+
+

मौसम विवाहको : किन घन्किँदैन पञ्चैबाजा ?

हाम्रो परम्परागत वाद्ययन्त्र कसरी लोप हुँदैछ ?

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७६ मंसिर ११ गते १३:४६

सय थरी बाजा एउटै ताल
सय थरी गोडा एउटै चाल
मेची काली सिङ्गै ढिक्को
साझा हाम्रो ज्यान नेपाल

यो कालजयी गीतलाई दूर्गालाल श्रेष्ठले कुन प्रसंगमा लेखे, त्यो त यकीन छैन । तर, उनले जनाउन लागेको सयथरी बाजा हामीले अहिले सुन्न सक्छौं त रु हरेक शुभकार्य र मृत्यु संस्कारसम्म पनि बजाईने शंखदेखि सुरु भएको मानिने हाम्रो बाजाको इतिहास अहिले पञ्चैबाजासम्म आएर अडिएको छ । यो कालखण्डमा धेरै बाजाहरु लोप भए । धेरै नयाँ बाजाहरु उदाए पनि । तर, ती बाजाहरुको ताल झनै सुमधुर हुँदै आयो ।

गाउँ नै थर्काउने बाजा बजाउँदा पनि कहिलै झर्काे नलाग्ने कला छ परम्परागत बाजाहरुमा । त्यसैले जुनसुकै शुभ कर्ममा बाजाको धूनसँगै काम सुरु गर्ने गरिन्छ । विवाहमा बाजाको धूनसँगै बेहुला सिंगार्ने होस् या त शुभ साइतमा गरिने कुनैपनि कार्यमा शुभसाइत भन्दा केही अघिदेखि नै बाजा बजाउन सुरु गर्ने गरिन्छ ।

दूर्गालाल श्रेष्ठले भनेजस्तै सय थरी बाजामध्ये धेरै बाजाहरु लोप भइसकेका छन् । काठमाडौंको बाजा समूहले बजाउने गरेको तिनिमुनी, पश्चिमी पहाडी भेगका ब्राहृमण र क्षत्रीहरुले बजाउने खैंचडी, काठको बाँसुरी, एकाग्र भई बजाएर भजनमा रोचकता भर्ने करताल, दुई हातले दुबैतर्फ समातेर हल्लाएर तालबद्ध गरेर बजाउने झाल, मुरली, उदयपुरका चौधरीहरुले बजाउने काँसबाट बनेको झाइल, चितवनका चौधरीहरुले सामूहिक नृत्यमा बजाउने डाँफ र ठेकारा, बौद्ध लामाहरुले गुम्बामा बजाउने घ्यालिङ आदि बाजाहरु लोपोन्मुख अवस्थामा छन् ।

बय् होस् या ढ्याङ्रो, बैरागीले बजाउने एकतारे होस् या त गन्धर्वहरुले बजाउने आरबाजा नै किन नहोस् । सयथरी बाजा भनेको नै यी जातजातीको विशेष बाजा भनिएको हुनुपर्छ । धेरै बाजाहरु लोप हुने अवस्थामा पुगेकोले एउटै तालदिने सयथरी बाजाहरु पाउन नै मुस्किल हुने अवस्थामा पुगेको छ ।

प्राचीन कालदेखिको बाजाको क्रेज

प्राचीन कालदेखि नै बाजाप्रति धेरैको मन गढ्ने गरेको थियो । सनातन धर्मका सबै देवताहरु बाजाका सौखिन थिए । केही गर्दापनि प्रकट नभएका महादेव ब्रहृमाको करताल, विष्णुको शंख र महषिर्हरुको बाजाको तालले मात्रै प्रकट भए । द्वापर युगमा श्रीकृष्णले बासुरी बजाएर नै कैयौंलाई आफ्नो बसमा पारे । शिवको डमरु बिना ताण्डव नृत्य पूरा हुँदैन । इन्द्रको मृदङ्ग र सरस्वतीको वीणा बिना उनीहरु नै अपूर्ण छन् । यो नै वैदिक कालमा बाजाको महत्व देखाउने किंवदन्तीहरु हुन् ।

पूर्वप्राचीन समयदेखि नै बाजाप्रेमी छ पूर्वीय समाज र संस्कृति । पञ्चैबाजा र नौमती बाजाले लोकपि्रयता पाउनु अघि नै दूर्गालाल श्रेष्ठले भनेजस्तो सयथरी बाजालाई एउटै तालमा बजाइसकेका छौं हामीले । स्वरुप फरक थियो । धून फरक थियो । तर, प्रयोजन एउटै भयो । सबैले आ-आफ्नो समयमा सक्दो रुपमा मानिसहरुलाई मनोरञ्जन दिए । जब उनीहरुको समय पुग्दै गयो बिस्तारै पुराना बाजाहरुको लोकपि्रयता कम हुँदै गयो र अर्काे बाजाको लोकप्रियता बढ्दै गयो ।

हरेक कुरा समय अनुसार चर्चाको शिखरमा पुग्ने र समय पुगेपछि गुमनाम हुने चलन इतिहासमा धेरै देख्न सकिन्छ । यो केवल मानव समाजको जड बस्तुको मात्रै नभएर मूर्त एवं अमूर्त वस्तुको समेत आरोह अवरोहको चक्र हो ।

केवल पृथ्वीमा उत्पादन हुने भौतिक बस्तु मात्रै होइन मानिसको आस्थाको रुपमा रहेको भगवान् होस्, या त कुनैपनि अन्नबाली, कुनै बाजा गाजा होस् या त भाषा, सबै समय पुगेपछि उचाईमा पुग्ने र समय सकिएपछि फेरि पुरानै धरातलमा आउने गरेको इतिहासले देखाउँछ ।

वैदिककालमा सुपरहिट रहेका भगवान इन्द्र त्यसको ४र५ शताब्दीमा नै सुपरफ्लप भए । कुनैबेलामा सुपरफ्लप भएका भगवानहरु अहिले धेरै मानिसको आस्थाको केन्द्र बने । भारतवर्षमा ३ हजार वर्षअघि सबैभन्दा लोकप्रिय खेती थियो, जौ । अहिले जौ केवल पूजा आजाको लागि मात्रै संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको छ । लिच्छविकालसम्म चरम उत्कर्षमा पुगेको संस्कृति भाषा अहिले कुन स्थितिमा छ रु केवल यी वस्तुमात्रै होइनन् । सबै किसिमका जड बस्तुहरुको आरोह अवरोह निश्चित छ ।

यस्तै श्रृङ्खला बाजागाजामा पनि देख्न सकिन्छ । कुनैबेला धेरै चर्चामा रहेका बाजाहरु अहिले लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समयमा जन्मिएका बाजागाजाहरुले अहिले बजारमा आफ्नो उपस्थिति जनाएका छन् ।

वैदिक कालदेखि नै चलिआएको दुन्दुभि यानी दमनगरा अब लोपोन्मुख अवस्थामा पुगेको छ । यसले लिच्छविकाल र मध्यकालसम्म पनि धेरै राजा महाराजाहरुलाई आनन्द दियो । तर, त्यसबाट आनन्द पाउने समय बितिसकेको छ । यो बाजा आफैंमा लोप हुने अवस्थामा छ । यो एक किसिमको ठूलो नगरा हो । जसलाई गजाले हिर्काएर बजाउने गरिन्छ । अहिले काठमाडौं उपत्यकामा नगरा मुस्किलले देख्न पाइन्छ । ललितपुरले त्यसको महत्व भुलिसक्यो । भक्तपुरले जेनतेन एकजोर नगराको बिउ जोगाएर राखेको छ ।

पञ्चै बाजा र यसको ताल

अहिले आनन्द दिने पालो आएको छ पञ्चै बाजाको । पञ्चै बाजाको उद्भव नेपालको पहाडी भेग एवं भारतको सिक्किम र दार्जिलिङ हो । पञ्चै बाजा नौमती बाजाकै सानो स्वरुप हो । यो बाजा समूह अनुसार दमाहा, झ्याली, ट्याम्को, ढोलक र सहनाई पर्दछन् । यिनीहरुको भिन्दा भिन्दै ताल हुन्छ । त्यस्तै, पञ्चै बाजाकै अलिक ठूलो रुप हो नौमती बाजा । नौमती बाजा नौ जनाको समूहमा मिलेर बजाइने बाजाको एउटा समूह हो । जसमा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन् । जसमा सहनाई र दमाहाका दुई-दुई वटा हुन्छन् ।

दमाहा

पञ्चै बाजाको एउटा तालबाजाको रुपमा रहेको दमाहाको आफ्नो छुट्टै महत्व छ । दमाहा बनाउने बेलामा तामालाई छालाले मोरेर बनाइन्छ र गजाले ठोकेर बजाइन्छ । यो बाजा बजाउनुभन्दा एक दिन अघिदेखि पानीमा भिजाएर राख्नुपर्छ । कसैले यही बाजाबाट नै ढोल र नगरा बनेको समेत उल्लेख गर्ने गरिन्छ । नगरालाई युद्ध र शान्ति दुवैका लागि दुई गजाले बजाएको पाइन्छ । देवी-देवताका मन्दिरमा नगरा बजाउने चलन अझै पनि छ ।

ट्याम्को

ट्याम्को पाँच बाजा समूहको एउटा बाजा हो । यो कम्मरमा बाँधेर दुबै हातले सानो गजोले ठोकेर बजाइन्छ । उत्सवलाई थप आकषिर्त गर्नको लागि सानो र एउटै तालमा बजाइने बाजा हो यो । सहनाईको स्वरबाट सुर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ । खासगरी ट्याम्को र सानो दमाहा एकअर्काका परिपूरक बाजा हुन् । यो करिब सानो दमाहा जस्तै हुन्छ । ट्याम्को केवल पञ्चै बाजा समूहको अंग मात्रै होइन । यसको आफ्नै छुट्टै अस्तित्व पनि हुन्छ । फागू पूणिर्मा जस्ता पर्वहरुमा यसलाई स्वतन्त्र रुपमा बजाउने गरिन्छ ।

झ्याली

कुनै कुरा अरुलाई सुनाउँदै हिँड्दा झ्याली पिट्दै हिँडेकोु मान्ने हाम्रो समाजमा प्रचलन छ । काँसका दुई थाल जस्तै आकारको झ्याम्टालाई आपसमा जुधाएर धून निकाल्ने गरिन्छ । त्यो नै झ्याली हो । यसैगरी सहनाईको सुरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले बिट मार्ने गरिन्छ । यस क्रममा ध्वनि युक्त मीठाससँगै झ्याई-झ्याई गर्दै झ्याम्टा बजाउने गरिन्छ । झ्यालीको लागि काँसको नै सामग्री आवश्यक पर्छ ।

ढोलक

ढोलक एक किसिमको खरी नभएको मादल जस्तै बाजा हो । यो बजाउने बेलामा एकातिर हातले पिटिन्छ भने अर्काे तिर सानो लाठीले ठोकेर बजाइन्छ । यो अरु बाजाहरुको लयलाई ताल छोप्ने र बिट मार्ने कामको लागि महत्वपूर्ण हुने गर्छ । ढोलकको एकापट्टी भित्रबाट खरी लगाइएको हुन्छ । यसलाई हातले कुटेर बजाउनुपर्छ । यो पहाडतिर भजनमा र तराईतिर लोकनृत्य, गीत आदिमा विशेष रूपले बजाइने ढोल-खलकको मझौला खालको तालबाजा हो ।

सहनाई

सनै, सहनाई, सनाई आदि केही नामले चिनिने यो वाद्य-यन्त्र पञ्चै एवं नौमती बाजामध्ये एक प्रमुख बाजा हो । यसमा मुरलीमा झै आठवटा प्वाल हुन्छ । त्यही प्वालमा औंलाको चाल अनुसार धून निकालिन्छ । खासगरी सिल्भर र पित्तलबाट बनाइने सहनाईले आठवटा प्वालको भाका निर्माणबाट छत्तिस राग रागिनी युक्त धूनहरु निकाल्छ ।

नरसिङ्गा

संस्कृत शब्द नरशृंगारको अपभ्रंश भएर बनेको शब्द नरसिङ्गा हरेक नौमती बाजाको साथमा बजाउने गरिन्छ । फुक्ने ठाउँमा सानो तर क्रमश ठूलो हुँदै वा फुक्दै गएको अर्ध चन्द्राकार यो बाजा विशेषगरी विवाहमा बेहुला पक्ष र बेहुली पक्षबीच दोहोरी खेल्नको लागि विशेष प्रयोग गरिन्छ । उनीहरु यो बाजाको धुनबाट नै दोहोरी खेल्ने गर्छन् । तामाबाट बनाइने यो बाजा एउटा भित्र अर्काे राख्न मिल्ने गरी दुई खण्डमा बनाइएको हुन्छ । प्राचीन समयमा राज्यको विजय भइसकेपछि यो बाजा बजाउने गरिन्थ्यो । संस्कृतमा यसलाई तूर्य (तुरही), भेरी (सुषिरवाद्य), रणशृङ्ग र रणसिङ्ग भन्ने गरिन्छ ।

प्राचीन कालका बाजा र संगीत

डमरुको तालबाट सुरु भएको अइउण्, ऋलृक् आदि मन्त्रबाट पाणिनिले व्याकरणको रचना गरे । ब्रहृमाको करताल, विष्णुको शंख र सरस्वतीको वीणाबाट विश्वले संगीतको लय पायो । सामवेदले मन्त्र पायो, भरतमुनिले संगीतको विकास गर्ने आधार पाए । त्यसैको आधारमा नै गुञ्जिन थाल्यो झण्डै २ हजार वर्ष पहिलेदेखि संगीतको व्यवस्थित धून ।

ईसा पूर्व २०० देखि ईसाको २०० सम्मको ४ सय वर्षभित्रै संगीतका विभिन्न आयामहरु आए । यसैबाट शास्त्रीय संगीत उब्जियो । त्यसलाई सहयोग गर्न विभिन्न बाद्य बादनको ताल जन्मियो त्यही तालबाट आनन्दित हुँदै बढ्दै गएको छ पूर्वीय सांगीतिक क्षेत्र । भरतमुनीले संगीत बाद्यलाई ध्वनिका हिसाबले ४ वर्गमा बाँडे । तारको सहयोगमा बजाइने बाजालाई तत् वाद्य भने, हावाको सहयोगमा बज्ने बाजालाई सुषिर भने, ताल बाद्यको रुपमा रहेको बाजालाई अवनद्व बाद्य र ठोस बाद्यको रुपमा रहेको घन बाद्य नामाकरण गरे ।

यसबाट पनि हामीहरुको बाजा बजाउने पद्धति कम्तिमा पनि २ हजार वर्षभन्दा पुरानो भएको कुरालाई निर्धक्कका साथ उल्लेख गर्न सक्छौं । शंखबाट सुरु भएको हाम्रो बाद्य बादनको श्रृङ्खला सांस्कृतिक रुपमा विकास हुन थाल्यो । केवल एउटै बाजाले मात्रै सधैंभरी मनोरञ्जन दिन नसकेपछि नौ वटा तालको नौमती बाजाको सुरुवात भयो । नौमती बजाउन नसक्नेहरुको लागि पञ्चैबाजाको सुरुवात भयो । यसैले नै अहिले बजारमा लोकपि्रयता पाएको छ । नौमती बाजाले दिएको आनन्द पञ्चैबाजाले केही हदसम्म पूरा गर्ने कोसिस गर्‍यो । यसैगरी नै विकास हुँदैछ पूर्वीय लोक बाजाको इतिहास ।

संगठित पञ्चैबाजा

२०६२ सालको आन्दोलनले माहोल तातिरहेको थियो । परिवर्तनको नाममा धेरै संघर्ष पनि चलिरहेको थियो । देशमा तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनको बिरुद्ध आवाज चलिरहेको बेलामा धादिङ खाल्टेका केही युवाहरुको मनमा भने नयाँसोच उदायो र व्यवसायिक रुपमा पञ्चैबाजा संरक्षण समाज गठन गर्ने निर्णय भयो ।

अहिले त्यो बाजा समूहलाई देशका विभिन्न ठाउँबाट बोलाउने गरिएको छ । उनीहरु धादिङको भौगोलिक सीमा भित्र खुम्चिएर बस्नु परेको छैन । यसैगरी संगठित हुँदा धेरै फाइदा हुन्छ भन्ने देखेर ठाउँ ठाउँमा बाजा बजाउने समूहहरु खुलेका छन् । यो बाजा कुनै जाती विशेषको सीमाबाट पनि मुक्त भएको छ । अहिले महायज्ञ, संघ संस्थाहरुले गर्ने र्‍यालीहरु, राजनीतिक दलको महाधिवेशन र विवाहको लागि राष्टि्रय पञ्चैबाजा संरक्षण समाजलाई नै बोलाउने गरिएको छ ।

कूल नौ बाजा मध्ये चार वटा नरसिङ्गा, दुईवटा सहनाई र बाँकी एक-एक बाजा सहित उनीहरु नौ जना बाजा बजाउन ठाउँ ठाउँमा जाने गर्छन् । समाजका अध्यक्ष दिपक खतिवडा नेपालको पहिलो संगठिन पञ्चैबाजा समूह आफूहरुको नै रहेको दाबी गर्छन् । उनका अनुसार समितिले अहिले ठाउँ अनुसार नौ वटा बाजाको २५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म लिने गरेको छ ।

धादिङबाट काठमाडौंसम्म जानको लागि एउटा बिहेको ५० हजार लिने गरेका छन् । सबैतिर जाँदा आउने जाने सबै खर्चहरु बाजा टोलीका सदस्यहरु आफैंले गर्छन् । चितवनसम्म पुग्नको लागि ६० हजार, नवलपरासी पुग्दा ७० हजार लिने गरेका छन् । उनीहरु अहिलेसम्म बाजा बजाउनको लागि सबैभन्दा टाढा गएको लाहानसम्म हो । त्यहाँ पुग्नको लागि उनीहरुले एउटा बिहेको एक लाख रुपैयाँ लिएका थिए ।

सो बाजा समूहमा कार्यरत धेरै कृषि पेशा आबद्ध छन् । कोही बिद्यार्थीहरु पनि छन् । पछिल्लो समय पञ्चैबाजाको सहज पहुँच हुन थालेपछि यसको माग पनि बढिरहेको खतिवडा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?