
News Summary
Generated by OK AI. Editorially reviewed.- पप्पी मिलले कुकुरको जीवन र स्वास्थ्यको बेवास्ता गरी नाफा कमाउने उद्देश्यले सञ्चालन गरिन्छ।
हामीले खरिद गर्ने कुकुरका बच्चाहरू कहाँ र कसरी उत्पादन गरिएको भनेर थाहा नहुन सक्छ । किनभने कुकुरका बच्चाको माग बढेसँगै ‘पप्पी मिल’को प्रवृत्ति पनि बढेको छ । पप्पी मिल भनेको कुनैपनि उन्नत जातका कुकुरलाई बन्धक बनाएर केवल बच्चा उत्पादनकै लागि मात्र राखिने धन्दा हो । यस्तोमा कुकुरलाई जीवनभर साँघुरो खोरमा राखेर निरन्तर बच्चा उत्पादन गर्दै बेचिन्छ ।
यसलाई पप्पी फार्म पनि भनिन्छ, एक यस्तो कुकुर प्रजनन व्यवसाय हो जसले कुकुरहरू को कल्याणभन्दा नाफालाई प्राथमिकता दिन्छ ।
विश्वमा लगभग ३ हजार इजाजत प्राप्त पप्पी मिलहरू छन् जसले वार्षिक रूपमा १० लाख कुकुरका बच्चा उत्पादन, विक्री र दुरुपयोग गर्छन् । यो संख्यामा ७ हजार इजाजत नलिएका पप्पी मिलहरू समावेश छैनन् । पप्पी मिलबाट विक्री हुने कुकुरका बच्चाहरूको कुल संख्या करिब २१ लाख १० छ । यसमा उपेक्षा र दुरुपयोगका कारण मर्ने हजारौं पप्पीहरूको संख्या समावेश छैन ।
के तपाईं अनजानमा पप्पी मिललाई समर्थन गरिरहनुभएको छ ?
पप्पी मिलमा जन्मिएका धेरै पप्पीहरू सोझै प्रजनन केन्द्रबाट बिक्री हुँदैनन् । बरु, तिनीहरू केनल हाउस, वेबसाइट र वर्गीकृत विज्ञापनहरू मार्फत बिक्री गरिन्छ । यी कुकुरका बच्चाहरूले राम्ररी आमाको दूध खान पाएका हुँदैनन् । किनभने यिनीहरूको आमालाई बच्चा जन्माउने यन्त्र जस्तै बनाइएको हुन्छ । र, आमालाई बन्धक बनाएर निरन्तर बच्चा जन्माउने प्रक्रियामा लगाइन्छ ।
यस्तो धन्दा नाफाका लागि गरिने भएकाले सुत्केरी कुकुरलाई पोषिलो खानेकुरा दिइँदैन । न त राम्ररी स्यहारसुसार नै गरिन्छ । उनीहरूलाई साँघुरो र चिसो खोरमा थुनिएको हुन्छ । त्यहीँ नै जीवनभर थुनेर गर्भधान गराउँदै बच्चा जन्माउने काममा लगाइन्छ ।
जब यिनीहरू बुढो र रोगी हुन्छन्, त्यसलाई सडकमा लखेट्ने वा मार्ने गरिन्छ ।
यस्तो ठाउँमा जन्मिएका कुकुरका बच्चा त्यति स्वस्थ हुँदैनन् । सुरुमा राम्रै देखिए पनि पछि पाल्दै जाँदा रोगी हुन थाल्छन् । त्यसो त पप्पी मिलमा जन्मिएका कति बच्चा जन्मिएको केही दिनमै मर्छन् । तिनका आमा, जो थकित र कुपोषित हुन्छन्, सबै बच्चालाई पोषण दिन पर्याप्त दूध उत्पादन गर्न सक्दैनन् । यी बच्चाहरूलाई कम उमेरमै आमाबाट अलग गरिन्छ र लागत घटाउन विक्री गरिन्छ ।
यसले गर्दा यस्ता कुकुरका बच्चाहरूमा डर, आक्रामकता, चिन्ता जस्ता व्यवहार देखिन्छ, जुन कम्तीमा ८ हप्तासम्म आमासँग बसेका बच्चाहरूमा कम हुन्छ ।
पप्पी मिलमा कुकुरहरू ले कसरी दुख भोग्छन् ?
पप्पी मिलमा कुकुरहरू कुपोषण वा भोकमरीबाट पीडित हुन्छन् । किनभने उनीहरूलाई पर्याप्त र स्वच्छ खाना र पानी दिइँदैन । खराब सरसफाइ र उचित निरीक्षणको अभाव हुन्छ । बिरामी वा मर्न लागेमा पशु चिकित्सा उपचार पाउँदैनन् ।
मिलका कुकुरहरूले आफ्नो अधिकांश जीवन आफ्नै पिसाब र दिसाले भरिएको साँघुरो खोरमा बिताउँछन्, जहाँ उनीहरूले अन्य कुकुरसँग कोचिएर बस्नुपर्छ । यी कुकुरलाई खेल्ने वा उफ्रिने गर्ने ठाउँ हुँदैन र मानवसँगको अन्तर्क्रिया पनि न्यून हुन्छ ।
पप्पी मिलका बच्चाहरू रक्तस्राव वा सुन्निएको खुट्टा, तारको खाँचमा खुट्टा अड्किने, गम्भीर दाँतको क्षय, धातुको टुक्रा चपाउँदा जिंक विषाक्तता र अत्यधिक तनावले डिप्रेसन जस्ता समस्या देखिन्छ ।
अरूलाई बाहिर चिसो, गर्मी वा अन्य मौसमी तत्वहरूको सामना गर्नुपर्छ, जहाँ तिनीहरूलाई कडा रूपमा बाँधिएको कलरले घाँटीमा चोट पुर्याउँछ, जसलाई सावधानीपूर्वक काटेर निकाल्नुपर्छ ।
यी जीवन–छोट्याउने अवस्थाहरूका कारण, पप्पी मिलका धेरै कुकुरहरू वयस्क नहुँदै मर्छन् । अन्य मृत्युका कारणमा जेनेटिक दोष वा निमोनिया, केनेल खोकी, क्यानाइन डिस्टेम्पर भाइरस, क्यानाइन ब्रुसेलोसिस र पार्भोभाइरस जस्ता संक्रामक रोगहरू छन् ।
कुकुरको बच्चाको नस्लबारे तपाईं ठगिनुभएको छ ?
पप्पी मिलहरूले कुकुरको वंशावलीको रेकर्ड राख्दैनन् । त्यसैले, तिनीहरूले पप्पी १०० प्रतिशत शुद्ध नस्लको हो भनी ग्यारेन्टी गर्न सक्दैनन् । प्रायः तिनीहरूले कुकुरको उत्पत्तिबारे झुट बोल्छन् वा नक्कली नस्लहरू बनाउँछन् ।
यी तथाकथित शुद्ध नस्लका कुकुरहरू या त मिश्रित नस्लका हुन्छन् वा नस्लको मानक अनुसारको शारीरिक विशेषता, चाल र स्वभाव हुँदैन । पप्पी मिल सञ्चालकहरूले प्रायः खरिदकर्तालाई बच्चाका बाबुआमा देखाउन अस्वीकार गर्छन् ।
पप्पी मिलको अर्को समस्या भनेको नजिकको नातेदार कुकुरहरूबीच प्रजनन् हो । यसबाट जन्मिएका बच्चाहरूमा खराब जेनेटिक म्युटेसनको सम्भावना बढी हुन्छ । यसले रोग प्रतिरोधी क्षमता, प्रजनन क्षमता र जेनेटिक विविधतामा कमी ल्याउँछ ।
जनावरमाथिको दुरुपयोगबारे कानूनले के भन्छ ?
नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २९० अनुसार, चराचुरुङ्गी र जनावरहरूमाथि क्रूर व्यवहार गर्नु गैरकानुनी छ । कुनै पनि व्यक्तिले जनावरलाई कुट्ने, लात हान्ने, अत्यधिक बोझ बोकाउने, रोग, चोट वा अन्य कारणले काम गर्न अयोग्य जनावरलाई काममा लगाउने, विषाक्त पदार्थ दिने, यातना दिने वा रोग वा बुढ्यौलीका कारण पाल्तु जनावरलाई सार्वजनिक सडक तथा सार्वजनिक ठाउँमा छाड्ने वा कुनै क्रूर व्यवहार गर्नुहुँदैन ।
तर, जनावरको शारीरिक क्षमताअनुसार काम गराउन, सिकाउन वा तालिम दिन न्यूनतम बल प्रयोग गर्न भने अनुमति छ । यो अपराध गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
नेपालमा पप्पी मिल सञ्चालनलाई विशेष रूपमा नियमन गर्ने कुनै कानून छैन । जनावरमाथिको दुरुपयोग र उपेक्षालाई सम्बोधन गर्न कडा सजायभन्दा प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक छ ।
जनावरको हेरचाह गर्ने जो कोहीले निम्न आधारभूत मापदण्ड पालना गर्नुपर्छ
-पर्याप्त र उपयुक्त खाना र पानीको व्यवस्था ।
-पर्याप्त र उपयुक्त जाँच तथा चिकित्सा सेवा ।
-सुरक्षित यातायात जसले शारीरिक सुरक्षा र सामान्य कल्याण सुनिश्चित गर्छ ।
-पर्याप्त आराम र सुत्ने ठाउँ ।
-पर्याप्त र उपयुक्त हिँडडुल, व्यायाम, स्वच्छता, प्रकाश र मौसमी तत्वहरू बाट सुरक्षा ।
-बन्द संरचना वा खोरहरू विषाक्त र सुरक्षित हुनुपर्छ ।
यी मापदण्ड पालना नगरेमा कैद र जरिवानाको सजाय हुन सक्छ ।पप्पी मिलहरू अझै पनि कायम छन् किनभने पप्पीहरू को माग छ, जसलाई जीवित प्राणीको सट्टा वस्तुको रूपमा लिइन्छ । दुर्भाग्यवश, धेरैजसो मानिसहरू पप्पी मिल र तिनको सञ्चालनबारे अनभिज्ञ हुन्छन् र नयाँ कुकुर किन्दा अन्जानमा पप्पी मिललाई प्रोत्साहन गरिरहेका हुन्छन् ।
प्रतिक्रिया 4