ठलाई बारम्बार फोन गर्नुको उद्देश्य भने थाह हुन सकेको छैन ।

ढुंगेल निलम्बनका पछाडि अनुसन्धान अधिकृतहरुबीचकै हानथापले काम गरेको हुनसक्ने अनुमान पनि गरिन्छ । अपराध अनुसन्धान महाशाखाका कतिपय अधिकृतसँग ढुंगेलको सम्बन्ध खराब रहेको स्रोत बताउँछ ।

डीएसपी ढुंगेलबारे जे भनिए पनि, सत्य जे भएपनि एक पछि अर्को अनुसन्धान अधिकृत निलम्बनमा पर्नुले प्रहरी संगठनको अनुसन्धान क्षमतामा असर परेको चिन्ता जानकारहरु व्यक्त गर्छन् । ‘अपराध अनुसन्धानमा पोख्त अधिकृतहरुलाई फसाइएको होस् या आफैं फसेका हुन् । यो समग्र प्रहरी संगठनको हकमा यो ज्यादै चिन्ताको बिषय हो,’ एकजना पूर्वप्रहरी अधिकृत भन्छन् ।

‘थुन्नु पर्नेमा निलम्बन मात्रै !’

प्रहरी प्रधान कार्यालयका एकजना बरिष्ठ अधिकृत भने ढुंगेल हिरासतमा जानुपर्नेमा निलम्बित मात्र भएको बताउँछन् । उनलाई नियन्त्रणमा लिँदा अरु अधिकृतहरुको मनोबल गिर्छ भनेरै निलम्बन मात्र गरिएको उनको दाबी छ ।

तर, सुनकाण्ड र निर्मला हत्या प्रकरणपछि तर्सिसकेका अनुसन्धान अधिकृतहरु ढुंगेलको निलम्बनपछि झन् निराश बनेको बताउने प्रहरी अधिकृतहरु पनि छन् । उनीहरुका अनुसार, कतिपयले त राजीनामा नै दिएका छन् ।

डीएसपी कुमुद ढुंगेल गलत वा सही के हुन् भन्ने कुरा प्रहरीकै छानविनले देखाउने विषय हो । तर, एकपछि अर्को अनुसन्धान अधिकृत निलम्बनमा पर्दा संगठनभित्र मनोबल गिरेको कुरामा धेरैको मत्यैक्यता छ ।

अनुसन्धानमा रुची भएका अधिकृतलाई तर्साएर मनोवैज्ञानिक रुममा भुत्ते खुकुरी बनाइएको एकजना एसएसपीले बताए । तर्सिएका वा निलम्बन फुकुवा भएर आउने अफिसरले जोखिम मोलेर काम गर्नै नसक्ने उनी बताउँछन् । ‘प्रहरी संगठनभित्र राजनीति, उपल्लो दर्जामा पुग्ने होडवाजी र गुटबन्दीले अनुसन्धान शैली र पद्धतिलाई नै बर्बाद बनाउँदै छ’, उनी भन्छन्, ‘एकपछि अर्को निलम्बन त्यसैको संकेत हो ।’

हुन पनि, नेपाल प्रहरीको अपराध अनुसन्धान शैली-पद्धति कमजोर भएको देखाउने थुप्रै घटना छन् । जस्तो, ४ भदौ २०७५ मा बबरमहलमा भएको पूर्वराजदूत केशवराज झा हत्याको गुथ्थी अझै सुल्झिएको छैन । अपराध अनुसन्धान महाशाखाले झाकै सहयोगी कान्छाराज तामाङ (४८) लाई अभियुक्त माने पनि प्रमाणित गर्न सकेन ।

त्यसमाथि हिरासतमा यातना दिएको उजुरी परेपछि महाशाखाका अधिकृतहरु नै वयान दिन मानव अधिकार आयोग धाउन बाध्य भए । परिणाम्, झा हत्याका दोषी खुलेआम हिँडिरहेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?