
१३ माघ, डोटी । डोटीको केआई सिंह गाउँपालिका-५ कि चित्रा जोशीले दुई वर्षअघि स्थानीय भुवनेश्वरी माबिकाट विद्यालय शिक्षा परीक्षा (एसइई) को परीक्षा दिइन् । उनले सवै विषयमा राम्रै अंक ल्याउने सोचेकी थिइन् तर सोचे जस्तो भएन । गणित विषयमा उनले ‘इ’ ग्रेड मात्रै पाइन् । उनले ग्रेड बृद्धिका लागि फेरि परीक्षा दिनु पर्यो । कूल मिलाएर उनको नतिजा ‘सि+’ मात्रै आयो ।
परीक्षा बिगि्रनुमा उनी मुख्य दोषी छाउपडि प्रथालाई मान्छिन् । ‘महिनावारी भएकै कारण महिनामा चार दिन विद्यालय जान पाइँदैन्थ्यो,’ चित्रा भन्छिन्, ‘एक शैक्षिक सत्रमा ४० दिन त म त्यसैका (महिनावारी) कारण विद्यालय बाहिर रहन्थे ।’
सोही ठाउँकी महेश्वरी जोशी भुवनेश्वरी माध्यामिक विद्यालयमै कक्षा-८ मा पढ्दैछिन् । उनी पनि महिनामा चार दिन महिनावारीकै कारण विद्यालय जाँदिनन् । उनी आफू त जान खोज्छिन् तर अभिभावकहरुले उनलाई विद्यालय जान दिन्नन् । उनले भनिन्, ‘म त जान चाहान्थे तर आमाबुवाले देउताको ठाउँ भन्दै विद्यालय जान दिन्नन् ।’
सोही विद्यालयमा कक्षा १० मा पढ्ने सुना विकको अवस्था पनि उस्तै छ । उनलाई पनि छाउ भएको बेला विद्यालय जान दिन्नन् उनका अभिभावकहरुले ।
कक्षा ९ कि छात्रा देवी शर्माले महिनावारी भएको बेला कसैलाई पनि जानकारी नदिइ विद्यालय जाने सोच बनाइन् । तर, उनले सोचे जस्तो सजिलो थिएन । ‘आमाले भविश्य बिग्रिने डर देखाएपछि उनी आफ्नो सोचलाई सोचमै सिमित गर्न बाध्य भइन् ।
सो विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ४७ छात्राहरुमध्ये २५ जना महिनावारी हुने उमेरका रहेको विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडीसी) नामक संस्थाको अध्ययनले देखाएको छ ।
महिनावारी हुने २५ छात्राहरुमध्ये पाँच मात्रै महिनावारी भएका बेला विद्यालय जाने गरेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ । देवी देउताकै डरका कारण अभिभावकहरुले महिनावारी भएका बेला छोरीलाई विद्यालय नपठाउने गरेको अध्ययनबाट पाईएको संस्थाका डोटी जिल्ला संयोजक मोहन शाही बताउँछन् ।
उनले थपे, ‘मुख्य कुरा जनचेतनाकै कमी हो, देवी देउताको ठाउँमा बिद्यालय भएका कारण देउता रिसाएर छोरीको भविष्य बिगि्रन्छ कि भन्ने डर उहाँहरुमा छ ।’
सो विद्यालयका शिक्षिकाहरु भने नियमित विद्यालय आउने गर्छन् । शिक्षिका गौरी ओझाले भनिन् ‘हामी त नियमित रुपमा विद्यालय आइरहेका छौं, त्यस्तो कुनै अप्ठेरो भएको छैन ।’ आफूहरुले सम्झाउदा पनि छात्राहरुले विद्यालय आउन नमानेको उनी बताउँछिन् ।
देउताको डर छ अभिभावकहरुलाई
अभिभावक सीता जोशीलाई महिनावारी भएको बेला छोरीलाई विद्यालय पठाए देउता रिसाउने डर छ । उनी महिनावारी भएको चार दिनसम्म कुनै पनि हालतमा छोरीलाई बिद्यालय नपठाउने जिद्दि गर्छिन् ।
सीता शिक्षिकाहरुलाई समेत चुनौती दिँदै भन्छिन् ‘यो देउताको थान हो, अहिले केही भएको छैन भनेर हुन्छ ? भविष्यमा पछुताउनु पर्ला,’ उनी एक न एक दिन यसको असर देखिने बताउँछिन् ।
भुवनेश्वरी देवताको थान भएकाले छोरीहरुको जीवन बिग्रिने डरले आफूहरुले विद्यालय नपठाउने गरेको अर्का अभिभावक रेबादेवी जोशी बताउँछिन् । उनी भन्छिन्, ‘कि त विद्यालय अरु ठाउँ सार्नु पर्यो, नत्र भने छोरीको जीवन बर्बाद बनाउनका लागि पठाउन सकिन्न ।’
अभिभावक रत्ना विकको पनि यस्तै कुरा छ । ‘यो हामीले चलाएको चलन होइ्रन, पहिलेदेखि चलिआएको हो’ रत्ना भन्छिन् ‘हामी पढेलेखेका छैनौं, हाम्रा छोरीचेलीहरुलाई केही भईहाल्छ कि भन्ने डर छ, त्यसैले महिनावारी भएका बेला बिद्यालय पठाउन सक्दैनौं ।’
सोही बिद्यालयमा केही दिन अगाडि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलसहितको टोलीले छाउपडी प्रथाबिरुद्ध बृहत कार्यक्रम गरेको थियो ।
कार्यक्रममा कुनै पनि प्रकारको विभेद् गरे कानूनी कारबाही गर्ने चेतावनीसमेत पौडेलले दिएका थिए । तर सुधार भएको भने देखिदैन । सोही विद्यालयमा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीसहितको उपस्थितिमा छाउपडीकै विषयमा एक अर्को छलफल भयो ।
यी दुई छलफलपछि केही सुधार भएको बताउँछन् विद्यालयका शिक्षक घनश्याम भट्ट । उनी भन्छन, ‘पहिलेकै जस्तो छैन अव धेरै सुधार भएको छ । अब छात्राहरु महिनावारी भएका बेला पनि विद्यालय आउन थालेका छन् ।’
तर उनी दाबी गर्न सक्ने अवस्थामा भने देखिएनन् । भन्छन् ‘महिनावारी भएका कारण पेट दुख्ने समस्याले केही छात्राहरु आउँछैनन् ।’
प्रतिक्रिया 4