+
+

तामाकोसी–५ मा सञ्चय कोषको चासो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते २२:३९

१५ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले ‘तामाकोसी ५ जलविद्युत आयोजना’ लाई माथिल्लो तामाकोसी जलविद्युत कम्पनीअन्तरगत नै राख्नुपर्ने माग अघि सारेको छ ।

निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना सम्पन्न हुनै लाग्दा त्यसको लगानीकर्ता रहेको कर्मचारी सञ्चय कोषले तामाकोसी ५ लाई तामाकोसी जलविद्युत कम्पनीको छाताबाट बाहिर नलैजान सरकारको ध्यानाकर्षण गराएको हो ।

हाल माथिल्लो तामाकोसी निर्माणका लागि माथिल्लो तामाकोसी कम्पनीले काम गरिरहेको छ भने तामाकोसी ५ निर्माणका लागि तामाकोसी–५ जलविद्युत कम्पनी बनेको छ । तामासोसी जलविद्युत कम्पनीकै नाममा लाइसेन्स जारी पनि भएको छ ।

हाल यो परियोजनाका लागि लगानी जुटाउन सरकारले छलफल अघि बढाएको छ । चीनको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) यसमा लगानी गर्न इच्छुक पनि छ । आयोजनाको लागि लगानी खोज्ने क्रममा नै कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर विभिन्न मागहरु राखेको हो ।

सञ्चय कोषका लगानी विभाग प्रमुख अर्जुन गौतम माथिल्लो तामाकोसीमा लगानी गरेका सञ्चयकर्तालाई राम्रो प्रतिफल आउने सुनिश्चितताका लागि यस्तो माग गरिएको बताउँछन् । माथिल्लो तामाकोसीमा १० अर्ब लगानी गर्ने गरी समझदारी गरेको सञ्चय कोषले आयोजनाको लागत बढेपछि हाल त्योभन्दा २ अर्ब बढी आयोजनालाई उपलब्ध गराइसकेको छ । आयोजनाको प्रवद्र्धकले अझै थप २ देखि ३ अर्ब रुपैयाँ सञ्चय कोषले लगानी गर्नुपर्ने प्रस्ताव गरेको छ ।

तर, कोषले भने भने माथिल्लो तामाकोसीको ‘क्यासकेड प्रोजेक्ट’मा रुपमा बन्न लागेको तामाकोसी–५ लाई तामाकोसी जलविद्युत कम्पनी अन्तरगत नै राख्नुपर्ने शर्त राखेको छ ।

‘सकेसम्म माथिल्लो तामाकोसी बनाएकै कम्पनीले तामाकोसी ५ बनाओस्’ सञ्चयकोषका गौतम भन्छन्, ‘सकिँदैन भने पनि कम्पनीलाई होल्डिङ्सका रुपमा राखेर सब्सिडरी कम्पनी बनाएर नयाँ आयोजना चलाइयोस् भनेर प्रस्ताव गरेका छौं ।’

गौतमले माथिल्लो तामाकोसीमा सेयर लगानी गरेका सञ्चयकर्तालाई राम्रो ‘रिटर्न’ दिनुपर्ने भन्दै तामाकोसी ५ लाई माथिल्लो तामाकोसीको कम्पनीभन्दा बाहिर राख्न नहुने बताए ।

माथिल्लो तामाकोसी परियोजना देशकै निम्ति उदाहरणीय भएको भन्दै उनले भोलि जनताको लगानी जलविद्युतमा गराउने एउटा ट्रेन्ड सेट गर्न पनि तामाकोसीका लगानीकर्तालाई राम्रो प्रतिफल दिएर सकारात्मक सन्देश प्रवाह गर्न सरकार चुक्न नहुने तर्क गरे ।

‘यो परियोजना सस्तो पनि छ, राम्रो पनि छ, माथिल्लो तामाकोसीकै पूर्वाधार यसले उपयोग गर्न पाउँछ,’ गौतम भन्छन्, ‘यसै कारण हामीले लगानीकर्ताको हितलाई हेरेरै यसलाई छुट्टै कम्पनीबाट नबनाइयोस् भनेका हौं, यसले भोलि जनताको सेयरबाट बनाउने भनिएका परियोजनामा लगानी जुटाउन पनि एउटा प्रेरणाको रुपमा काम गर्छ ।’

सञ्चयकोषले तामाकोसी–५ मा हुने लगानीका विषयमा भने आफ्नो गम्भीर चासो नरहेको बताएको छ । यदि प्रवद्र्धकले चाहेमा लगानीका विषयमा छलफल हुन सक्ने भन्दै उनले तामाकोसी ५ लाई माथिल्लो तामाकोसी अन्तरगत नै निर्माण तथा सञ्चालन गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताए ।

छलफल हुन्छ : प्राधिकरण

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हालसम्म सञ्चयकोषको मागको लिखित दस्तावेज आफूसँग नआइपुगेको बताउँछन् ।

‘तामाकोसी ५ मा माथिल्लो तामाकोसी कम्पनीको पनि सेयर राख्न सकिन्छ,’ घिसिङले भने, ‘यो परियोजनाबारे सञ्चयकोषसँग हाम्रो औपचारिक छलफल भएपछि के गर्ने भन्ने तय हुन्छ ।’

घिसिङले आयोजना निर्माणका लागि पूर्वतयारी सुरु भइसकेको बताए । उनले यो आयोजना पनि निकै महत्वपूर्ण भएकाले यसलाई सफल बनाउन प्राधिकरणले सरोकारवाला सबैसँग छलफल हुने बताए ।

कस्तो आयोजना हो ?

तामाकोसी–५ आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गर्ने गरी निर्माण गरिँदैछ । टेलरेस टनेलबाट निस्केको पानीलाई सुरुङमार्फत सुरीदोभानमा पुर्‍याएर बिजुली निकालिनेछ ।

त्यहाँ अर्को भूमिगत विद्युत गृह बनाएर आयोजनाबाट सय मेगावाट बिजुली निकाल्ने योजना छ । तामाकोसी ५ मा पानी लैजाने गरी व्यवस्थापन गर्न माथिल्लो तामाकोसी निर्माणकै क्रममा आधारभूत संरचनाहरु तयार गरिएको छ । सिभिलतर्फको ठेकदार कम्पनीले टेलरेस टनेललाई अर्को टनेलमा डाइभर्ट गर्न सकिने गरी गरी भूमिगत इन्टेकसहितको संरचना बनाएको हो ।

यो आयोजना माथिल्लो तामाकोसीको क्यासकेड प्रोजेक्ट भएकाले हेडवक्र्सको काम गर्नुपर्ने अवस्था छैन । माथिल्लो तामाकोसीको टलरेसबाट ८ दशमलव २ किलोमिटर लामो सुरुङ निर्माण गरेर विद्युत गृहमा खसालेर यो आयोजना निर्माण हुनेछ । ५ दशमलव ६ मिटर व्यास भएको सुरुङमा जाने पानीलाई १ सय ६० मिटर हेडबाट खसालिनेछ ।

यो आयोजनाका लागि २५/२५ मेगावाटको ४ वटा युनिटको प्रस्ताव गरिएको छ । ल्हामेर कम्पनीले यसको डीपीआर तयार गर्दैछ । यो आयोजनाको निर्माण थाल्न अन्तिम तयारी हुँदैछ ।

विद्युत उत्पादनका हिसावले यो आयोजना अन्य आयोजनाभन्दा निकै सस्तो हो । करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाको प्रतिमेगावाट लगानी १५ करोड मात्रै छ ।

सामान्यतया एक मेगावाटको परियोजना बन्न अहिले धेरै सस्तोमा पनि २० करोड खर्च हुन्छ । यस हिसाबले यसको प्रति युनिट विजुली उत्पादन पनि सस्तो छ ।
यो आयोजनाका प्रभावित क्षत्रेमा माथिल्लो तामाकोसीकै प्रभावित क्षेत्र हो । यसै कारण पनि यसको व्यवस्थापन जटिल छैन ।

माथिल्लो तामाकोसी आयोजनाको विद्युत गहृ प्रस्ताव गरिएको स्थान सडकसँगै पर्ने भएकाले यसका लागि पहुँचमार्गको पनि जरुरत छैन । यस्तै माथिल्लो तामाकोसीकै क्याम्प साइट पनि यसको निर्माण्का लागि उपयोग गर्न सकिने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?