+
+

कांग्रेसको शंका- अग्नि सापकोटा अर्को महरा बन्ने त होइनन् !

संसदमा महराको भूमिका सम्झेर विपक्षी नेता सशंकित

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते २०:१७

१२ माघ, काठमाडौं । ‘सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको र सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ’ सभामुख चुन्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद मिनेन्द्र रिजालले भने, ‘हाम्रो निर्णय यति मात्र हो । यो निर्णयमा लेखेको भन्दा घटी पनि होइन, बढी पनि होइन । बाहिर ब्याख्या, विश्लेषण घटीबढी सबै भयो ।’

प्रमुख विपक्षी कांग्रेसले उम्मेदवारी नदिएकै कारण नेकपा सांसद अग्निप्रसाद सापकोटा आइतबार सभामुख पदमा निर्वारोध निर्वाचित भएका छन् । यो पनि यर्थाथ हो ।

त्यसोभए सापकोटालाई कांग्रेसको पनि समर्थन नै हो त ? वा अहिले नै त्यो अर्थमा बुझ्नु हतार हुन्छ ?

पहिला डा. रिजालको सम्बोधनको यो अंश पढौं-

सभामुखको खोजी गर्दा सरकारको जन्म र अवसान संसदबाट हुन्छ भनेर होइन, सरकार संसदप्रति निरन्तर उत्तरदायी हुन्छ भन्ने परम्परालाई बोक्न सक्ने व्यक्ति सभामुख हुनुपर्छ । आज पनि हाम्रो भनाइ त्यही हो । सभामुख बन्नुहुने व्यक्तिले सरकार निरन्तर संसदप्रति उत्तरदायी छ, जनताको सार्वभौम अधिकारको प्रयोग त्यसैगरी हुन्छ भन्ने स्थापित गर्न सक्नुहोस्, सभामुख बन्ने व्यक्तिलाई त्यो शुभकामना दिन्छौं ।

तर, शुभकामना दिँदा दुई कुरा सम्झनुपर्छ ।

पहिलो : यो प्रतिनिधिसभासम्म कसरी आइपुग्यौं, यो इतिहासलाई हामी बिसर्न सक्दैनौं । इतिहास सम्झने हो भने विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लोकतान्त्रिक मुलधारको कुरा यही हलमा गर्नुभएको थियो । उहाँले लोकतान्त्रिक मूलधारको कुरा गर्दा सँगै हस्ताक्षर गर्ने र साक्षी बस्ने नेताहरु पनि यहाँ हुनुहुन्छ । त्यसैले, आज पनि हामी लोकतान्त्रिक मूलधार निर्माण गर्ने अविरल यात्रामा छौं ।

यस सभाका सदस्य माननीय अग्नि सापकोटालाई सभामुख चयन गरियोस् भनेर प्रस्ताव राख्दा लामो लोकतान्त्रिक आन्दोलनमा सँगै हिँडेका व्यक्तिहरुमध्ये कोही अदालतसम्म पुग्नुभएको छ, कोहीले बाहिर आफ्नो आवाजलाई बलियोरुपमा प्रस्तुत गर्नुभएको छ । हामी यहाँसम्म आइपुगेका छौं, सभामुख छान्दैछौं । र, बलिदानीपूर्ण संघर्षको यात्राका कुनै पनि साथीलाई बिर्सन सक्दैनौं ।

एउटा अवाज बलियोसँग आएको छ, भोलिको दिन विधिको शासन चल्छ चल्दैन ? संविधानले भनेअनुसारको बाटोमा देश हिँड्छ हिँड्दैन ? लोकतान्त्रिक स्पेस खुम्चिन्छ खुम्चिन्न ? आशंका छ । त्यसैले होला, सबैभन्दा बलियो र कडा स्वरमा नागरिक समाज र आम नागरिकले शंकाको कुरा गर्नुभएको छ । त्यो बाटो पार लाग्छ कि लाग्दैन ? सापकोटाले त्यो काम पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?

मैले यति भन्नुपर्छ, माननीय सापकोटा अहिले सभामुखका लागि प्रस्तावित व्यक्ति हुनुहुन्छ । सभामुख भइसकेपछि एउटा ठूलो रुपान्तरणको प्रक्रिया सुरु हुन्छ । जसले आशंका गर्नुभएको छ, उहाँहरुको भरोसा जित्न सक्नहुन्छ कि हुन्न ? हाम्रो चासो छ ।

कांग्रेसले आज प्रतिनिधिसभामा उभिएर विपक्षका रुपमा भन्ने हो- तपाईबारे उब्जिएका आशंकालाई भोलि काम गर्ने क्रममा कसरी शान्त पार्दै जानुहुन्छ, त्यो तपाईको परीक्षा हो । त्यो परीक्षामा हाम्रोतर्फबाट सहयोग हुन्छ । यसकारण कि प्रतिनिधिसभा सरकारलाई सदैव उत्तरदायी राख्ने संस्था हो ।

संस्थाको अनुहार वा मुख सभामुखका रुपमा तपाईले काम गर्न थालेपछि हिजोको विगतभन्दा आगत महत्वपूर्ण हुन्छ । त्यो आगतले यी कुरालाई आश्वस्त गर्न सकोस् । मनमा चिन्ता लिएर हिँड्नेहरु, लोकतान्त्रिक बाटोमा कठिनाइ आउला कि ? हिजोको दुई पक्षमध्ये एक वा अर्कोको सोचबाट संसद सञ्चालन होला कि भन्ने चिन्ता गर्नेहरुलाई आश्वस्त गर्ने काम गर्नुहोला । हाम्रो शुभकामना छ । गर्नुहुन्छ, गर्नुहुन्न आउने दिनमा यही ठाउँमा बसेर हेर्छौं । गर्दासम्म तपाईलाई हाम्रो सहयोग रहन्छ । गर्न नसकेको दिनमा हामीले लामो लोकत्रान्त्रिक यात्रामा हिँडेका व्यक्ति र संस्थाहरु सबैसँग उभिन सक्नुपर्छ र त्यो प्रतिवद्धता छ ।

दोस्रो : कांग्रेस आफ्नो कर्तव्यप्रति सचेत छ । सँगसँगै १२ बुँदे समझदारीबाट सुरु भएको यात्राबाट शान्तिलाई स्थायी बनाउन चाहन्छौं । लोकतन्त्रलाई चिरस्थायी बनाउन चाहन्छौं । संविधान चिर स्थायी बनोस् । संविधानभन्दा बाहिरको बाटो कसैले खोज्नु नपरोस् । हामी यो यात्रामा छौं ।

यो यात्रामा सुरु गर्दा हामी सात दलमध्ये एउटा दल थियौं । माननीय अग्नि सापकोटा माओवादी पक्षमा हुनुहुन्थ्यो । हामीले संविधानसम्म पुग्ने कुरा पनि १२ बुँदेको दोस्रो नम्बरमा लेख्यौं- हामी संविधानसभामा पुग्छौं, जनताको सार्वभौम अधिकार प्रत्याभूत हुने संविधान बनाउँछौं, शान्तिलाई स्थायी गर्छौं ।

विस्तृत शान्ति सम्झैतामा हस्ताक्षर गर्दा पनि हाम्रा विचारहरु एक हुन पाइसकेका थिएनन् । तर, त्यसपछि पुनस्र्थापित प्रतिनिधिसभाले बाटो लिँदै गयो । अन्तरिम संविधान बन्यो । संविधानसभाको निर्वाचन भयो । आज हामी एउटा बाटो बनााएर यहाँ आएका छौं । त्यो जिम्मेवारीबाट हामी बाहिर निस्कदैनौं । संक्रमणकालीन न्यायका काम पुरा गर्नुपर्नेछ, त्यो कामबाट कांग्रेस बाहिर निस्कदैन । त्यो काममा हामी साझा बाटोमा छौं ।

हिजो दुई पक्ष हुँदा अग्नि सापकोटा एउटा पक्षमा हुनुहुन्थ्यो । आज हामी सबै मिलेर बनाएको मूलधारको प्रतिनिधिसभाको अनुहार तपाई हो । सभामुखको मुख तपाई हुनुहुन्छ । त्यसैले हिजोको कुन पक्ष होइन, आगतमा सभामुखको अनुहार बन्न सक्नुहोस् ।

रिजालको सम्बोधनको सार हो, प्रमुख विपक्षी कांग्रेसले सभामुख बन्ने पक्का भइसकेका सपकोटालाई शंकासहित निर्विरोध बनाएको छ । र, बल अब सापकोटाकै कोर्टमा छ ।

अर्को महरा बन्ने  त्रास

तर, नेताहरुका अनुसार कांग्रेसलाई यो डर पनि छ कि सभामुखका रुपमा सापकोटा कतै अर्को महरा त बन्दैनन् ? सांस्कृतिक रुपमा हैन, संसदमा खेल्ने भूमिकाका हिसाबमा अर्को महरा ।

तत्कालीन माओवादीका नेता महरा सभामुख बन्दै गर्दा कांग्रेस निकै आशावादी थियो । महरा शान्ति प्रक्रियालाई बुझेको र सबैलाई मिलाएर लैजान सक्ने नेता भएको कांग्रेस नेताहरुको बुझाइ थियो ।

तर, महराको डेढवर्षे कार्यकालमा सभामुख र कांग्रेस पटक-पटक आमने-सामने भए । महरा सभाको अनुहार बन्न नसकेको र ओली सरकारको लाचार छाँया मात्र बनेको गम्भीर आरोप प्रतिपक्षले लगायो ।

अहिले तत्कालीन माओवादीका सापकोटा सभामुख बन्दा कांग्रेसको आशंका छ, सापकोटा पनि अर्को महरा त बन्ने होइनन् ?

कांग्रेसलाई यो आशंकाको एउटा आधार माओवादीको स्कुलिङ हो भने अर्को सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक समीकरण ।

हिजो महरा पनि प्रचण्डकै कोटामा सभामुख बनेका थिए, जसरी अहिले सापकोटा आएका छन् । झन् योपटक सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्रै (ओली र प्रचण्डबीच) ठूलै रस्साकस्सी चलेको थियो । त्यसैले सापकोटाले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले विश्वास जित्ने प्रयास गर्नेछन् र यसो गर्दा महराले झै संसदीय मर्यादा बिर्सेलान् कि भन्ने कांग्रेस नेताहरुमा डर छ ।

विगतमा महराले त्यसै गरेको कांग्रेस नेताहरु बताउँछन् । त्यसको ‘बलियो उदाहरण’ असार ३ गते प्रधानमन्त्री ओलीले सम्बोधन रोक्ने गरी कांग्रेस सांसदहरुले गरेको संसद अवरोधको घटनालाई लिने गरिएको छ ।

प्रधानमन्त्री ओलीले २४ वैशाखमा सदनलाई सम्बोधन गरेका थिए । त्यो दिन सांसदहरुलाई प्रश्न सोध्ने समय दिँदा कांग्रेस नेताहरुले निकै कडा मात्र होइन, व्यक्तिगत प्रश्नसमेत गरे, जसका कारण प्रधानमन्त्री ओली रिसाएका थिए ।

दोस्रोपटक असार ३ मा युरोप भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्न चाहे । कांग्रेस सांसदहरुले भने पहिले विपक्षीले बोलेपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राखे ।

प्रश्न सोध्न दिँदा प्रधानमन्त्री रिसाएको २४ वैशाखको घटनाले तर्सिएका तत्कालीन सभामुख महराले ओलीलाई खुसी पार्न प्रश्न सोध्न दिन चाहेनन् भन्दै कांग्रेस सांसदले रोष्टम घेरे, जसले गर्दा रोष्टममा पुगिसकेका प्रधानमन्त्री ओली सम्बोधन नगरी लज्जित बनेर फर्किनुपर्‍यो ।

त्यसबेला सभामुख महराले कांग्रेसका एक सांसदलाई एक मिनेट मात्र बोल्न दिएर प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिएको भए त्यो दुर्भाग्यपूर्ण अवस्था नआउने कांग्रेस नेताहरु बताउँछन् ।

एक सांसद भन्छन्, ‘हिजो तत्कालीन सभामुख महराले प्रधानमन्त्रीलाई खुसी पार्न खोज्दा संसदको नियम, परम्परा तोड्नुभयो । प्रधानमन्त्रीको पनि विश्वास जित्न सक्नुभएन । अहिले पनि हामीलाई डर छ कि फेरि त्यही अवस्था त दोहोरिने होइन ?’

‘नागरिक समाज र आम नागरिकको शंका’ भन्दै डा. रिजालले उठाएको प्रश्न पनि शायद यहीँनेर हो ।

अझै स्वाभावका हिसावले पनि सापकोटा सभामुखजस्तो पदका लागि उपयुक्त नभएको भन्दै कांग्रेस नेताहरुले यसलाई ‘कमजोर छनोट’ भनेका छन् । सापकोटा विपक्षीप्रति कडा स्वाभावका नेता भएको कांग्रेसको बुझाइ छ । भलै सभामुख सापकोटा आफू हेडसर भएर काम गर्दादेखि शिक्षक संगठनको महासचिव हुँदै पार्टीको प्रवक्ता भएर काम गर्दा ‘समन्वयकारी’ पहिचान बनाएको दाबी गर्छन् ।

विगत र आगतको प्रश्न

कांग्रेस नेताहरुमा सभामुख सापकोटाप्रति आशंकासँगै चिन्ता पनि देखिएको छ, कतै संक्रणकालीन न्याय झन बिथोलिने त होइन ? काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोपमा सापकोटा समेतलाई विपक्षी बनाएर लामाकी पत्नी पूणिर्मायाले प्रहरीमा उजुरी हालेकी छन् । र, यो उजुरीलाई मानवअधिकारकर्मी र अन्तराष्ट्रिय समुदायले पनि माओवादी नेताहरु मुछिएको प्रतिनिधिमूलक घटनाका रुपमा अगाडि ल्याएका छन् ।

त्यसैले भोलि यही विषयलाई देखाएर नेपालको द्वन्द्वकालीन मुद्दालाई थप गिजोल्ने र अन्नराष्ट्रियकरण गर्ने बाटो त बन्ने होइन भन्ने चिन्ता रहेको एक कांग्रेस सांसदले सुनाए ।

शायद, त्यसैतर्फ संकेत गर्दै कांग्रेस सांसद रिजालले सापकोटालाई शुभकामना दिएका हुन्, ‘हिजोको पक्ष होइन, आगतमा सभामुखको अनुहार बन्न सक्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?