+
+
Shares

मधेशमा दलित महिलाको शंकास्पद मृत्यु शृंखला, न अभियुक्त फेला पर्छन् न कारबाही हुन्छ

अंशा, रिंकु, आनन्दीदेवी वा पूजाकुमारीको शंकास्पद मृत्युको यकिन पहिचान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन राज्य असफल देखिन्छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असार ११ गते २१:४३
‘कलकतिया बाली’ की चर्चित पात्र अंशा सोमबार राति (८ असार) आफ्नै घरमा मृत भेटिइन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशमा विभिन्न रहस्यमय मृत्यु र आत्महत्या घटना अनुसन्धानमा छन्।
  • पछिल्लो पटक मृत भेटिएकी अंशा सदा, ‘कलकतिया बाली’ सिरियलकी चर्चित पात्र हुन्।
  • प्रहरीले घटनाका कारणबारे अनुसन्धान भइरहेको बताएको छ।

११ असार, काठमाडौं । मधेशमा प्रख्यात हास्यव्यङ्ग्य युट्युब सिरियल ‘कलकतिया बाली’की चर्चित पात्र हुन् अंशा सदा ।

उनको अभिनय र हास्यव्यङ्ग्य तराई समुदायमाझ निकै लोकप्रिय छ । अंशाले रिलमा कति मृत्युको अभिनय गरिन् । अभिनयमार्फत कतिलाई हँसाइन्, रुवाइन् ।

उनको अभिनय हेर्न प्रत्यक्ष सुटिङस्थलमै पुग्थे दर्शक । अब भने अंशा सुटिङस्थलमा देखिने छैनन् ।

२१ वर्षकै उमेरमा भौतिक रूपमा बिदा भएकी अंशा अब रिलमा मात्रै भेटिनेछिन् । पुराना भिडिओमा मात्र उनको अभिनय देख्न पाइनेछ ।

‘कलकतिया बाली’ की चर्चित पात्र अंशा सोमबार राति (८ असार) आफ्नै घरमा मृत भेटिएकी हुन् । सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो । भित्रबाट ढोका बन्द गरेको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ ।

अंशा झुन्डिएको अवस्थामा मृत भेटिएको सूचना आएपछि राति नै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि पठायो ।

घटनाबारे जिल्ला प्रहरी कार्याय धनुषाले विस्तृत अनुसन्धान सुरु गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी उमा चतुर्वेदी बताउँछन् ।

‘अहिले प्रारम्भिक अनुसन्धानकै चरणमा छौं । घटनाबारे धनुषा प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसपछि मात्रै यकिन भन्न सकिन्छ,’ डीआईजी चतुर्वेदीले अनलाइनखबरसँग भने ।

‘कलकतिया बाली’ भनेर चिनिने अंशाका श्रीमान् अविनाश झा हुन् ।

विवाह गरेको ६ महिनामै ‘शंकास्पद’ रूपमा मृत भेटिएकी अंशा मुसहर समुदायकी हुन् । उनले आत्महत्या नै गरेको भए पनि यसको कारण के हुनसक्छ, प्रहरी अनुसन्धानबाट खुल्न आवश्यक छ ।

धनुषाको विदेह नगरपालिका-२ धोबी बस्ने अविनाश केही वर्षयता जनकपुरधाम उपमहानगरपालिका-१५ मा कलकतिया बाली सिरियलको लागि घर  बनाएर काम गर्दै आएका छन् ।

सिरियलमै काम गर्दागर्दै अविनाश र अंशाले ६ महिनाअघि मात्रै विवाह गरेका थिए । ब्राह्मण समुदायका अविनाशले दलित समुदायकी अंशासँग विवाह गरेपछि उनको धेरै प्रशंसा समेत भएको थियो ।

तर, ६ महिना बित्न नपाउँदै अंशाको मृत्यु भयो । उनको मृत्युको कारणबारे अहिलेसम्म यकिन भएको छैन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी बरुण सिंह अनुसन्धानका लागि सुटिङ गर्ने घरहरूमा रहेका डिभाइसहरू समेत नियन्त्रणमा लिइएको बताउँछन् ।

अंशाको शव श्रीमान्‌ले बुझेर सदगत्  गरिसकेका छन् । घटनाबारे सोधपुछ गर्ने काम भइरहेको डीएसपी सिंह बताउँछन् ।

विवाह गरेको ६ महिनामै ‘शंकास्पद’ रूपमा मृत भेटिएकी अंशा मुसहर समुदायकी हुन् । उनले आत्महत्या नै गरेको भए पनि यसको कारण के हुनसक्छ भन्ने जवाफ प्रहरी अनुसन्धानबाट आउनुपर्छ ।

आत्महत्या नै गरेको भए अति विपन्न मुसहर समुदायकी अंशा यो अवस्थामा किन पुगिन्, उनलाई आत्महत्या गर्न कसले बाध्य बनायो भन्ने विश्वासिलो आधार र कारण प्रहरी अनुसन्धानबाट खुल्न आवश्यक छ ।

मुसहर समुदायकी अंशामात्रै होइन उनकै जस्तो रहस्यमयी मृत्यु यो समुदायका अन्य महिलाहरूको पनि भएको छ ।

०००

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको ३० माघ २०८१ मा रहस्यमय मृत्यु भएको थियो । अझ उनको घटना दबाउन वडासदस्यकै नेतृत्वमा पञ्चायती समेत बसेको थियो ।

अंशा जस्तै रिंकु पनि आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । आमा र एक भाइका साथ बस्दै आएकी रिंकु २६ माघ राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले आफूमाथि सामूहिक बलात्कार भएको परिवारलाई बताइन् । स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी रिंकुको थियो ।

रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।

यो विषयमा मिलापत्र गर्न भन्दै २९ माघमा बसेको पञ्चायतीले रुपेश मण्डललाई १ लाख ५० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय भएको थियो ।

तर यो निर्णयलाई पीडित परिवारले स्वीकार गरेनन् ।

रिकुको परिवारसँग घटनाबारे जानकारी लिँदै छानबिन समिति र घटना दबाउन बसेको पन्चायती

३० माघमा फेरि पञ्चायती सभा डाकिएको थियो । त्यतिबेला नै रिंकुले रुपेशका साथै अन्य दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै बयान दिएकी थिइन् ।

पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

यो घटनाले मिडियादेखि संसद्‌सम्म प्रवेश पाएपछि बल्ल अनुसन्धान र छानबिनमा राज्यले चासो देखाएको थियो ।

जब एक जातिले आफू सर्वश्रेष्ठ हो भन्ने ठान्छ, उसले अर्को जातिलाई थिचोमिचो गर्ने प्रवृत्ति अहिले पनि यथावत् रहेको राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रेश्वरको उनको भनाइ छ ।

पञ्चायती बसेर घटना दबाउन खोजेको आरोपमा लागेका वडासदस्य नथुनी साह पुर्पक्षका लागि कारागार चलान भएका थिए । पक्राउ परेका अरु ६ प्रतिवादी धरौटी र २ प्रतिवादी साधारण तारेखमा रिहा भए ।

बलात्कार तथा अपहरणका आरोपी दुई जना र पञ्चायती मिलाउन सहभागी हुने ८ जना गरी १० जना भने अझै फरार छन् ।

तर, रिंकुकै केसमा सुरुमा जाहेरी दर्ता गराउन नै गाह्रो भएको बुझाइ मुसहर समुदायको छ । राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रेश्वर सदा भन्छन्, ‘एक त प्रशासनमा जाहेरी दर्ता गराउनै हामीलाई मुस्किल छ । त्यहाँमाथि न्याय पाउन झनै गाह्रो छ । सबैतिरबाट आवाज उठेपछि बल्ल रिंकुको घटनामा मुद्दा चल्नेसम्म अवस्था आएको थियो ।’

०००

सिरहाकै नवराजपुर-१० मा मुसहर समुदायकै २४ वर्षीया महिला आनन्दीदेवी सदा गत २ वैशाखमा माइतीघरमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिइन् ।

आनन्दीदेवी यौन दुर्व्यवहारबाट पीडित हुन् ।

गत ९ पुसमा बरियारपट्टी गाउँपालिका-१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेको बेला गाउँकै दुई युवकले उनीमाथि यौन दुर्व्यवहार गरेका थिए ।

स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालर यौन प्रस्ताव राखेका थिए ।

तर आनन्दीले अस्वीकार गर्दा जबरजस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेर कपडा च्यातेर जबरजस्ती करणीको प्रयास गरे । गुहार माग्दै उनी उम्कन सफल भइन् ।

बलात्कारबाट जसोतसो उम्केकी आनन्दीदेवीको ४ महिना बित्न नपाउँदै रहस्यमय ढंगले मृत्यु भयो । यौन दुर्व्यवहारमा पर्नु, तत्काल प्रहरीले कुनै कारबाही अघि नबढाउनु र त्यसपछि उनी मृत भेटिनुले शंका उब्जायो ।

यो घटनामा गाउँमै मिलापत्र गर्नुपर्ने भन्दै धम्की समेत आएको उनकी आमा बिल्टौनले बताएकी थिइन् । २५ फागुनमा घटनामा संलग्न दुई युवकमाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा जारी दर्ता गरेको थियो ।

तर, घटना भएको ६ महिना बित्यो अभियुक्तहरू कारबाहीको दायरामा आउन सकेका छैनन् ।

सिरहा प्रहरीका एसपी अनन्तराम शर्मा भने उनीहरूको खोजी भइरहे पनि पक्राउ पर्न नसकेको बताउँछन् । ‘उनीहरूको खोजी भइरहेको छ । तालुक कार्यालयबाट समेत खोजी जारी छ । भागेर भारत पुगेको भन्ने सूचना पाएका छौं । तर पक्राउ गर्न सकिएको छैन,’ एसपी शर्माले अनलाइनखबरसँग भने ।

आनन्दीदेवीले आत्महत्या गरे पनि त्यसका लागि कारक भने यौन दुर्व्यवहार पनि एक मानिएको छ । यौन दुर्व्यवहारमा परेकै कारण श्रीमान्‌सँगको सम्बन्ध पनि राम्रो नभएको र प्रशासनले पनि तत्काल एक्सन नलिँदाको परिणम आनन्दीदेवी आत्महत्याको निर्णयमा पुगेको देखिन्छ ।

०००

गत २ वैशाखमा सप्तरीको लसुरुंगा नगरपालिका-७ स्थित पोखरी किनारमा १८ वर्षीया पूजाकुमारी रामको शव फेला पर्‍यो । शव घाँसपातले छोपिएको अवस्थामा भेटिएको थियो ।

मृत भेटिएकी पूजाकुमारी पनि यसअघि करिब साढे ३ वर्ष पहिला यौन हिंसामा परेकी किशोरी हुन् ।

१४ मंसिर २०७८ मा उनलाई स्थानीय जागेश्वर ठाकुरले बलात्कार प्रयास गरेका थिए । तर पूजाकुमारी चिच्याएपछि ती जागेश्वर फरार भएका थिए ।

त्यसपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । अदालतले ८ महिना कैद र ७ हजार जरिवानाको फैसला गर्‍यो ।

अभियुक्त कैद भुक्तान गरेर पनि छुटिसके ।

घाँसपातले छापेको अवस्थामा शव भेटिएपछि प्रहरीले हत्या भएको निष्कर्ष निकालेको थियो । तर अहिलेसम्म मुसहर समुदायकी किशोरी पूजाकुमारी हत्याको पहिचान प्रहरीले गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र बस्नेत पनि यो प्रकरण अनुसन्धानकै चरणमा रहेको बताउँछन् । ‘अभियुक्त पहिचान हुन सकेको छैन ।

हाम्रो टोली निरन्तर अनुसन्धानमा लागिरहेको छ,’ डीएसपी बस्नेतले अनलाइनखबरसँग भने ।

पछिल्लो समय मधेश प्रदेशका जिल्लाहरूमा मुसहर समुदायका महिलाको रहस्यमय मृत्यु, आत्महत्या तथा हत्याका घटना हुने क्रम देखिए पनि यसको अनुसन्धान निष्कर्षमा पुग्न सकेका छैनन् । उनीहरुको हत्या तथा मृत्युमा कहीँ न कहीँ जातको कारण जोडिने गरेको बताइए पनि घटना न्यूनीकरण भने भएको देखिँदैन ।

‘मुसहर समुदायका लागि प्रशासन नै छैन’

समुदायबाटै छुवाछुतदेखि दमनका घटना हुदाँ र यसले जघन्य अपराधको रूप लिँदा समेत राज्यले गम्भीर चासो नदेखाएको गुनासो मुसहर अगुवाहरू गर्छन् ।

‘गरिब, दु:खी र बोल्न नसक्नेका लागि राज्य हुनुपर्ने हो । तर मुसहर समुदायका लागि त्यस्तो भएको देखिँदैन । अंशाको घटनामात्रै होइन, यसअघिका यस्तै प्रकृतिका घटनामा पनि बारम्बार आवाज उठाउँदै आए पनि राज्यले हाम्रो आवाज सुन्दैन,’ राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रेश्वर भन्छन् ।

राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रेश्वर

जब समाज जातिमा विभाजित हुन्छ, यस्ता घटना दोहोरिरहने उनको बुझाइ छ ।

चन्द्रेश्वरले भनेजस्तै रिंकुको मृत्युमा जात एउटा कारण बनेको प्रहरी अनुसन्धानले समेत देखाएको थियो । केटा पक्ष तथा बलात्कार आरोपी रुपेश रिंकुको प्रेमी रहेको तर रुपेशको परिवारले रिंकु मुसहर समुदायकी भएकै कारण विवाह गर्न अस्वीकार गरेपछिको असर आत्महत्यासम्म पुगेको उनको परिवारको दाबी छ ।

अंशा, रिंकु, आनन्दीदेवी वा पूजाकुमारीको शंकास्पद मृत्युमा कहीँ न कहीँ जात जोडिएको दाबी चन्द्रेश्वरको छ । जब एक जातिले आफू सर्वश्रेष्ठ हो भन्ने ठान्छ, उसले अर्को जातिलाई थिचोमिचो गर्ने प्रवृत्ति अहिले पनि यथावत् रहेको उनको भनाइ छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?