
१२ असार, काठमाडौं । पञ्जाब प्रहरीको एउटा टोली विना समन्वय काठमाडौं आउँदा पक्राउ परेपछि सनसनी मच्चिएको घटना सेलाउन नपाउँदै भारतीय सुरक्षा अधिकारीको अर्को टोली पनि काठमाडौंसम्म आएको खुलेको छ ।
तेलङ्गाना राज्यको हैदराबादमा भएको चोरीको घटनामा संलग्नको खोजी गर्दै डीएसपी जसवन्त सिंहको नेतृत्वमा चार जना प्रहरी अधिकृतहरू करिब एक साताअघि काठमाडौं आएको भेटिएको हो ।
‘उनीहरू बर्दी वा हतियारसहित आएका होइनन्, अनौपचारिक रुपमा सूचना लिनका लागि आएका जस्ता देखिन्छन्’, नेपाल प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘काठमाडौंमा उनीहरूले मानिसहरूसँग केरकार गरेको थाहा पाएपछि उनीहरूलाई नै नियन्त्रणमा लिएर छानबिन गरेका थियौं ।’
स्रोतका अनुसार, भारतीय प्रहरीको टोली त्यहाँ घरेलु कामदारका रुपमा बसेका नेपाली जोडिएको चोरीको घटनामा अनुसन्धानका लागि नेपाल प्रवेश गरेका थिए । पहिले उनीहरू दैलेखको आठबिसकोट नगरपालिका–५ पुगेका थिए । त्यहाँ चोरीमा संलग्न आरोपी फेला नपारेपछि केही नेपालीलाई लिएर उनीहरू बसेको ठाउँ खोज्दै काठमाडौंसम्म आएको पाइएको ती अधिकृत बताउँछन् ।
नागर्जुन नगरपालिकामा चार जना आएपछि यो सूचना जिल्ला प्रहरी परिसर, काठमाडौंसम्म पुगेको थियो । त्यसपछि उनीहरू पक्राउ परेका थिए ।
काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोरा भने भारतीय अधिकारी नभइ चोरीमा संलग्न रहेको सूचनाका आधारमा चार जना नेपालीलाई नियन्त्रणमा लिइएको बताउँछन् । ‘तर सोधपुछ गर्दा संलग्नताको आधारहरू नभेटिएपछि त्यसबेलै छाडेका थियौं’, उनी भन्छन् ।
भारतीय प्रहरीको सन्दर्भमा चाहिँ उनले विस्तृतमा बताउन चाहेनन् । तर, एक उच्च प्रहरी अधिकृतका अनुसार, यसबारे नेपाल प्रहरीले थाहा पाएपछि भारतीय अधिकृतहरूले समन्वय गरिदिन भनेका थिए । त्यसक्रममा सोधपुछ गरिएको थियो ।
तर, धेरै विवरण हात लाग्न नसकेको ती अधिकृत बताउँछन् । ‘खासमा जहाँ चोरी भयो, त्यहाँ १० जना काम गरिरहेका रहेछन् । तीमध्ये ६ जना चोरी गरेर काठमाडौं आएका रहेछन्’, ती अधिकृतले भने, ‘बाँकी रहेकालाई नेपालमा कहाँ बसेको छ देखाइदिन भन्दै लिएर आएका रहेछन् ।’
यद्यपि, यसरी आउनुअघि ती प्रहरी अधिकारीहरूले काठमाडौंस्थित भारतीय दूतावाससँग समेत समन्वय नगरेको पाइएको स्रोतको दाबी छ । ‘यसबारे भारतको केन्द्रीत तहमा पनि छलफल भएको सूचना पाएका छौं’, एक उच्च अधिकृतले भने ।
नेपाल प्रहरीसँग समन्वय विना यसअघि आएका पन्जाब प्रहरीका ७ जना अधिकारीहरु पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई नियन्त्रणमा लिएर भारतीय दूतावाससँग निकट रहेका एक अधिकारीलाई जिम्मा लगाइदिएका थिए । त्यस विषयमा छानबिन गर्न तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले छानबिन समिति समेत बनाएका थिए ।
यो विषयले कूटनीतिक तहमा समेत प्रवेश पाएपछि भारतको गृह मन्त्रालयले ‘विदेशमा अनुसन्धान गर्न जाँदा अपनाउनुपर्ने कार्यविधिबारे सकुर्लर’ नै जारी गर्नु परेको थियो । यो निर्देशिकामार्फत ‘विदेशी मुलुकमा कुनै पनि अनुसन्धान वा प्रहरी गतिविधिका लागि पूर्वस्वीकृति र समन्वय अनिवार्य बनाइएको’ उल्लेख गरिएको थियो ।
पछि पञ्जाबबाट आएको टोली भारतीय गुण्डा नाइके लरेन्स विश्नोईका समूहका चार सदस्य खोज्दै काठमाडौंसम्म आएको भेटिएको थियो ।
प्रतिक्रिया 4