Comments Add Comment

गृहमन्त्री बादलका भाइद्वारा कारागारमा सुटुक्क आत्मसमर्पण

२७ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशले सुटुक्क आत्मसमर्पण गरेका छन् । डिल्लीबजार कारागारमा उनले एक साताअघि आत्मसमर्पण गरेको खुलेको हो ।

कारागारका एक अधिकृतले अहिले नरेश कारागारमा रहेको पुष्टि गरेका छन् ।

जिल्ला अदालत, काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न गरेको आदेश उच्च अदालत, पाटनले माघ तेस्रो साता बदर गरेको थियो । त्यसयता उनी फरार थिए, प्रहरीले पनि उनको खोजी गरेको थिएन ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई थुनामा राख्न आदेश गरेको थियो । आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो ।

हाल केन्द्रीय कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेश पक्राउ परेका थिए ।

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जाहेरी दिएपछि ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।

जिल्लाले नरेशविरुद्ध स्पष्ट प्रमाण अभाव भएको भन्दै धरौटीमा छाड्न र अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, शैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो । यद्यपि, उच्चले नरेशलाई मात्र छाड्नुको कारणमाथि टेकेर थुनामा पठाउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment