+
+
Shares

उपभोक्ता रिँगाउँदै अर्गानिक खाद्यवस्तु

उपभोक्ताहरू गाउँघरमा उत्पादन भएको अर्गानिक कृषि उपज स्वस्थ र पौष्टिकताले भरिपूर्ण हुन्छ भन्नेमा विश्वस्त छन् । तर, बजारमा अर्गानिक, लोकल र विषादीरहित भनेर खरिद–बिक्री हुँदै आएका खाद्यवस्तु साच्चिँकै अर्गानिक, लोकल र विषादीरहित हुन् कि होइनन् भन्ने प्रश्न अनुत्तरित छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ असार १२ गते ८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपभोक्ताहरूले अर्गानिक खाद्यवस्तुमा विश्वास गुमाउँदै छन् किनभने बजारमा मिसावट र प्रमाणिकरणको अभाव छ।
  • कृषि विज्ञहरूले भने, अर्गानिक प्रमाणित गर्न रासायनिक मल र विषादीको प्रयोग नभएको सुनिश्चित गर्न आवश्यक छ।
  • सरकारले अर्गानिक प्रमाणीकरण र निगरानी प्रणाली लागू गर्नुपर्ने सुझाव दिइएको छ।

१२ असार, काठमाडौं । संघीय राजधानी काठमाडौं बबरमहलकी कुसुम ढकालले नजिकै खुलेको ‘अर्गानिक’ खाद्यवस्तु बेच्ने पसलबाट जुम्लाको अर्गानिक सिमी भनेर महँगो पैसा तिरेर घर लगिन् । तर, पकाउँदा भने त्यो सिमी राम्रोसँग पाकेन । त्यसपछि ढकाललाई अर्गानिकका नाममा ठगिएँ भन्ने लाग्यो ।

‘जुम्ली सिमी त पहिला पनि लगेर खाएको होे, दालमा मिसाएरै पकाउँदा पनि लतक्क हुने र स्वाद पनि उस्तै मिठो थियो,’ ढकालले अनलाइनखबरसँग भनिन्, ‘हेर्दा त कालो लामो–लामो दाना भएको थियो । पकाउँदा पाक्न पनि धेरै समय लाग्यो र खाँदा त्यति धेरै स्वाद आएन । अर्गानिकका नाममा अरू नै बेचे जस्तो छ ।’

त्यस्तै सम्झना दुवालले ललितपुरको एक मार्टबाट अर्गानिक भन्दै बेच्न राखिएको मह किनेर ल्याइन् । तर, त्यो महको स्वाद उनलाई अर्गानिक नै हो भनेर पत्यार लागेन ।

‘धादिङबाट ल्याएको गाउँघरको अर्गानिक मह हो, यसमा डाउट (शंका) गर्नै पर्दैन, एकदमै स्वादिलो छ भनेर मार्टका सञ्चालकले भने,’ उनले सुनाइन्, ‘पछि खाँदा ठ्याक्कै चिनी जस्तै स्वाद थियो । एक सातापछि त चिनी जस्तै डल्ला नै पर्‍यो ।’

त्यसपछि दुवाललाई अर्गानिक भनेर खोलिएका पसलहरूमा विश्वास लाग्न छाडेको छ ।

अर्गानिकमा किन पछुताउँदै छन् उपभोक्ता ?

रैथाने उत्पादनका नाममा व्यापक प्रचारप्रसार गरिएका, रैथाने भएको प्रमाण नभई बेचिने ती वस्तु तथा उत्पादन कसरी रैथाने हुन्छन् ? यस्ता वस्तु रैथाने नै हुन् भनेर भन्ने आधारविना कसरी विश्वास गर्ने ? विषादी नभएको तरकारी र खाद्यवस्तु बजारमा पाइने अवस्था नरहेका बेला अर्गानिक भनेर कसरी पत्याउने ?

ढकाल र दुवाल उत्साहित हुँदै अर्गानिक खाद्यवस्तु खरिद गरेर पछुताउने प्रतिनिधि उपभोक्ता हुन् ।

अहिले मुलुकका ठूलादेखि साना सहरका गल्ली तथा चोकमा अर्गानिक पसल तथा मार्ट खोल्नेको भीड नै लागेको छ । त्यस्तै उपभोक्तामा पनि अर्गानिक खाद्यवस्तु किन्ने ‘ट्रेन्ड’ नै चलेको छ । उनीहरू अर्गानिक भनेपछि महँगो पैसा हालेर किन्न पनि पछि पर्दैनन् ।

पछिल्लो समय विषादी हालेका तरकारी, फलफूल तथा खाद्यवस्तु बजारमा पाइन थालेपछि स्वास्थ्यप्रति सचेत उपभोक्ता अर्गानिक र लोकलतिर आकर्षित भएका हुन् ।

उनीहरू गाउँघरमा उत्पादन भएको अर्गानिक कृषि उपज स्वस्थ र पौष्टिकताले भरिपूर्ण हुन्छ भन्नेमा विश्वस्त छन् । तर, बजारमा अर्गानिक, लोकल र विषादीरहित भनेर खरिद–बिक्री हुँदै आएका खाद्यवस्तु

साच्चिँकै अर्गानिक, लोकल र विषादीरहित हुन् कि होइनन् भन्ने प्रश्न अनुत्तरित छ ।

स्वास्थ्यमा सचेत हुँदै अर्गानिकका नाममा किनिएका खाद्यवस्तुको स्वाद नै बेग्लै भेटिएपछि उपभोक्ता दुविधामा परेका देखिन्छन् । अहिले अर्गानिक, लोकलका नाममा बहस नै चलिरहेका पनि छन् ।

बजारमा सञ्चालनमा आइरहेका किराना पसलदेखि ठूला पसल, मार्ट र सुपर स्टोरमा दैनिक उपभोग्य वस्तु अर्गानिकका नाममा बेच्न राखिएका पाइन्छन् ।

उपभोक्ताको आकर्षण केमा छ र कसरी व्यवसाय तीव्र गतिमा अगाडि बढ्छ भन्ने बुझेका व्यापारीले मार्ट, सोपर स्टोर लगायत सानाठूला पसलमा अर्गानिकका नाममा सागपात, हरिया तरकारी, फलफूलदेखि खानेतेल, दाल, गेडागुडी, चामल, कोदो, फापरको पिठो, मकैको च्याँख्ला लगायत खाद्यान्न अर्गानिकका नाममा बेच्न राखिदिएका छन् ।

यतिमात्र नभई धेरै व्यवसायीले ठाउँको नाम नै तोकेर ‘फलानो ठाउँको उत्पादन’ भन्दै अर्गानिकका नाममा सामाजिक सञ्जालमा ठूलै प्रचारप्रसार गर्दै आएका छन् । ‘अर्गानिक खाद्यवस्तु पसल’ सँगै अनलाइन प्ल्याटफर्मबाट बेच्दै पनि आएका छन् ।

सहरका गल्ली चोक चहार्ने हो भने ‘गाउँघर अर्गानिक पसल’, ‘नेपाल अर्गानिक घर’, ‘अर्गानिक फुड स्टोर’, ‘काठमाडौं अर्गानिक’, ‘गाउँले अर्गानिक पसल’, ‘उर्वर अर्गानिक’ लगायत नाम देख्न पाइन्छ ।

रैथाने उत्पादनका नाममा व्यापक प्रचारप्रसार गरिएका, रैथाने भएको प्रमाण नभई बेचिने ती वस्तु तथा उत्पादन कसरी रैथाने हुन्छन् ? यस्ता वस्तु रैथाने नै हुन् भनेर भन्ने आधारविना कसरी विश्वास गर्ने ? विषादी नभएको तरकारी र खाद्यवस्तु बजारमा पाइने अवस्था नरहेका बेला अर्गानिक भनेर कसरी पत्याउने ? जस्ता प्रश्नका उत्तर पनि हतपति कसैले दिन सक्दैनन् ।

यस्ता खाद्यवस्तुमा व्यापारीले अर्गानिक भनेर स्व:घोषणा गरेका छन् ।

अर्गानिक भनिएका खाद्यवस्तु अर्गानिक नै हुन् ?

सहरका प्रत्येक गल्लीमा अर्गानिकका नाममा जुम्लाको सिमी भनेर बेचिएका सिमी सबै जुम्लाका हुन् ? काठमाडौं उपत्यकाका गल्ली तथा चोकका प्रत्येक पसलमा किन्न पाइने गरी बेचिएका सिमी जुम्लामै उत्पादन भएका हुन् ?

अझै अहिले त सहरका सानादेखि ठूला रेस्टुरेन्ट र तारे होटलमा जुम्लाको सिमीको दाल भनेर ‘मेनु’ मै समावेश गरिएका छन् । यसरी छ्यापछ्याप्ती बेच्न मिल्ने गरी जुम्लामा सिमी उत्पादन भएकै हो त ? यस प्रश्नको उत्तर कसले दिने ?

रैथाने बालीका बीउसमेत मासिँदै गएको र खेतीका लागि बीउसमेत बाहिरबाट आयात गर्नुपरेको अवस्था छ । जुम्लामा उत्पादन भएको सिमीकै कुरा गर्दा पनि जिल्लामा खपत भएर थोरैमात्र काठमाडौं भित्रिने व्यवसायीहरू नै बताउँछन् । उनीहरूले दिएकै जानकारी अनुसार रैथाने र अर्गानिक भनिएका खाद्यवस्तुमा व्यापक मिसावट छ भन्ने बुझिन्छ ।

‘आफ्नै बारीको भएपछि अर्गानिक भएन त !’

काठमाडौं महानगरपालिका–११ कपनमा अमृतकुमारी मगरले ‘सोलुखुम्बु–जन्तरखानी–ओखलढुंगा अर्गानिक खाद्यान्न पसल’ सञ्चालनमा ल्याएकी छिन् । उनले पाँच महिनादेखि अर्गानिक खाद्य पसल चलाइरहेकी छिन् ।

कृषि उपज अर्गानिक हुन प्राकृतिक किसिमका औषधि, प्राङ्गारिक मल र रैथाने बीउबाट उत्पादन भएको र रासायनिक मल तथा विषादी प्रयोग नगरिएकोे हुनुपर्छ ।

उनको पसलमा सोलुखुम्बु र ओखलढुंगामा उत्पादन भएको मकैको च्याँख्ला, गहुँ, सिमी, कोदोको पिठो, उवा, भटमास, ल्होत्से आलु, हिमाली क्षेत्रमा फल्ने लसुन, टिमुर, प्याज, छ्यापी, जिम्बु लगायत सामग्री किन्न पाइन्छ ।

यी सबै अर्गानिक भनेर बेचिएका खाद्यवस्तु प्रमाणित (अर्गानिक सर्टिफाइड) गरिएका भने होइनन् । उनले आफ्नै गाउँघरमा उत्पादन गरेका सामग्री बेचेको बताइन् ।

‘हाम्रो बारीमा हामीले नै उत्पादन गरेको अन्नबाली हो, त्यसैले नै अर्गानिक भनेको हो,’ मगरले भनिन्, ‘गाउँघरमा सबैको घरमा उत्पादन हुन्छ, आफूलाई चाहिने जति राखेर धेरै भएको यहाँ ल्याएर बेच्ने थालेका हौं ।’

उनले ‘कुनै पनि विषादी नराखेर उत्पादन गरेको बाली’ नै अर्गानिक हो भनेर बुझेको बताइन् । ‘हामीले उत्पादन गर्ने वस्तुमा विषादी प्रयोग हुँदैन,’ उनले भनिन्, ‘अन्तबाट आएको खाद्यान्न पनि हामीले विश्वासका आधारमा अर्गानिक भनेर बेच्ने हो । विश्वासकै भरमा चलेका छौं ।’

उनले अर्गानिक भनेर बेचिरहेका खाद्यवस्तु सिजन अनुसारकै भएको बताइन् ।

अर्गानिक खाद्यवस्तुका भाउ कति ?

काठमाडौंमा खुलेका अधिकांश अर्गानिक पसलमा कर्णालीका उत्पादन भनेर बेचिएको देखिन्छ । त्यस्ता पसलमा बेच्न राखिएका खाद्यान्नलाई अलि महँगो मूल्य तिरेर किन्नुपर्ने हुन्छ । ती पसलमा राखिएका सिमीको भाउ एक किलोको ३ सयदेखि ३ सय ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

सिमी दालको भाउ प्रतिकिलो ३ सयदेखि ३ सय ५० रुपैयाँ, कोदोको पिठो १ सय ५० देखि १ सय ६०, मकैको पिठो १ सय १० देखि १ सय ३०, जौको पिठो १ सय ८० देखि २ सय, फापरको पिठो १ सय ८० देखि २ सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

यस्ता मूल्य अर्गानिक पसलैपिच्छे फरक हुने गर्छ ।

काभ्रेकी शोभा तिमल्सिनाले बुद्धनगरमा खाद्यान्न पसल खोलेको चार महिना भयो । उनले भटमास, कोदोको पिठो, फापरको पिठो, मकैको च्याँख्ला, गहुँको च्याँख्ला, जौको च्याँख्ला, सिमी, बोडी लगायत खाद्यवस्तु बेच्छिन् ।

उनले आफूले बेच्ने खाद्यवस्तुलाई अर्गानिकभन्दा पनि लोकल भनेर बेच्ने गरेको बताइन् । ‘अर्गानिकभन्दा पनि गाउँतिर उत्पादन भएको खाद्यवस्तुलाई लोकल नै भनिन्छ,’ उनले भनिन्, ‘हाम्रो पसलमा खाद्यवस्तु संकलनकर्ताले ल्याइदिन्छन् । ल्याइदिनेले पनि लोकल भनेर ल्याइदिएका हुन्छन् । हामीले विश्वास गरेरै बेच्ने गरेका छौं ।’

उनले आयात गरिएका भन्दा पनि स्वदेशमै उत्पादन भएका खाद्यान्न स्वास्थ्यलाई फाइदा गर्ने र पौष्टिक तत्व पनि धेरै पाइने हुँदा बेच्न थालेको बताइन् ।

उनको पसलमा मकैको पिठो प्रतिकिलो ९०, कोदोको १ सय ३०, फापरको २ सय २० र गहुँको पिठो १ सय रुपैयाँमा किन्न पाइन्छ । यस्तै च्याँख्ला भने प्रतिकिलो १ सय २० देखि २ सय रुपैयाँसम्म पर्न जाने उनले बताइन् ।

कस्तो खाद्यवस्तुलाई अर्गानिक भन्ने ?

बजारमा अर्गानिकका नाममा छ्यापछ्याप्ती बेच्न राखिएका खाद्यवस्तु अर्गानिक नै हुन् भनेर विश्वस्त हुन नसकिने कृषि विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार प्रमाणित नभएसम्म अगार्निक नै हो भनेर दाबी गर्न सकिँदैन ।

कृषि उपज अर्गानिक हुन प्राकृतिक किसिमका औषधि, प्राङ्गारिक मल र रैथाने बीउबाट उत्पादन भएको र रासायनिक मल तथा विषादी प्रयोग नगरिएकोे हुनुपर्छ ।

रासायनिक मल र विषादी प्रयोग नगरी उत्पादन भएका खाद्यवस्तु थोरै मात्रामा मात्रै भेट्न सकिने विज्ञ बताउँछन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ कुनै पनि उत्पादन सर्टिफाइड नभएसम्म अर्गानिक भन्न नमिल्ने बताउँछन् ।

सरकारले प्राङ्गारिक प्रमाणीकरण मापदण्ड बनाएको छ । त्यो प्रमाणीकरण मापदण्ड जसले पूरा गरेको छ, उसलाई मात्रै अर्गानिक सर्टिफिकेसन दिन मिल्ने उनी बताउँछन् ।

‘प्राङ्गारिक प्रमाणीकरण मापदण्ड पूरा गरेर उत्पादन गरेकोलाई अर्गानिक भनिने हो,’ उनी भन्छन्, ‘उत्पादनमा विषादीको उपस्थिति देखियो भने त्यो अर्गानिक उत्पादन भएन ।’

उनका अनुसार अर्गानिक सर्टिफाइड गर्न महँगो शुल्क तिर्नुपर्ने हुन्छ । त्यसका लागि बालीमा अर्गानिक उत्पादनको विधि र प्रक्रिया पूरा हुनुपर्छ ।

‘बाली उत्पादन गर्ने किसानले कहाँबाट कस्तो बीउ ल्यायो, बीउ अर्गानिक सोर्सको हो कि होइन, कस्तो खेतबारीमा लगायो, त्यो खेतबारीमा पहिले विषादी प्रयोग भएको थियो कि थिएन यस्ता कुरा रेकर्ड राख्नुपर्छ,’ कृषि विज्ञ श्रेष्ठ भन्छन्, ‘त्यो रेकर्ड परीक्षण कृषि इन्स्पेक्टरले गर्दा सही भए मात्रै अर्गानिक प्रमाणित हुन्छ ।’

उनका अनुसार अहिले स्वदेशी बजारका लागि स्ट्यान्डर्ड सर्टिफिकेसन चाहिँदैन । तर, निर्यातका लागि यसको गुणस्तर, विषादीको मात्रा सबै चाहिने हुँदा अर्गानिक हो कि होइन थाहा पाउन अर्गानिक सर्टिफिकेसन चाहिन्छ ।

यो परीक्षणका लागि अलि सहज तरिका भनेको सहभागितामूलक गुणस्तर नियन्त्रण प्रणाली हो । ‘यसमा समुदायले एकले अर्कालाई निगरानी गर्ने हो, एक किसानले अर्को किसानको उत्पादन गर्दा गाइडलाइन पालना गर्‍यो कि गरेन भनेर हेर्ने हो,’ उनी भन्छन्, ‘खासमा त्यो गाइडलाइन समुदाय, उपभोक्ता, विज्ञ सबै मिलेर बनाउने भन्ने हुन्छ ।’

यसमा पनि इन्स्पेक्टरबाट नै परिक्षण हुन्छ । तर, यसलाई पूर्ण अर्गानिक भन्न नमिल्ने उनी बताउँछन् ।

अर्को, आन्तरिक नियन्त्रण प्रणाली हुन्छ । तेस्रो, लाइसेन्स प्राप्त संस्थाहरूले प्रमाणीकरण गर्ने उनी बताउँछन् ।

पछिल्लो समय उपभोक्ता स्वास्थ्यप्रति बढी सजग हुँदा अर्गानिक उत्पादनप्रति धेरै आकर्षित भएका छन् ।

पछिल्लो समय कृषिलाई व्यापारका रूपमा मात्रै हेरिएका कारण विभिन्न समस्या निम्तिएका छन् । कृषिलाई खाद्य सुरक्षा, पोषण सुरक्षा, स्वाधीनता र आत्मनिर्भरताका हिसाबले हेनुपर्ने उनको सुझाव छ ।

अहिले विश्वासको संकट भएको हुँदा पालिकाहरूले नै आफ्नो निगरानीमा प्राविधिक लिएर बेलाबेला अनुगमन निरीक्षण गर्न सक्ने उनी बताउँछन् ।

‘पालिकालाई सम्पूर्ण अधिकार भएको हुँदा आफ्ना किसानलाई नजिकबाट हेर्न सक्छ, यदि किसानले आफ्ना उत्पादनमा रासायनिक विषादी प्रयोग गरेको छैन भने सामान्य अनुगमनका आधारमा पालिकाको लोगो दिएर ‘यो उत्पादनमा रासायनिक विषादी प्रयोग भएको छैन’ भनेर भनिदियो भने उक्त उत्पादन हामी सबैले ढुक्क भएर खान पाउँछौं,’ डा. श्रेष्ठ भन्छन् ।

अर्गानिक उत्पादनमा उपभोक्ता ठगिनबाट जोगाउने अर्को उपाय डिजिटल प्रविधि हो । हरेक ठाउँका उत्पादनमा क्यूआर सिस्टम राख्नुपर्ने उनको सुझाव छ । क्यूआर सिस्टमबाट कहाँको उत्पादन हो र कसरी उत्पादन भयो भन्ने उपभोक्ताले थाहा पाउँछन् र ठगिने सम्भावना कम हुने उनी बताउँछन् ।

अर्गानिक प्रमाणीकरण सरकारले गर्नुपर्छ : गोल्यान

अर्गानिक खाद्यान्न प्रवर्द्धन गर्दै आएको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान काठमाडौं र ललितपुर महानगरपालिकाले तरकारी, फलफूल तथा खाद्यान्न विषादी परीक्षण गरेर मात्रै यहाँ भित्रिन दिनुपर्ने बताउँछन् ।

काठमाडौं उपत्यकामा अर्गानिक भनेर खुलेका पसलहरूको सरकारले साँच्चै अर्गानिक हुन् कि होइनन् भनेर निरीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

‘सरकारले निरीक्षण गरेर यो पसलले बेचेको अर्गानिक हो भन्ने पत्ता लगाएर सर्टिफाइड गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्थानीय तहबाट नै उत्पादित वस्तुमा कति विषादी प्रयोग गरिएको छ, खान योग्य छ कि छैन भनेर अनुगमन हुन जरुरी छ ।’

उनका अनुसार कुनै पनि विषादी प्रयोग नगरी पूर्णरूपमा अर्गानिक खाद्यवस्तु थोरै मात्रामा मात्रै उत्पादन हुन्छन् । र, तिनको मूल्य पनि महँगो पर्न जान्छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?