
२५ मंसिर, वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगी व्यवसायीलाई आत्मकेन्द्रित स्वार्थबाट माथि उठ्न आग्रह गरेका छन् । उनले राष्ट्र र सामुहिक स्वार्थलाई ध्यान नदिँदा उद्योग, व्यापार र आयात निर्यात गर्दामा धेरै समस्या देखिएको बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री भट्टले अब उद्योगी, व्यवसायीको गुनासो नरहने गरी मन्त्रालयले काम गर्ने दाबी गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीका समस्या, गुनासा र मागहरु सुनेका मन्त्री भट्टले सामुहिक हितका लागि आवाज उठाउनुपर्ने बताए ।
‘एक अर्काको खुट्टा तान्ने प्रवृत्ति नेपालीको संस्कृति बनेको छ । आत्मकेन्द्रित स्वार्थमा केन्द्रित हुँदा समस्या पैदा हुन्छ, व्यक्तिगत समस्या उठाउने तथा मेरो व्यापार फलानोको भन्दा राम्रो होस भन्दा कुरा बिग्रिन्छ’ मन्त्री भट्टले भने ‘उद्योग व्यवसायलाई राष्ट्रको र सामुहिक उद्योगी व्यवसायीको स्वार्थमा केन्द्रित गर्नुस् समस्या आउँदैन । अर्काको मृत्युमा होइन, अरुको जीवनमा आफ्नो जीवन देख्नुपर्छ ।’
राष्ट्रहित विपरीतका नियम कानुनलाई परिवर्तन गर्नुपर्ने र त्यसका लागि मन्त्रालय तयार रहेको उनको भनाइ छ । ‘कैयौं उद्योगी व्यवसायी र आयात कर्ताका समस्या देखेका छौं, कानुन व्यवहारमा लागु गर्नका लागि हुन्छ, ती कानुनहरु जनता र राष्ट्रको हितमा हुँदैनन् भने परिवर्तन गर्न बेर लगाउनुहुन्न । हामी त्यसका लागि तयार छौं । सबैले आयात घटाउने निर्यात बढाउनेतर्फ ध्यान दिनुपर्छ ।’
कतिपय सिमेन्ट उद्योगीले गुणस्तर घटाएर सिमेन्ट सस्तोमा बेच्न लागेको बताउँदै मन्त्री भट्टले त्यस्ता उद्योगीलाई जनताले नै कारबाही गर्ने बताए । ‘हिजोको दिनमा ध्वंस गरेका थियौं, अब निर्माणमा लागेका छौं, तपाई हामी सबै निर्माणतिर लाग्नुपर्छ । तर, कतिपय सिमेन्ट उद्योगीहरु क्वालिटी घटाउनेतिर लागेको जानकारी मैले पाएको छु ।’ उनले भने ‘क्वालिटी घटाउँदा बजारमा एकछिन त सस्तो दिनुहोला, तर जनताले थाहा पाउँदा आगो लगाउन आउँछन् । त्यतिबेला राज्यले सुरक्षा दिन सक्छ कि सक्दैन ? कम लागतमा गुणस्तरीय समान बनाउनतर्फ लाग्नुपर्छ ।’
भारतबाट थप बन्दरगाह समेत प्रयोगमा ल्याउन दिने गरी प्रक्रिया अघि बढीसकेको जानकारी मन्त्री भट्टले दिए । ‘कोलकाता, हल्दिया, विशाखापटनम बन्दरगाह महंगो भनिसकेपछि नेपाल भारत व्यापार तथा पारवाहन सन्धिमा केही बुँदा थपेर मुद्रा र धाम्रा पोर्ट हामीलाई दिने भएको छ,’ मन्त्री भट्टले भने, बनारससम्म नेपालको झण्डा फहराउँदै जहाज आउन सक्ने भएको छ ।’
सुख्खा बन्दरगाह देशभरि नै उत्तर दक्षिण दुवैतिर निर्माण गगेर चीन र भारत दुवै देशसँग व्यापार सन्तुलन कायम गर्ने मान्यतामा सरकार अघि बढेको उनको भनाइ छ ।
कर्मचारी तन्त्र पनि रुपान्तरणको चरणमा रहेकाले खिया लागेको उद्योग भन्दा पनि व्यवसायीले अत्याधुनिक उद्योग लगाउनेतर्फ जुट्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उद्योग राज्यमन्त्री मोती दुगडले उद्योगी व्यवसायीले गुनासो गर्ने दिनेको अन्त्य हुने र विकासका बारेमा छलफल गर्ने दिन आउने वीरगञ्जका उद्योगी व्यवसायीलाई आश्वासन दिए ।
‘उद्योगी व्यवसायी समृद्ध नभएसम्म देश समृद्ध हुँदैन, निजी क्षेत्रको मनोबल र ईच्छाशक्ति घटेको छ । उद्योगी व्यवसायीको रक्षा गर्ने, प्रवद्र्धन गर्ने मन्त्रालय हो,’ राज्यमन्त्री दुगडले भने ‘आ–आफ्नो व्यवसाय आफै गर्नुस् भन्ने हैन, एकचोटि उद्योग व्यवसाय सञ्चालन गर्न ईजाजत दिइसकेपछि सम्पन्नतातर्फ लैजाने, आत्म निर्भर बनाउने जिम्मेवारी समेत छ । उर्जा, अर्थ, श्रम, कृषि र वन मन्त्रालय धाइरहनुपर्दैन । वर्क कल्चरलाई परिवर्तन गर्नुपर्छ । ’
उद्योगी व्यवसायीहरु मन्त्रालयको क्लाइन्ट भएकाले घरमा बसेर एप्लाई गर्दा सबै काम हुने गरी सफ्टवेयरको विकास गर्न लागिएको दुगडले बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु गणेश लाठ, अशोक टेमानी, ओमप्रकाश शर्मा, वर्तमान अध्यक्ष गोपाल केडिया, चाचन ग्रुपका बाबुलाल चाचन लगायत चिनी, औषधी उद्योग, सिमेन्ट तथा छड उद्योग, साना तथा मझौला उद्योग लगायत विभिन्न क्षेत्रका प्रतिनिधिले उद्योगी व्यवसायी र आयातकर्ताको समस्याबारे मन्त्रीहरुलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया 4