+
+

तिलोत्तमामा पोलिथिन साँझ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते ११:५७

२१ पुस, बुटवल । नाम चलेका कलाकारको प्रस्तुति रहने कार्यक्रममा प्रवेश पाउन दर्शकले के गर्नुपर्ला ? पक्कै पनि महंगो दरको टिकट काट्नुपर्छ । तर तिलोत्तमाको मणिग्रामस्थित राममणि क्याम्पसमा आइतबार साँझ फरक दृश्य देखियो ।

लोक दोहोरी र अन्य विधाका चर्चित कलाकारको प्रस्तुति रहेको सांगीतिक कार्यक्रममा प्रवेश पाउन दर्शकले बोरामा पोलिथिन र पोलिथिनजन्य बस्तु बोकेर पुगे । उनीहरुले टिकट काट्नु परेन । त्यही पोलिथिन बोरा नै टिकट मानियो ।

सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी देवी चौधरी, वडा अध्यक्षहरु लगायत सबै जनप्रतिनिधि र अतिथिले बोरामा पोलिथिन देखाएरै गेटबाट प्रवेश पाए ।

पोलिथिनले भरिएको बोरा नलिइ गएकाहरु गेटबाट कार्यक्रमस्थलमा प्रवेश गर्न पाएनन् ।

तिलोत्तमालाई खुल्ला पोलिथिन शून्य नगर बनाउने अभियान अन्तर्गत वातावरणविद् निपेश ढाका नेतृत्वको सीम नेपालले आइतबार साँझ राममणि क्याम्पसमा ‘पोलिथिन साँझ’ आयोजना गरेको थियो ।

जहां लोकदोहोरीका चर्चित गायक पशुपति शर्माले दर्शकको माग अनुसार ‘लुट्न सके लुट’सँगै ‘मलाई अमेरिका यहीँ’,’स्याङजा जाने बाटैमा तनहुँ’ गाएर दर्शकलाई नचाए । राधिका हमालले पशुपतिसँग ‘क्याम्पस पढ्न आउने’,सालैजोलगायत गीत गाएर माहोल तताइन् ।

र्‍यापर निर्णय श्रेष्ठले ‘ह्याप्पी बर्थ डे’ र ‘गाउँले जीवन’ गाएर नयाँ पुस्तालाई उफारे । समता स्कूलका संचालकसमेत रहेका अजयशुशील अधिकारीले ‘भनौं नभनौं’ गाएर दर्शकको मन जित्ने प्रयास गरे ।

रुपन्देहीका प्रचण्ड जीसीले ‘कर्कलाको पानी’ गाए । सबै कलाकारले तिलोत्तमा नगरपालिकाले खुल्ला पोलिथिन शून्य नगर बनाउने अभियान चलाएर राष्ट्रकै लागि अनुकरणीय काम गरेको भन्दै सबैले अनुशरण गर्नुपर्ने आग्रह गरे ।

आयोजक वातावरणविद् निपेश ढाकाले तिलोत्तमालाई माघ अन्तिम हप्ता कम्तीमा २० हजार जनसमुदायमाझ खुल्ला पोलिथिन शून्य नगर घोषणा गर्ने तयारी स्वरुप पोलिथिन साँझ आयोजना गरिएको बताए । ‘यस्तो कार्यक्रम नेपालमै पहिलोपटक गरेका हौं,कार्यक्रमको उद्देश्य देशभर सन्देश दिनु हो,’ ढाकाले भने, ‘हाम्रो लक्ष्य देशलाई नै खुल्ला पोलिथिन शून्य राष्ट्र बनाउनु हो ।’

कार्यक्रममा करिब चार हजार बोरा पोलिथिन संकन भएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

संकलित पोलिथिन तिलोत्तमा ८ मा संचालनमा आएको फोहोर प्रशोधन केन्द्रमा पुर्‍याएर प्रशोधनपछि बिक्री गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?