+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लकडाउनको मारमा पोल्ट्री व्यवसाय, कुखुराको मासुको मूल्य बढ्ने अनुमान

सुवास पण्डित सुवास पण्डित
२०७६ चैत २० गते १६:२७

२० चैत, चितवन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि पोल्ट्री व्यवसाय थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु पनि बन्द भएका छन् ।

व्यवसायीहरुका अनुसार पोल्ट्री क्षेत्रमा दैनिक करिब २५ करोडको घाटा हुने गरेको छ । सबैभन्दा बढी ब्रोइलर कुखुरामा दैनिक झण्डै १६ करोडभन्दा बढीको नोक्सानी छ । त्यसपछि ह्याचरी चल्लामा चार करोड, अण्डामा चार करोड र दाना लगायतका अन्य उत्पादनमा एक करोडभन्दा बढीको दैनिक नोक्सानी भएको छ ।

अहिले अण्डा पार्ने कुखुरा र चल्ला उत्पादन गर्ने कुखुरालाई निकै कम दाना दिएर प्राण मात्रै धानिएको ह्याचरी उद्योग संघका अध्यक्ष टीका पोखरेलले बताए । उनकाअनुसार अरु बेला दैनिक एक सय २० ग्राम दाना खुवाउने कुखुरालाई अहिले ३० ग्राम मात्रै दाना दिइएको छ ।

‘किसानहरुले खोरमा भएको कुखुरा र अण्डा बेच्न सकेका छैनन्, खोर खाली नभएपछि नयाँ चल्ला हाल्ने कुरै आएन’ अध्यक्ष पोखरेलले अनलाइनखबरसँग भने, ‘चल्लाको बिक्री हुन छाडेपछि हामीले एक सातामा झण्डै ४२ लाख चल्ला गाँड्ने गरेका छौं ।’

व्यवसायीहरुकाअनुसार पोल्ट्रीको राजधानी चितवनमा मात्र हरेक साता १५ लाख चल्ला निस्कने गर्छन् । नेपालभर लेर्यस, ब्रोइलर, गिरीराजका गरी ४२ लाख चल्ला हप्तामा निस्कने ह्याचरी संघका अध्यक्ष पोखरेलले बताए । ‘अहिले किसानहरुले ह्याचरीबाट चल्ला निकाल्दै गाँड्दै गरेका छन्’ अध्यक्ष पोखरेलले भने ।

चितवन (नवलपुर, मनहरी हेटौंडा) मा एक सय र नेपालभर तीन सय २४ ह्याचरी छन् । एक सातामा ५० लाख ह्याचिङ अण्डा तयार हुन्छ । यो अण्डा ह्याचिङमा नराखी बजार पठाउन मिल्दैन ।

दाना उद्योगहरु बन्द भएकाले के खुवाउने भन्ने चिन्ताले सताएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए । उनकाअनुसार केही दाना उद्योगले आफूसँग भएको स्टक उधारो नदिने, किसानसँग पैसा नहुने अवस्था छ ।

चितवनमा साना ठूला गरी १५ वटा र नेपालभर एक सय पाँचवटा दाना उद्योग छन् । उनीहरुले भने उत्पादित दाना बजारसम्म लैजान समस्या हुँदै आएको गुनासो गरेका छन् ।

लकडाउनले कुखुरा तथा अण्डाको बजारीकरण तथा वितरणमा पनि असर परेको छ । बजार क्षेत्र र ग्रामीण भेगका केही बाहेक अधिकांश फ्रेस हाउसहरु बन्द छन् । सामान्य अवस्थामा नेपालभर झण्डै १० लाख केजी मासु दैनिक खपत हुने गरेको छ । तर, अहिले मासु र अण्डाको खपत निकै घटेको छ ।

अहिले अण्डा उत्पादन निकै कम परिमाणमा भरहेको व्यवसायीहरु बताउँछन् । किसानहरुले स्वंयले समेत अण्डाहरु खुद्रा पसलमा लैजाने गरेको अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले बताए । ‘होटल, विद्यालय लगायतका धेरै अण्डा सप्लाई हुने ठाउँहरु बन्द हुँदा समस्या भएको छ’ अध्यक्ष केसीले भने ।

लकडाउन खुलेपछि मूल्य बढ्छ

व्यवसायीहरुकाअनुसार लकडाउन खुलेपछि पोल्ट्रीजन्य उत्पादनको भाउ बढ्ने निश्चित जस्तै छ । अहिले बन्द भएका पसल, फ्रेस हाउस सबै खुल्लासाथ माग अधिक हुने तर आपूर्ति सीमित हुँदा मूल्य बढ्ने देखिएको हो ।

अण्डा उत्पादक संघका अध्यक्ष केसीले भन्छन्, ‘किसानलाई चल्लाको भाउ बढ्छ, दानाको पनि मूल्य बढ्छ । यसले गर्दा उपभोक्तालाई मासु र अण्डा महंगो पर्छ ।’ सबैभन्दा बढी भाउ कुखुराको मासुको बढ्ने देखिएको छ । किसानले चल्ला नै नहालेको र कुखुरा तयार हुन ४० देखि ४५ दिन लाग्ने हुँदा अबको डेढ महिना मासुको मूल्य आकाशिन सक्छ ।

अवस्था यस्तै रहे एक डेढ महिनामा कुखुराको मासु प्रतिकेजी पाँच सयभन्दा बढी हुने अनुमान गरिएको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले बताए । अहिले कुखुराको मासु प्रतिकेजी दुई सय ८० हाराहारी छ ।

सरकारले सहज वातावरण बनाउन यो अवधिको बैंकको मिनाहा, किस्ता एक वर्षसम्म सारेर साना किसानलाई केही राहत दिनुपर्ने पोल्ट्री महासंघको माग छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?