
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर महानगरपालिका– ११ का केदारबहादुर बस्नेतको मृत्यु सर्जमिन २०५८ मा भएको दाबी गरिएको छ।
- भरतबहादुर बस्नेतले मिलेमतो गरी मृत्युको सर्जमिन र सम्पत्ति बिक्री गरेका आरोप लागेका छन्।
- केदारले जिल्ला अदालतमा मुद्दा दायर गरी जालसाजी र सम्पत्ति हिनामिना गरेको आरोप लगाएका छन्।
१२ असार, विराटनगर । विराटनगर महानगरपालिका– ११ का केदारबहादुर बस्नेतको बसोबास काठमाडौंमा छ । विराटनगरमा भने उनको मृत्यु भएको सर्जमिन उनकै दाजु भरतबहादुरले गरिदिएका छन् ।
सम्पत्ति उपभोगका लागि दाजु भरतले विराटनगर महानगरपालिका– २ नम्बर वडाबाट मृत्यु भएको सर्जमिन गरेका हुन् । सर्जमिनको प्रमाणीकरण वडाध्यक्ष कुमार पोखरेलले गरेका छन् ।
भरतसँग मिलेमतो गरी मृत्युको सर्जमिन गरेको आरोप उनीमाथि छ । ६ वर्षअघि बनाएको कागजका आधारमा दाजुले आमाको नामको सम्पत्ति एकलौटी बनाएर बिक्री पनि गरेका छन् ।
२०५८ सालमै मृत्यु भएको भनी दाजु भरतले आफ्नो मृत्युको सर्जमिन बनाएको पाइएको भाइ केदार बताउँछन। सुनसरीको जग्गा बिक्री भएपछि मात्रै केदारले आफ्नो मृत्युको कागज बनेको थाहा पाएका थिए ।
‘मलाई त जानकारी नै थिएन, दाजुले २०५८ मै मरेको भनी सर्जमिन बनाउनु भएछ,’ उनले अनलाइनखबरसँग भने, ‘सुनसरीको जग्गा बिक्री गरेपछि मात्रै सोधीखोजी गर्दा थाहा भयो ।’
आफू जिउँदै हुँदाहुँदै जालसाजी गरेर मृत्युको सर्जमिन गरेको भन्दै उनले जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेका छन् । उनको मुद्दा विचाराधीन छ ।
उनले नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष कुमार पोखरेल र तत्कालीन वडासचिव सूर्यबहादुर थापासहित १०जनालाई प्रतिवादी बनाएका छन् ।
घटना के हो ?
केदार बस्नेतका अनुसार उनका बुबा पहलमान बस्नेतका तीन जना श्रीमती हुन्– जेठी मायादेवी, माइली विष्णुकुमारी र कान्छी उमादेवी । केदार कान्छी उमादेवीका जेठा छोरा हुन् ।
उनी पट्टीका कान्छा पर्शुरामको २०६८ साल फागुनमा मृत्यु भएको थियो । केदारको मृत्यु भएको भनी कागजात बनाउने भरतबहादुर बस्नेत माइली आमा विष्णुकुमारीका जेठा छोरा हुन् ।
जेठी मायादेवीलाई विवाहित साइली छोरी भगवतीले लालनपालन र रेखदेख गरेकी थिइन् । मायादेवीको २०४५ भदौमा मृत्यु भएको थियो । यो जग्गा भगवतीले नै भोगचलन गर्ने सहमति थियो । तर जेठी मायादेवीका नाममा सुनसरीको हाँसपोसा गाविस ८ (ग) को कित्ता नम्बर १५६ को ३ कठ्ठा २ धुर र कित्ता नम्बर १५७ को ६ धुर गरी ३ कठ्ठा ८ धुर जग्गा एकलौटी बनाउन भरतबहादुरले भाइ केदारको मृत्यु भएको सर्जिमिन गराएका हुन् ।
जिउँदो भाइ केदारलाई मृत्यु भएको कागज बनाएका उनले आफ्ना पट्टीको भाइले भने पहिले नै अंश लिइसकेको उल्लेख गरेका छन् । मायादेवीको रेखदेख पनि आफूले नै गरेका कारण त्यो जग्गा उनले भोगचलनका लागि कागज बनाए । सोही कागजातका आधारमा २०७५ सालमा उनले त्यो जग्गा आफ्नो नाममा ल्याएर २०८१ सालमा डेढ कट्ठा मोही हक छुट्याएर डेढ कट्ठा जग्गा ७२ लाखमा बिक्री गरेको केदारले बताए ।
जग्गा बिक्री भएको थाहा पाएपछि सोधीखोजी गर्दा आफ्नो मृत्युको सर्जमिन गरेको थाहा भएको केदारले बताए । उनले आफ्नो मृत्युको सर्जमिन गर्दा दाजुले आमाको नाम पनि अर्के लेखेको बताए ।
विराटनगरको २ नम्बर वडा कार्यालयले २०७५ असोज १७ गते केदार बस्नेतको मृत्यु भइसकेको व्यहोराको सर्जमिन मुचुल्का बनाएको थियो ।
सर्जमिन मुचुल्कापछि वडा कार्यालयले २०७५ असोज १९ गते मालपोत कार्यालय सुनसरी इनरुवालाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा जग्गा उनको नाममा आएको थियो । त्यसको पाँच वर्षपछि उनले जग्गा बिक्री गरेका थिए ।
वडाध्यक्ष पोखरेलले भने आफू कार्यक्रममा व्यस्त रहेको भन्दै घटनाको विषयमा बोल्न मानेनन् ।
प्रतिक्रिया 4