
२४ पुस, काठमाडौं । ठेक्का पाएको डेढ बर्ष बितिसक्दा पनि काठमाडौंको सोह्रखुट्टेमा पाटी (सत्तल) बनाउने काम अझै सकिएको छैन । सडक विभागले २०७४ असारमा डे आनन्द निर्माण सेवा कम्पनीलाई पाटी निर्माणको जिम्मा दिएको थियो ।
२०७० सालमा सडक विस्तार गर्ने क्रममा भत्काइएको सोह्रखुट्टे पाटी सोह्रखुट्टे वृद्धाश्रमको भवन नजिकैको जग्गामा बनाउन लागिएको छ । ३२ लाख रुपैयाँ लगतको यो पाटीको अझै छाना छाउने, कलात्मक बुट्टा भर्नेलगायतको काम बाँकी छ ।
काठमाडौं महानगरपालिका वडा नं १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सडक विस्तारका क्रममा भत्केको पाटी नबनाउने सोचमा रहेको सडक विभाग र पूरातत्व विभागले आफूहरुको दबाबपछि टेण्डर प्रक्रिया सुरु गरेको बताए ।
ठेकेदारले सत्तल बनाएर सकेपछि वडा कार्यालयले वरपर पर्खाल लगाउनेछ । ठेक्का सम्झौताअनुसार २०७६ फागुनमा निर्माण कम्पनीले काम सक्नुपर्छ ।
‘२० दिनमा बनाएर सकिन्छ’
निर्माण कम्पनी डे आनन्द निर्माण सेवाका निर्देशक आनन्द अधिकारीले अबको २० दिनमा पाटी बनाएर सक्ने बताए । सडक विभाग र पूरातत्व विभागले ठाउँ तोक्न नसक्दा ८ महिना काम गर्न नपाएकाले ढिलाइ भएको उनको भनाइ छ ।
‘विभागले ठाउँ तोकेपछि काम सुरु गर्न खोजेका थियौं, डोजर पनि चलाइसकेका थियौं । पछि ढुगेधारामा बनाउन हुदैन भनेर रोकियो’ उनले भने ।
पटक पटक अवरोध भएपछि निर्माण कम्पनीले वडा कार्यलयमा निवेदन दिएको थियो । पछि वडा कार्यालय, सडक विभाग र पूरातत्व विभागबीचको सहमतिमा पुरानो प्रहरी चौकी भएको ठाउँमा पाटी निर्माण सुरु गरिएको थियो ।
पुरानै ठाउँमा पाटी बनाउन स्थानीयको माग
सोह्रखुटेका स्थानीयले भने अझै पनि पहिलेकै ठाउँमा पाटी बनाउन माग गरेका छन् । पहिले सडक विस्तारका क्रममा पाटी भत्काएपछि त्यहाँ नजिकै बनाउनुपर्ने उनीहरुको माग छ । हाल ट्राफिक प्रहरी वृत्त रहेको ठाउँमा बनाउनुपर्ने स्थानीय किरण महर्जनले बताए ।
उनले भने, ‘यहाँ स्थानीयले अझै पनि विरोध गरिरहेका छन् । पाटी अग्लो ठाउँमा बनाउनुपर्छ र पुरानो ढुंगेधारा पनि ब्युँताउनुपर्छ ।’
प्रतिक्रिया 4