
५ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा राजनीतिकभन्दा सामाजिक विषयका समाचारहरु नै प्रमुख हेडलाइन बनेका छन् । चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट लिएको बढी शुल्क फिर्ता हुने समाचारलाई भने सबै पत्रिकाहरुले प्राथमिकताका साथ पहिलो पृष्ठमा स्थान दिएका छन् ।
त्यस बाहेक सवारी दुर्घटनाको कारण भेटिए पनि समाधान नखोजिएको, संवैधानिक इजलास बस्न नसक्दा ४५० मुद्दा प्रभावित भएको, डेंगु संक्रमितको उपचारमा लापरवाही भएको, नेपाल एयरलाइन्सको वाइडबडी जहाजले रित्तै जापानको ओशाका उडान भरिरहेको, आजबाट दशैंको अग्रिम टिकट बुकिङ खुल्ला भएको लगायतका समाचार पनि पहिलो पृष्ठमा छन् ।
कान्तिपुरले पुस्तक नै नबोकी विद्यालय जाने विद्यार्थीबारे समाचार छापेको छ । लमजुङको बेंसीसहर नगरपालिका–९ को जनज्योति माविका विद्यार्थी पुस्तक विनै विद्यालय जाने गरेका हुन् । पुस्तक नभएर विद्यार्थी यसरी विद्यालय जाने गरेको धेरैलाई लाग्न सक्छ । कान्तिपुरका अनुसार, जनज्योति माविका कक्षा १ देखि १० सम्मका १ सय ६० विद्यार्थीलाई घरबाट विद्यालय टाढा भएकाले दुई सेट किताब व्यवस्था गरिएको छ ।
उनीहरूले घरबाट स्कुल जाँदा र फर्किंदा किताब बोक्दैनन् । उनीहरू हरेकसँग विद्यालय र घरमा गरी २ सेट किताब छ । कक्षाकोठामा राखिएको किताब विद्यालयले नै व्यवस्था गरिदिएको हो । घरमा राखिएको किताब सरकारले दिएको अनुदानबाट खरिद गरिएको हो । विद्यार्थीहरू गृहकार्यका लागि केही कापीबाहेक कलमसमेत बोक्दैनन् ।
अन्नपूर्णले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट डोल्पाको दुनै पुग्न ३ दिन लाग्ने खबर अन्नपूर्णले छापेको छ । सुर्खेतबाट दुनैसम्मको दूरी २ सय २५ भए पनि ३ दिन लाग्ने गरेको समाचारमा उल्लेख छ ।
सवारी दुर्घटनाको कारण भेटिन्छ, समाधान खोजिन्न
कान्तिपुर दैनिकका अनुसार मुलुकभर सवारी दुर्घटनाबाट दिनहुँ ७ जनाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्षमा मात्रै मुलुकभर १३ हजार ४२१ दुर्घटनामा २ हजार ७६२ जनाको मृत्यु भयो । पछिल्ला आठ वर्षमा काठमाडौं उपत्यकामा ४६ हजार दुर्घटना हुँदा १ हजार २३६ जनाले ज्यान गुमाए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा दुर्घटना हुनुको कारण के हो भन्नेसमेत विश्लेषण गरेको छ । दुर्घटना हुनुका नौ कारण पत्ता लगाएको छ । चालकको लापरवाहीलाई दुर्घटनाको पहिलो कारण भनिएको छ, कारण पत्ता लगाए पनि समाधानको उपाय भने नखोजिएको कान्तिपुरको समाचारमा उल्लेख छ ।
डेंगु संक्रमितको उपचारमा लापरबाही
नागरिक दैनिकले डेंगु संक्रमितको उपचारमा लापरबाही गरिएको समाचार छापेको छ । यो समाचार सुदूरपश्चिम प्रदेशको हो । समाचारमा लेखिएको छ, ‘सुदूरपश्चिमका अस्पतालमा डेंगु संक्रमितलाई झुलभित्र राखेर उपचार नगर्दा अन्य बिरामी र कुरुवा जोखिममा परेका छन् । …डेंगु संक्रमण भएका बिरामीलाई अन्य बिरामीको बीचमा खुला रुपमा राख्नु गलत भएको स्वास्थ्यविज्ञ बताउँछन् ।’
नागरिक दैनिकले आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोलपूर्ण अवस्थामा पुगेको समाचार पनि छापेको छ ।
वाइडबडी रित्तै जापान जान्छ, रित्तै आउँछ
अन्नपूर्ण पोष्टमा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको दुःखलाग्दो समाचार छ । नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको कुरा सुन्दा गर्व लागे पनि यसको व्यापारिक हालत भने पीडादायी छ । अन्नपूर्ण लेख्छ, ‘वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ । अगष्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट १ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो ।’
समाचारमा वाइडबडीले कहिले कति यात्रु बोक्यो भनेर तालिका नै राखिएको छ । तालिका हेर्दा काठमाडौं–ओसाका उडानको तुलनामा ओसाकाबाट काठमाडौं फर्किँदा यात्रुहरुको संख्या केही धेरै देखिन्छ । अगष्ट ३१ मा काठमाडौंबाट १८ यात्रु बोकेर ओसाका गएको वाइडबडीले ओसाकाबाट काठमाडौं आउँदा ६० यात्रु बोकेको तालिकामा उल्लेख छ ।
संवैधानिक इजलास प्रभावित नबस्दा ४५० मुद्दा प्रभावित
राजधानी दैनिकले प्रधानन्यायाधीश र न्यायाधीशको बेवास्ताको कारण एक महिनादेखि संवैधानिक इजलास प्रभावित बनेको समाचार छापेको छ । संवैधानिक इजलास बस्न नसक्दा संवैधानिक प्रश्नसँग जोडिएका ४५० बढी मुद्दाको फैसला हुन सकेको छैन ।
कारोबार दैनिकले सार्वजनिक यातायातको बुकिङ आजदेखि खुल्ने समाचार छापेको छ । यसैगरी नेपालको अर्थतन्त्रमा भारतीय अध्यादेशको प्रभावका कारण ‘व्यापारघाटा बढ्ने, लगानी रोकिने’ समाचार पनि छ ।
नर्सिङ कलेजको सम्बन्धमा चलखेल
नेपाल समाचारपत्र दैनिकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ८ वर्षदेखि सम्बन्धन लिन निवेदन दिएका २० नर्सिङ र बाँकी अन्य विषयका गरी २८ निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेको समाचार छ । मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्र मिचेर ती कलेजलाई सम्बन्धन दिने तयारी गरेको समाचारमा उल्लेख छ ।
गोरखापत्र दैनिकले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका कार्यसूचीबारे समाचार छापेको छ । महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार न्यूयोर्क प्रस्थान गरेका छन् ।
प्रतिक्रिया 4