
साँच्चै हामी कहाँबाट यहाँ आयौँ होला ? हाम्रा पितापूर्खा कहाँबाट पृथ्वीको यो कुनामा आए होलान्, रस्तीबस्ती बसाए होलान् ?
पश्चिम पहाडको सुगम पनि भन्न नमिल्ने, दुर्गम नै भनिहाल्न पनि नमिल्ने अलि अप्ठयारो अवस्थामा रहेको, खर उम्रने तर प्राकृतिक रूपमा वनस्पति कमै उम्रने काँक्राचिरे भिरहरूको काखैमा मेरो मनोरम, प्रकृतिले सुशोभित गाउँ छ ।
मेरो बाल्यकालमा त ती डाँडाहरूमा भूइँघाँस मात्रै हुन्थ्यो, रूखहरू त्यति हुँदैनथे । तर, त्यस पहाडी भूखण्डको जनघनत्व कम हुँदै जाँदा प्रकृतिले वरदान दिएजस्तो छ, ती डाँडाकाँडाहरूमा पनि रूखहरू बाक्लिन थालेका छन् ।
साँच्चै मानिस भनेको सबैभन्दा ठुलो वातावरणीय विपद् नै हो कि क्या हो, डाइनोसर लगायतका भीमकाय जनावहरहरू लोप हुनुको एकमात्र कारण मानिस मात्रै हो कि क्या हो ? युवाल नोह हरारीहरूलाई पढ्ने हो भने त यस दलीलमा शंका गर्नुपर्ने कुनै कारण देखिँदैन ।
त्यही काँक्राचिरे डाँडाको काखमा रहेको गाउँमा मेरा हजुरबा, हजुरआमाको पालामा बडो दुःख गरी मेरा बुबाआमा लगायतका उहाँका सन्ततिहरूले बडो दुःख गरी बनाएको ढुङ्गामाटाको, लड्नै लागेको पुस्तौनी घर छ ।
निलो, सफा आकाश मुनि बसेको त्यो शान्तिभूमि, मेरो जन्मभूमिमा के छैन ? धेरै कुरा छ, धेरै कुरा छैन पनि ।
सफा वातावरण छ । जताततै हरियाली छ । राति आकाशमा जुन, ताराहरू प्रष्ट देखिन्छन्, दिउँसो आकाशतिर हेर्यो भने जेट स्ट्रिम छर्लङ्गै देखिन्छ ।
मानिसहरूजति सुखको खोजीमा पहाड छाडेर तराई, काठमाण्डौ वा विदेशतिर लाग्दा हरियाली आँगनसम्मै आइपुगेको छ । पहिला–पहिला दाउरा खोज्न, घाँसपात गर्न जंगल जानुपथ्र्यो, टाढाटाढा रहेका खरबारीमा जानुपथ्र्यो, खरका गाँज समात्दै, अनि झरीले भिजेको लेस्याइलो माटोमा लिर्केटी खेल्दै, अब पर्दैन ।
पहिला–पहिला ९–१० कक्षा पढ्न १/२–१ घण्टा उकालो–ओरालो गर्दै विद्यालय जानुपथ्र्यो अब पर्दैन, घरदैलोमै १० कक्षा, प्लस–टु सम्म पढ्न पाइन्छ, । घर पुग्न पहिलाजस्तो घण्टौँ हिँडनुपर्दैन तानसेनदेखि, घरदैलोमै सडक आइपुगेको छ ।
पहिलापहिला पो हरेक घरमा २–४ गाइभैँसी हुन्थे, बाख्राबाख्री हुन्थे, तिनका लागि डाले घाँस झार्नुपथ्र्यो, खर काट्न टाढाटाढा रहेका खरबारीहरू चहार्नुपथ्र्यो, अब त गाइवस्तु पाल्ने घर भेट्टाउनै गाह्रो भइसक्यो ।
अनि तिनै बाख्राबाख्री, पाडापाडी, बाच्छाबाच्छी खान गोठमा चितुवा आउँथ्यो । चितुवाले गाइको त कल्चौँडोमै आक्रमण गरेर ठहरै पार्दो रहेछ, तर भैँसीसँग उसको केही नलाग्ने रहेछ । भैँसीको अगाडि उसलाई घाँस राखिदिएको ठाउँमा किलो ठोकेर पाडापाडी बाँधिदिँदा ती सुरक्षित नै हुँदा रहेछन् । तर, बाच्छाबाच्छीको सुरक्षा त्यसरी हुँदो रहेनछ । गाई नै सुरक्षित नभएपछि कसरी बाच्छाबाच्छी सुरक्षित होलान् त ?
त्यसैले बाच्छाबाच्छी नहुर्कँदासम्म तिनलाई घरको भूइँतलाको एक छेउमा किलो गाडेर बाँध्ने गरेको संझना ताजै छ ।
बाल्यकालका केही वर्षमात्रै जन्मभूमिमा बिताएको यस पंक्तिकारका अगाडि त संझनाका मनोरम पहाडहरू उभिएका छन् भने जीवनको अझ लामो कालखण्ड त्यहाँ बिताएका मेरा बालसखाहरूका कति विशाल अनि कति सुन्दर संझनाका पहाडहरू होलान् ?
म अलि बरालिएको पनि हुन सक्छु । पहाडका बाटाहरूमा हिँडदा यस्तै हुन्थ्यो । एउटै खोला पटकपटक तर्नुपर्थ्यो । जुता–मोजा खोल्यो, हातमा लियो, पाइन्ट अलि माथि सार्यो अनि खोलो तर्यो । जुता–मोजा लगायो, पाइन्ट पूर्ववत अवस्थामा ल्यायो अनि फेरि लेफ्ट राइट । केही समयपछि छाँद हाल्दै तपाइँलाई नै भेट्न आतुर भएजस्तो गरी टुप्लुकिन्थ्यो, तपाइँकै अगाडि उही पहाडी खोलो । एउटा खोलाको साथ छुटेपछि अर्को खोलो आइहाल्थ्यो छाँद हाल्दै ।
यसै गरी भञ्याङ, देउरालीहरू, नेटा, कुइनेटाहरू आउँथे घर आउँदा–जाँदा । धेरै अल्झिनु पनि हुँदैनथ्यो यी ठाउँहरूमा अनि देखेको नदेख्यै गरी हिँडनु पनि त हुँदैनथ्यो । घर छोडदा यात्रा सजिलो होस् भनी देउरालीमा फूलपाती चढाइन्थ्यो । नेटा, कुइनेटाहरूमा घरतर्फ फर्कीफर्की हेर्नु हुँदैनथ्यो, आमाका आँसुले, दिदीका आँसुले, अन्य प्रियजनका आँसुले बाटो छेक्लाजस्तो हुन्थ्यो । निरन्तर हिँडीरहनुपथ्र्यो, हिँडीरहनुपथ्र्यो कालीगण्डकीको तिरैतिर, नत्र बाटोमै झमक्क साँझ परेर कतै बास नपाइने अवस्था आउन सक्थ्यो ।
मूल प्रश्नहरूतिरै फर्कन्छु है त । किशोर वय र युवावस्थामा औपचारिक अध्ययन अनि जागिर खाने क्रममा छुट्टी पाउनेबित्तिकै तोरीलाहुरे पारामा घर हुत्तिएको केही दिनमै ती सुनसान लाग्ने डाँडाकाँडाहरू, भीरपाखाहरू, लाहुरेले बिदा सकिएपछि छाडिगएका, जागिरेले दशैँ बिदा सकिएपछि छाडिगएका सुनसान गाउँबस्तीहरू हुँदै मनमस्तिष्क पिरोल्न आइपुग्ने प्रश्नहरू हुन् यी ।
यी प्रश्नहरूले बिथोल्नुका कारण छन् । हो पहाडहरू कविहरू, गीतकारहरूका लागि कल्पनाका उर्वरभूूमि हुन सक्छन् । तर त्यहाँ पाखुुरा बजाएर जिविकोपार्जन गर्नेहरूका लागि जीवन त्यति सजिलो थिएन, अझै पनि छैन । कृषि अझै पनि निर्वाहमुखी छ, उब्जाउ जमीनको अभाव छ, मोटरबाटा सजिला छैनन्, बजारमा पहुँच सहज छैन, यी र यस्तै कारणहरूले कृषिको व्यवसायीकरण हुन सकेको छैन ।
हुन त यी प्रश्नहरूलाई छेल्नको लागि, मनशान्तिका लागि यसो पनि भन्न सकिन्छ ।
होइन, हामी अन्त कहीँबाट आएकै होइनौँ । हामी त अनन्तकालदेखि, अनादिकालदेखि यहीँ छौँ, हामी त भूमिपुत्र/भूमिपुत्रीहरू पो हौँ ।
तर, त्यसो नहुन पनि त सक्छ ।
हामी जनसंख्यामा वृद्धि हुँदै जाँदा कृषियोग्य जमीनको अभाव भएर, चरनको अभाव भएर, धर्मयुद्धको चपेटामा परेर, गृहयुद्धमा परेर, प्राकृतिक विपदमा परेर, विद्रोहपछिको राज्यसंचालित दमन सहन नसकेर वा महामारीको प्रकोपमा परेर यस पृथ्वीको कुनै भूभागबाट शरण खोज्दै, सुरक्षा खोज्दै, जीवन खोज्दै यस विकट भूखण्डमा आएका पनि त हुन सक्छौँ नि सुुदूर कालखण्डमा ।
अनि यसरी शरण खोज्ने क्रममा, सुरक्षा खोज्ने क्रममा, नयाँ अवसरहरू खोज्ने क्रममा रोगले गाँजेर, भोकतिर्खाले आकुलव्याकुल भएर, भीरबाट लडेर, खोलानदीले बगाएर, लेक लागेर, परचक्रीको आक्रमणमा परेर वा अन्य कुनै कारणले हाम्रा कति आफन्तजनहरूले बाटोमै मृत्युवरण गरे होलान् ? कति बलात्कृत भए होलान्, अंगभंग भए होलान् अनि तिनीहरूलाई एक्लै छाडदै सबलहरू अघि बढे होलान् ?
देखेकै छौँ अहिले पनि हामीले राज्य यस्तै हो, सरकार यस्तै हो, तिनको ताल यस्तै हो । देखेकै छौँ अहिले पनि बेसहारा भइ भोकभोकै कयौँ दिनको बाटो तय गर्ने आँट गर्दै रूँदैरूँदै आफ्नो घरतर्फ लाग्दै गरेको मानवपंक्ति । देखेकै छौँ राज्यको नालायकी, अकर्मण्यता ।
आखिर राज्य भनेको केही हुनेखानेका लागि, पहुँचवालाहरू, नातेदारहरूका लागि मात्र त रहेछ नि, होइन ?
होइन भने यस संकटको घडीमा संवैधानिक पदहरूमा आफन्तहरू, वफादारहरू, प्रियजनहरू नियुुक्ति नगरी नहुने अवस्था किन पर्यो त ? यस घडीमा राज्यको एकमात्र प्राथमिकता त संकटमा परेका आमनागरिकको उद्धार, महामारी नियन्त्रणका लागि युुद्धस्तरमा कार्य हुनुपर्ने होइन र ?
आफन्तजनहरूलाई, आसेपासेहरूलाई, लठैतहरूलाई, प्रियजनहरूलाई पोस्न त संवैधानिक पदहरूमा नै नियुुक्त गर्नुपर्छ र ? यो देश, यो राज्यव्यवस्था त औँलामा गन्न सकिने संख्याका शक्तिशालीहरू र उनीहरूका आफन्तजन र प्रियजनहरूका लागि दुहुनो गाईको रूपमा छँदै छ नि, भरणपोषणको व्यवस्था त आन्तरिक रूपमा मिलाए हुँदैन र लोकलाजकै लागि भए पनि ?
अनि फेरि अहिले नै सुकुुम्बासी आयोगको गठन तथा आयोगका प्रमुुख नियुुक्त गर्न किन हतार गर्नु परेको हो ? छिमेकबाट आउन सक्ने लाखौँ विस्थापित नवनागरिकहरूको गास–बास–कपासको दह्रो व्यवस्था गर्न भव्य तयारी त हुुँदै छैन कतै ?
महामारीले गाँजेको यस समयमा, निरीहजनहरूका लागि राज्य कतै नदेखिएको यस घडीमा म हाम्रा पितापूुर्खाहरूको संकटको घडीमा काम लागेको अनि दुुःखका बेला चटक्कै बिर्सिएको मेरो पहाड घरलाई सझिरहेको छु । अनि भोक तीर्खाले व्याकुुल लामो मानवपंक्तिमा म र मेरा आफन्तजनहरू पनि सामेल हुनुपर्ने त होइन भन्ने चिन्ताले पिरोलिएको छु ।
प्रतिक्रिया 4