
७ माघ, काठमाडौं । बाचाअनुसार बक्यौता भुक्तानी नगरेपछि सरकारले दुई चिनी उद्योगको सम्पत्ति बेचेर भएपनि उखु किसानलाई रकम दिलाउने भएको छ ।
सर्लाहीका उखु किसानहरु काठमाडौंमा आएर आन्दोलन गरेपछि अन्नपूर्ण चिनी मिलले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माघ ७ को भाका मागेको थियो । त्यसअनुसार सरकारले किसानसँग पाँचबुँदे सहमति गरेर आन्दोलन टुंग्यायो ।
तर, चिनी मिल सञ्चालकलाई धोका दिए ।
बाचाअनुसार उखु किसानको पैसा नदिएपछि सरकारले अन्नपूर्ण इन्दिरा चिनी मिलले नेपाल विद्युत प्राधिकरणबाट पाउन पर्ने रकम रोक्का गर्न पत्रचार गरेको छ । अब यो रकम मन्त्रालयको रोहबरमा मात्र दिन भनिएको छ ।
झण्डै ३७ करोड रुपैयाँ किसानलाई दिन बाँकी रहेको यो मिलले माग ७ गतेसम्म ५ करोड ९० लाख रुपैयाँ मात्र वक्यौता तिरेको मन्त्रालयले जनाएको छ ।
यस्तै श्रीराम चिनी मिलको जग्गा बेचिने भएको छ । यो प्रक्रिया सहज बनाइदिन आग्रह गर्दै उद्योगले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरेको छ ।
श्रीराम मिलले किसानहरुलाई २५ करोड दिन बाँकी छ । मिल सञ्चालकले तालिका नै बनाएर बक्यौता रकम तिर्ने समझदारी गरेको तथा नयाँ उखुको झक्तानी सुरुदेखि नै दिन थालेको पनि मन्त्रालयमा जानकारी गराएको छ ।
महालक्ष्मी चिनी मिलले भने बैंकबाट ऋण स्वीकृत गर्ने प्रक्रिया चलिरहेको भन्दै थप समय मागेको छ । किसानलाई तिर्नु पर्ने २१ करोड वक्यौतामध्ये ११ करोड ५० लाख दिइसकेको छ । बाँकी रमक दिन बैंकबाट ऋण लिन लागिएको छ ।
बागमती र लुम्बिनीको सञ्चालक खोज्न गृहलाई पत्र
यस्तै मन्त्रालयले वाग्मती र लुम्बिनी चिनी मिलका सञ्चालक खोजतलास गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
उखु किसानको बक्यैता तिर्न नआएपछि आवश्यक कारबाही गर्न आग्रह गर्दै मंगलबार गृहमा पत्र पठाइएको मन्त्रालयका सहसचिव ध्रुब घिमिरेले जानकारी दिए ।
नवलपरासीमा रहेको बाग्मती खाडसारी मिलले किसानलाई ६ करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने लुम्बिनीले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिएका छैन । सरकारी स्वमित्वको लुम्बिनी चिनी मिल मनिष अग्रवालले भाडामा सञ्चालन गरेका थिए, उनको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4