
२० फागुन, जनकपुरधाम । बुबाआमाको मृत्युपछि शवलाई आफैं काँधमा बोकेर घाट लैजाने छोरीहरुको संख्या तराई–मधेसमा बढ्न थालेको छ ।
छोरा नभएका व्यक्तिलाई समेत दाजुभाईको छोराहरुले नै बोकेर घाट लैजाने चलन रहेकोमा पछिल्ला वर्षहरुमा छोरीहरुले बोक्न थालेका छन् ।
गत शनिबार मृत्यु भएका जनकपुरधाम उप–महानगरपालिका– ७ जानकी नगरका ७२ बर्षीय मुखिया साहलाई छोरीहरुले नै बोकेर घाट पुर्याई किरियाकर्म सम्पन्न गरे । वडा नम्बर ७ का अध्यक्ष जानकी राम साहले मुखियाका छोरीहरुले बुबाको शव बोक्ने बिषयमा चार घण्टा सामाजिक बैठक बस्नुपरेको बताए ।
‘दाजुभाई र नातेदारहरुले विरोध गरेका थिए’, उनले भने, ‘अन्त्यमा छोरी पनि छोरा सरहको सन्तान भएको सम्झाएर सामाजिक अनुमति दिने वातावरण बन्यो ।’
त्यसपछि तीन छोरी लक्ष्मीनियादेवी, उजारो देवी, फूलकुमारी देवी र पत्नी शितली देवीले मुखियाको शव काँधमा उठाएर दूधमती खोला पुर्याएको वडा अध्यक्ष साहले बताए । उनका अनुसार, दागबत्ती चाहिँ पत्नी शितलीदेवीले दिइन् ।
जनकपुर– १९ बेंगाशिबपुरका कृष्णा यादव (भोला)लाई बेंगा श्मसान घाटमा नौ बर्षीया छोरी रागिनीले दागबत्ती दिएकी थिइन् । यसअघि गत ७ गते मृत्य भएका धनुषाकै सबैला नगरपालिका–२ का रामनारायण यादवलाई पनि पाँच छोरीले ‘कन्धा’ र श्रीमतीले दागबत्ती दिएकी थिइन् ।
तराई–मधेसमा छोरीले बाबुआमाको शव नबोक्ने र महिलाहरु श्मसानघाटमा नजाने परम्परा थियो । त्यस विपरीत छोरीहरु अगाडि आउनुलाई एकदमै राम्रो मान्नुपर्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गत मैथिली भाषा विभाग प्रमुख रहिसकेका परमेश्वर कापडी बताउँछन् ।
उनी भन्छन्, “यो भने समाजमा महिला सशक्तिकरणको संकेत हो ।’
प्रतिक्रिया 4