+
+

लैंगिक हिंसाविरुद्ध प्रदेश स्तरीय कार्ययोजनाका लागि बर्दिबासमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १६:२१

२९ मंसिर, वीरगञ्ज । प्रदेश २ मा हुने लैंगिक हिंसाको वास्तविक तथ्याङ्क संकलन र अध्यावधि गरिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । लैंगिक हिंसा अन्त्यका लागि कार्ययोजना बनाउँदा तथ्याङ्कका आधारमा बनाउनुपर्ने उनीहरुको धारणा छ ।

लैंगिक हिंसाविरुद्ध प्रदेश २ स्तरीय कार्ययोजना निर्माणका लागि आइतबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अन्र्तक्रियामा सहभागी सरोकारवालाले त्यस्तो धारणा राखेका हुन् ।

बर्दिबासमा आयोजित कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाबाट लैंगिक हिंसा अन्त्यका लागि काम गर्दै आएका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी थिए । उनीहरुले बाल विवाह, दाइजो, घरेलु हिंसा, यौन जन्य हिंसा, बहुविवाह लगायत २८ वटा लैंगिक हिंसा पहिचान गर्नुको साथै चुनौती र समाधानका लागि कार्ययोजना तयार पारेका छन् । अन्र्तक्रियामा स्थानीय सरकार, नेपाल प्रहरी, सामाजिक संघ संस्था, नागरिक समाज, सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए ।

सबैका लागि समान शिक्षाको व्यवहारिक कार्यान्वयन सँगै किशोरीलाई अनिवार्य उच्च शिक्षा नीतिगत र व्यवहारिक कार्यान्वयन, विद्यालय शिक्षा ः लैंगिकता र सामाजिक मूल्य मान्यता रुपान्तरण, प्रदेश र पालिका स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन र परिचालन निर्देशिका तयार पार्ने र कार्यान्वयन गर्ने, मिडिया परिचालन तथा फेलोसिप, हिंसा प्रभावितका लागि क्षमता अभिवृद्धि तालिम (कम्प्युटर, अटो रिक्सा चलाउने, कुक, सेफ, सेक्युरिटी गार्ड ), मनोविमर्श सेवा केन्द्र स्थापना र सेवा प्रवाह ( विद्यालय र पालिकामा) गर्नुपर्नेमा जोड दिएका छन् ।

बाल विवाह निरुत्साहनका लागि विवाह पूर्व वडा कार्यालयबाट स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था गर्नुपर्ने, राजनैतिक दल, सामाजिक तथा जातिय÷धार्मिक अगुवाहरुसँग हानीकारक सामाजिक मुल्य मान्यता रुपान्तरणका लागि अन्तरसंवाद कार्यक्रम गरिनुपर्ने, हिंसा प्रभावितका लागि सेवा प्रवाह गर्न कोष, स्थानीय स्तरमा विद्यमान सीपलाई बजारीकरण र आत्मनिर्भर बनाउन उद्यमशिलता विकास लगायतका योजना ल्याउन सुझाव दिएका छन् ।

कार्यक्रममा युनिसेफ जनकपुर क्षेत्रिय कार्यालयका बाल संरक्षण अधिकृत कामदेव खनालले स्थानीय सरकारले लैंगिक हिंसा अन्त्यका लागि काम गर्नुपर्ने बताए ।

‘समुदायको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो, उसले प्रदेश र संघ सरकारसँगको समन्वयमा निरोधात्मक र उपचारात्मक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ खनालले भने, ‘त्यसका लागि सबैभन्दा पहिला लैंगिक हिंसाको वास्तविक तथ्याङ्क हुनुपर्छ, सबैभन्दा ठूलो समस्यालाई पहिला निराकरण गर्दै जानुपर्छ । भने अर्कोतर्फ हिंसाका घटना भइसकेपछि उनीहरुले तत्काल आवश्यक सेवा पाउने वातावरण बन्नुपर्छ ।’

अन्तर्क्रियाको सहजकर्ता इन्दु तुलाधरले प्रदेश र स्थानीय सरकारले सबैभन्दा आवश्यक कानून र कार्यविधि तयार गर्नुपर्ने बताइन् ।

सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख देव कुमारी खत्रीले लैंगिक हिंसा अन्त्यका लागि सामाजिक मन्त्रालय लागि परिरहेको बताइन् । ‘१० वर्षे बाल विवाह अन्त्य रणनीति तयार पार्दैर्छौ, अन्य लैंगिक हिंसा विरुद्ध पनि कामहरु गरिरहेका छौं,’ उनले भनिन्, ‘यो अन्तर्क्रियाबाट आएका सुझावलाई समेटेर लैंगिक हिंसाविरुद्ध प्रदेश स्तरीय कार्ययोजना बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?