+
+

स्वास्थ्य मन्त्रालयकाे गम्भीर लापरवाही, विज्ञ भन्छन्– कोरोना संक्रमण फैलन सक्छ

चीनबाट आफूखुसी नेपाल आएका ६० जना कहाँ छन् ?

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ माघ २२ गते ९:४०

विश्वभर कोरोनाको सन्त्रास यति फैलिएको छ कि अन्य देशहरूले आफ्नो देशका नागरिकहरूलाई लगेर क्वारेण्टाइनमा राखिसकेका छन्। विश्व स्वास्थ्य संगठनले चीन उच्च जोखिममा रहेको र नेपाललगायतका देश पनि संक्रमण फैलन सक्ने जनाएको छ ।

यतिबेला स्वास्थ्य सेवा चुस्त र प्रभावकारी भएका देशहरू पनि कोरोनाको संक्रमण होला भनेर डर मानिरहेका छन्। देशमा कोरोनाको महामारी नफैलियोस् भनेर उनीहरुले गरेको पूर्व तयारी आश्चर्यलाग्दो छ। तर, पर्याप्त पूर्व तयारी नहुँदा पनि नेपाल सरकार ढुक्क भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अभिव्यक्तिबाट थाहा हुन्छ।

उनले मंगलबार संसदमा भनेका थिए, ‘चीन सरकार जसरी नाच्छ, त्यही तालमा खु्ट्टा उचाल्नुपर्छ भन्ने कुरामा नेपाल सरकार विश्वास गर्दैन।’

के स्वास्थ्यमन्त्री ढकालले भनेजस्तै नेपाल कोरोना संक्रमणबाट ढुक्क हुनुपर्ने अवस्थामा छ त ?

मन्त्री ढकालले जनताहरुलाई ढुक्क हुनेगरी तयारी पूरा गरेका छन् त ?

सरकारको बोली नसुनीकन कामलाई हेर्ने हो भने ‘छैन’ । आपतकालीन अवस्थामा चाल्नुपर्ने कदम सरकारले चालेकै छैन।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्वनिर्देशक बाबुराम मरासिनी भन्छन्, ‘चीनमा रहेको जनताको विषयमा साच्चिकै संवेदनशील भएको भए सरकारले उनीहरुलाई एक हप्ताअघि नै उद्धार  गर्नुपर्थ्यो।’

विज्ञहरुको कुरा सुन्ने हो भने कोरोना संक्रमण हुन नदिन नेपालले कुनै तयारी नै गरेको छैन। अर्थात्, तयारी गरेजस्तो देखिए पनि सरकार गम्भीर छैन। एक जनस्वास्थ्यविज्ञ भन्छन्, ‘सरकारले कोरोना संक्रमणबाट जोगिन गम्भीर भएर नलागीकन तयारी गरेजस्तो देखाउँदा थुप्रै गम्भीर लापरवाही भएका छन् ।’

उनका अनुसार, सरकारको यस्तो लापरवाहीको सूची लामै छ ।

पछिल्लो लापरवाहीको उदाहरण हो— चीनबाट आफूखुसी फर्किएकाहरूलाई निगरानीमा नराख्नु।

अहिले चीनबाट नेपाल ल्याउन तयारी गरिरहेका नेपालीहरूलाई कोरोना संक्रमण पुष्टि नभएको अवस्थामा मात्र नेपाल ल्याउने भनिएको छ। त्यसैको लागि २ साता छुट्टै क्वारेण्टाइनमा राख्ने ठाउँ खोज्न स्वास्थ्य मन्त्रालय एक सातादेखि दौडधुप गरिरहेको छ। किनकि, विश्व स्वास्थ्य संगठनले ‘चीनबाट फर्किएकाहरूलाई अनिवार्य रूपमा २ साता क्वारेण्टाइनमा राख्नुपर्छ’ भनेर स्पष्ट मापदण्ड बनाएको छ।

‘कोरोना संक्रमणको संक्रमण अविधि २ देखि १४ दिनसम्म हुन्छ, यो बीचमा कोरोना भाइरस जुनसुकै बेला विकसित हुन सक्छ’ भन्दै संगठनले १४ दिन अनिवार्य क्वारेण्टाइनमा राख्ने मापदण्ड बनाएको हो।

प्रश्न स्वाभाविक उठ्छ– संगठनको यस्तो प्रष्ट मापदण्ड हुदाँहुँदै आफूखुसी चीनबाट नेपाल आएकाहरूलाई किन छाडियो ? उनीहरूले अरू मानिसलाई कोरोना संक्रमण गराउँदैनन् भन्ने के ग्यारेण्टी ? चीनबाट फर्किएकाहरूलाई संक्रमणको डर नभएको भए सरकारले ल्याउँदै गरेकालाई किन १४ दिन क्वारेण्टाइनमा राख्नु पर्यो ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठ भन्छन्, ‘उनीहरूलाई कोरोनाको चिह्न र लक्षण नदेखिएकाले क्वारेण्टाइनमा नराखिएको हो।’

उनको यो जवाफले स्वास्थ्य मन्त्रालयको लापरवाही प्रष्ट झल्काउँछ। किनकि, चीनबाट ल्याउन लागिएका नेपालीहरूलाई पनि कोरोनाको संक्रमण भएर ल्याउने होइन । यद्यपि, उनीहरूलाई क्वारेण्टाइनमा राख्ने तयारी भइरहेको छ। तर, आफूखुसी चीनबाट नेपाल आउनेहरु कहाँ के गर्दैछन् ? सरकारलाई पत्तो छैन।

‘उनीहरूलाई क्वारेण्टाइनमा नराख्दैमा केही फरक पर्दैन्, तैपनि उनीहरू कहाँ के गर्दैछन्, हामी खोजी गरेर जानकारी दिन्छौं,’ मामला गम्भीर भए पनि स्वास्थ्य मन्त्रालय सतही जवाफ दिएर पन्छिने गरेको छ ।

कोरोना संक्रमण फैलिएपछि कति जना आए चीनबाट नेपाल ?

एक नेपाली युवक कोरोना संक्रमित भएको ३ साता बितेको छ। ती युवालाई कोरोना संक्रमित भएको पुष्टि नहुँदै डिस्चार्ज दिएर अस्पतालले गम्भीर लापरवाही गरेको थियो।

पछिल्लो समय चीनबाट फर्किएकाहरूलाई लक्षण नदेखिएकै भरमा घर जान दिनु अर्को गम्भीर लापरवाही भएको विज्ञहरू बताउँछन्। जसको परिणाम भयानक हुन सक्ने उनीहरूको तर्क छ। नाम नबताउने सर्तमा एक भाइरोलोजिस्ट भन्छन्, ‘मन्त्रालयले यो अवस्थामा के गर्ने भनेर गम्भीरतापूर्वक नलिएकाले कुनै तयारी नै भएन। सरकारको निर्देशनबिना अस्पतालमात्रैले पनि गर्न नै के सक्छ र ?’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला गएको २ सातामा चीनबाट फर्किएका ६० जनाभन्दा बढी नागरिक सोधपुछका लागि अस्पताल पुगेको बताउँछन्। उनका अनुसार, सरुवा रोग अस्पतालले उनीहरूलाई अस्पतालमै बस्न भनेको थियो, तर लक्षण तथा चिह्नहरू नदेखिएकाले उनीहरू टेकु अस्पतालमा बसेनन्।

बास्तोला भन्छन्, ‘अहिले उनीहरू कहाँ के गर्दैछन् जानकारी नै छैन।’

बास्तोलाका अनुसार, सरकारले चीनबाट फर्किएकाहरूलाई अनिवार्य ‘आइसोलेशनमा बस्न नभनेकाले पनि उनीहरूलाई अस्पताल बस्न बाध्य नपारिएको हो। क्वारेण्टाइनको व्यवस्था भइनसकेकाले पनि ज्वरो तथा रुघा नलागीकन उनीहरू आइशोलेशन वार्डमा बस्न मानेनन्।

‘हामीले चिह्न तथा लक्षण देखिएका १४ जनालाई भने आइसोलेसन वार्डमा राख्यौं र रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्च दियौं,’ बास्तोलाले भने ।

सरकारी लापरवाहीको अर्को उदारण

करिब १ हप्ताअघि सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा एउटा खबर फैलियो, ‘पोखरा आएका २ चिनियाँ नागरिकलाई कोरोना भएको आशंका, मणिपाल अस्पताल रेफर …।’

त्यो खबर सार्वजानिक भएसँगै विश्व स्वास्थ्य संगठनले चासो दियो। तर, विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरू मणिपाल अस्पताल गएर सोध्दा जवाफ पाए, ‘उनीहरुको यहाँ कुनै पनि स्वास्थ्य परीक्षण भएन, कहाँ गए थाहा छैन।’

ती दुई चिनियाँ त्यहाँबाट बेपत्ता भएपछि संगठनले खोजी गर्यो। तर अहिलेसम्म उनीहरू सम्पर्कमा आएका छैनन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सम्पर्कमा नभए पनि उनीहरूलाई कोरोना भाइरस नभएको बताएको छ। तर, उनीहरु कुनै पनि परीक्षण नगरीकन त्यतिकै फर्किएकाले कोरोना थियो या थिएन भन्ने यतिकै भन्न सकिने अवस्था छैन ।

उनीहरु ९ दिनदेखि सम्पर्कबाहिर छन्।

यो विषयमा स्वास्थ्य मन्त्रालय तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी नै छैन। स्वास्थ्य मन्त्रालयका सह– प्रवक्ता सागर दहाल भन्छन्, ‘त्यस्तो कुनै केस रेकर्ड भएमा केन्द्रमा सूचना दिनु भनेका छौं, तर अहिलेसम्म पोखराबाट कुनै जानकारी नै आएको छैन।’

सह–प्रवक्ता दाहालको यो अभिव्यक्तिबाट पनि सरकारले प्रदेशहरुमा राम्रो समन्वय नगरेको बुझ्न सकिन्छ।

सरकारको यस्तै गम्भीर लापरवाही नियालिरहेका विज्ञहरु भन्छन्, ‘यस्तै लापरवाही भइरह्यो भने नेपालमा पनि जुनसुकै बेला संक्रमण फैलिन सक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?