
२५ मंसिर, काठमाडौं । नेपालमा पर्यटकको खोज तथा उद्दारमा हुने गरेको ठगीबारे पर्दाफास भएपछि गत वर्ष सरकारले कार्यविधि बनायो । कार्यविधि अनुसार पर्यटकको आकस्मिक खोज र उद्धारको विवरण पर्यटन विभागमा अनिवार्य उपलब्ध गराउनु पर्छ । तर यस्तो विवरण उपलब्ध गराउन वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, अस्पताल र अन्य सरोकारवाला उदासिन देखिएका छन् ।
सरोकारवालाले सिजन सकिएको १५ दिनभित्र यसको विवरण विभागमा बुझाउनु पर्ने पर्यटकको खोज, उद्दार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख छ । तर, सन् २०१९ को शरद ऋतुको सेप्टेम्बर, अक्टुवर र नोभेम्बर महिनामा भएका उद्धार र उपचार गरेका पर्यटकको विवरण अझैसम्म पनि विभागमा बुझाइएको छैन ।
विभागले ७ दिनभित्र यस्तो विवरण अनिवार्य बुझाउन सबै सरोकारवालालाई अल्टिमेटम दिएको छ । निर्धारित समयभित्र विवरण पेश नगरे कानूनअनुसार कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।
कार्यविधि अनुसार ट्रेकिङ एजेन्सी, वायुसेवा प्रदायक कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पताल वा स्वास्थ्य संस्थाले आफूले उद्धार गरेका पर्यटकको विवरण विभागमा अनिवार्य बुझाउनै पर्छ । पर्यटकमाथि बिरामी पार्ने षडयन्त्र गर्ने वा पर्यटककै मिलेमतोमा नक्कली उद्दार गरी बीमा रकम दाबी गर्ने धन्दा फस्टाएको खबर सार्वजनिक भएसँगै गत वर्ष सरकारले कार्यविधि बनाएको थियो ।
कार्यविधि अनुसार पर्यटकको उद्धार र खोजबारे भएका गतिविधिको जानकारी सरकारी निकायलाई अनिवार्य गराउनु पर्छ । यस्तो विवरण मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया 4