
अहिले विश्व नै कोरोना भाइरसबाट सिर्जित महामारीसँग लडिरहेको छ । हामी पनि त्यसैमा संघर्षरत छौं । विश्वका शक्तिशाली र सम्पन्न मुलुकहरुको जुन हालत छ, त्यसको तुलनामा सीमित साधन स्रोतका बाबजुद पनि हाम्रो प्रयास सार्थक नै छ । यसको अर्थ, हामीले गर्न बाँकी केही छैन भन्ने होइन । धेरै गर्न बाँकी छ ।
नेपालमा लकडाउन अवधि एक महिना पुग्नै लाग्दा घर बाहिर रहेका धेरै श्रमिक मजुदरहरुलाई समस्या परिरहेको छ । खास गरी उनिहरुसँग दैनिक काम गर्ने अवस्था पनि नरहेकाले खाद्यान्नको समस्या छ । खाद्यान्नकै मात्र समस्या पनि नहुन सक्छ ।
स्थानीय सरकारहरुले आफनो क्षेत्रमा भएका मजुदर श्रमिकहरुलाई राहत उपलब्ध गराइरहेको छ, भलै त्यो पर्याप्त हुन सकिरहेको छैन होला । तर, केहीमा चाहिँ काठमाण्डौंमा कोठामा बसिरहनु भन्दा बरु गाउँमै रमाइलो छ भन्ने मानसिकताले पनि काम गरेको देखिन्छ । यो अनुमान हैन, हामीसँग सम्पर्कमा आएका व्यक्तिका अनुभव हो ।
अर्को दबाव चाहिँ पेप्सीकोलामा पोजिटिभ केस देखिएपछि पनि ल अब काठमाडौंमा बस्नु हुन्न भन्ने मानसिकताले काम गरेको पाइन्छ । मानिसहरु आफनो घर जानका लागि सयौं किलोमिटरको दुरी कष्टकर पैदल यात्रा गरिरहेका छन् ।
हामी कहाँनिर चुक्यौं ? यसको समीक्षा गर्न जरुरी छ । अहिलेको महामारीबाट बच्न जो जहाँ छ, त्यहीँ बस्नु नै सबै भन्दा उत्तम विधि हो । तर, हामी देखिरहेका छौं, यसो भइरहेको छैन ।
किन मानिसहरुले लकडाउनका कारणले भोकै मर्नुपर्दैन भन्ने सरकारको आश्वासनमा विश्वास गरेनन् ? यो साँच्चिकै समस्या हो कि मनोसामाजिक उतार–चढाव हो ? मानिसहरु आफ्नो घर जानका लागि बालबच्चा, झोलागुण्टा बोकेर कष्टकर यात्राका दृश्यले हामीलाई विक्षिप्त बनाइरहेको छ ।
शहरले गाँस, बासको टुङ्गो नगर्ने, गाउँले आफ्ना टोल, वस्ती, चोकमा रुख ढालेर बाटो थुन्ने अनि शहर छोडेर गाउँका लागि हिँडेका पैदलयात्रु सडकमा अलपत्र पर्नु पर्नेस्थिती दुर्भाग्यपूर्ण हो । यो हाम्रो विपद व्यवस्थापन प्रतिकार्य तयारीको विम्व पनि हो ।
अहिले पनि पहुँच हुनेहरु विभिन्न बाहाना बनाएर गाडीबाटै र पहुँच नहुनेहरु धेरै हिँडेरै शहरबाट गाउँ जाने क्रम छ । यो रोकिनुको सट्टा बढ्दै गइरहेको छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्ययमहरुमा यस विषयलाई लिएर दुईखाले बहस छ ।
एकातिर लकडाउनमा कडाइ नभएको संक्रमण फैलिने खतरा बढेको कोणबाट तर्क भइरहेको छ भने अर्कातिर मानवीय संवेदनामाथि खेलबाड भएको र सरकार संवेदनाहीन बनेको कोणबाट पनि तर्क भइरहेको छ । तर्कका हिसावले हेर्दा असामान्य लाग्दैन, दुवैमा दम छ । तर, तर्क भावनामा केन्द्रित भएर हैन, तथ्यमा उभिएर गरौं ।

हामीले भुल्नै नहुने कुरा लकडाउन गर्नु मात्र महामारीको उपचार हैन । यो केवल महामारीविरुद्ध लड्नका लागि तयारी गर्ने समय मात्र हो । अहिलेसम्म हामीले के तयारी गर्यौंं ? महामारी विरुद्ध केही न केही गर्ने, नयाँ नयाँ काम गर्ने, सबै भन्दा छिटो गर्ने हुटहुटीले धेरै राम्रा पनि भएका छन् । केही हामी सबैले आ–आफ्ना ठाउँबाट गरेका अलग–अलग राम्रा प्रयासलाई सम्भावित महामारी विरुद्ध लड्न सक्ने सामथ्र्यका रुपमा संस्थागत गर्न ढिलाई नगरौं । जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने अनुमानसहित तयारी अवस्थामा रहौं ।
हिजोदेखि घर जान भनेर निस्केका मानिसहरुलाई स्थानीय प्रशासनले अघोषितरुपमा सघाइरहेको छ । कतिपय उच्च तहका व्यक्तिहरु, माननीय सांसदज्युहरु, मन्त्रीज्युहरु नै यसमा अप्रत्यक्षरुपमा संलग्न हुनुहुन्छ । कुनै तयारीविना मानिसहरुलाई गाडी चढाएर गाउँ पठाउँदैमा समस्या समाधान हुँदैन । नीतिगतरुपमा निर्णय नगरी व्यक्तिले गर्ने छिटपुटे प्रयासले दिगो समाधान दिँदैन । यसले अवस्था झन जटिल बन्दैछ ।
सधैंभरि अलपत्र यात्रुको दयनीय अवस्था विरुद्ध लकडाउनको रटानले मात्र समाधान निस्कँदैन । अब बीचको बाटो खोज्नेबेला भइसकेको छ ।
गाउँ फर्किन चाहने व्यक्तिहरुलाई विधिपूर्वक फर्काउन सकिन्छ । तर, जतिसुकै विधिवत ढंगले फर्काए पनि संक्रमणको खतरा शून्य बनाउन सकिँदैन । यो सत्य हो । तर, अहिले अव्यवस्थित ढंगले भइरहेको आवात–जावत भन्दा विधिवत ढंगले, सुरक्षा विधि अवलम्वन गरी फर्काउदा जोखिम कम हुन सक्छ ।
म फेरि पनि दोहोर्याउँछु– सक भर जो जहाँ छ, त्यहीँ रहने कुरालाई प्रोत्साहित गर्नुपर्छ । यसका लागि खाद्यान्न वा आर्थिक सहयोग प्रदान गर्नुपर्दछ । तर, अहिले जसरी पूर्ण पालना गराउन नसकी अघोषितरुपमा बढिरहेको आवत–जावतलाई व्यवस्थित गर्न घोषित लकडाउन अब एक हप्ता मात्र बाँकी रहेका अवधिमा निम्न कार्यहरु गरी शहरमा फसेका जनताको उद्धार गर्न सकिन्छ–
– आफ्नो थातथलोमा फर्कन चाहने नागरिकको विवरण संकलन गर्ने । सम्बन्धित स्थानीय तह, वडा कार्यालयले यसको व्यवस्थित विवरण राख्ने ।
– गाउँ फर्किन चाहनेहरुको विगत एक डेढ महिनाको ट्राभल हिस्ट्री राख्ने ।
– उनीहरुको स्वास्थ्य अवस्था, रुघा, खोकी, ज्वरो आदिको अवस्थाबारे जानकारी राख्ने ।
– सुरक्षित सवारी साधनको व्यवस्थापन गर्ने । खचाखच नहुनी गरी, मास्क पञ्जा, सेनिटाइजरको व्यवस्थासहितको सवारी साधनको प्रयोग गर्ने ।
– निर्धारित स्वास्थ्य परीक्षण पश्चात मात्र यात्रा अनुमति प्रदान गर्ने ।
– घर फर्किएपछि अन्य व्यक्तिसँगको दुरी, परिवारका सदस्यसँगको दुरी, सामाजिक जमघट तथा क्रियाकलापलाई कडाइ साथ निगरानी राख्ने । आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गर्ने ।
– गाउँ फर्किएका व्यक्तिहरुको सम्वन्धित वडाको स्वास्थ्य चौकीमार्फत कम्तिमा २ हप्तासम्म प्रत्येक दिन स्वास्थ्य अवस्थाको रेकर्ड राख्ने ।
– डर, त्रास, चिन्ता, लाञ्छनाजस्ता मनोसामाजिक कठिनाइमा भावनात्मक सहयोग पुर्याउने ।
– समुदायमा हुन सक्ने आरोप, प्रत्यारोप, प्रतिवाद, झगडा हुन नदिने ।
यति गरेर मात्र पुग्दैन । यसरी घर फर्काउन चाहनेलाई फर्काइसके पछि अन्तराष्ट्रिय नाका पूर्णरुपमा सिल गर्नुपर्छ । खास गरी भारतबाट हुन सक्ने आवागमनमा कुनै सम्झौता गर्नुहुँदैन । आन्तरिक आवागमनलाई पूर्णरुपमा बन्देजै गरिनुपछँ । धेरै ठाउँमा टेस्ट किटहरु पुगेका छन् । धेरै भन्दा धेरै परीक्षणमा जोड दिनुपर्छ । त्यसपछि ट्रेसिङ भएका केस क्षेत्रलाई लक गरी अन्य क्षेत्रका दैनिकीलाई सामान्य अवस्थातर्फ लैजानुपर्छ ।
हामी महामारीविरुद्ध एक हुनुपर्ने बेलामा अलपत्र यात्रुका विषयलाई लिएर विवाद गरेर बस्नुभन्दा छिटो समाधानतिर लागेर अर्को तयारीमा जुट्नुपर्छ ।
गाउँ फर्र्किएका व्यक्तिहरुमा संक्रमण देखियो भने हाम्रो दुरदर्शिता माथि प्रश्न उठ्नेछ । यसको लागि हामी तयार हुनु पर्दछ । पैदल हिडेर रातारात मान्छेहरु गाउँ जाँदा संक्रमण नहुने नहुने अनि सक्दो सुरक्षाको प्रबन्ध गरेर गाडीमा लैजादा चाही संक्रमण हुने हैन । संक्रमित व्यक्तिले पैदल यात्रा मार्फत जाँदाको जोखिम झन धेरै गुणा बढी हुन्छ ।
हामी तीनै तहका सरकारहरु आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छौं । हामी भर्खरै मध्य नेपालको भूकम्प, तराई डुवान, बाढी पहिरो जस्ता विपत्ती झेलेर आएका छौं । त्यसका प्रतिकार्य अनुभवहरु यसमा काम नलाग्ने त होइन । तर, पूर्वतयारीको हाम्रो अवस्था भने दयनीय नै थियो ।
डिसेम्वरको अन्त्यमा शुरु भएको महामारीबाट हामी पनि ढिलो–चाँढो प्रभावित हुने नै वाला थियौं । हामीसँग पूर्वतयारीका लागि प्रशस्त समय थियो । त्यो समयको सदुपयोग हामीले कति गर्न सक्यौं या सकेनौं भनेर बहस गर्न सकिन्छ । तर, यसमा अल्मलिने बेला छैन अहिले । हरेक विपत्तिले केही न केही पाठ पढाउँछ । यसबाट पनि सिक्नुपर्छ । सिकौं र अघि बढौं ।
कोभिड–१९ बिरुद्धको औषधी, भ्याक्सिन बनिसकेको छैन । बनिहाले पनि हामी प्राथमिकतामा पर्दैनौं । त्यसैले हामी जोगिनुको विकल्प छैन । विश्वका अन्य राष्ट्रहरुका अनुभवले पनि मानिसहरुको आवागमन जमघटलाई नियन्त्रण नै यसको रोकथामको मूख्य आधार रहेको बताउँछ ।
महामारी फैलिएर उपचारात्मक पद्दति जानु पर्दाको चरणमा हामीलाई धेरै गाह्रो हुन सक्छ । त्यसैले रोकथामकै चरणमा काम गर्नु पर्दछ ।
अन्तराष्ट्रिय उडान, मानिसहरुको भिडभाड र आन्तरिक आवागमन बेलैमा नरोकिएको भए हाम्रो अवस्था पनि भयावह हुन सक्थ्यो । लककडाउनको घोषणा पनि एकदम बोर्डर लाइन आएर भयो । त्यसको केही असर देखिँदैछ । यद्यपि अझै पनि हामी वस्तुगत योजनासहित अघि बढ्यौं भने यो महामारी बिरुद्धको लडाइ हाम्रो पक्षमा हुने छ ।
हरेकपटकका विपदले नयाँ संकट जन्माउँछ । त्यसैले विपद व्यवस्थापन र प्रतिकार्यमा प्रशस्त कमजोरीहरु देखिन्छन् । मात्रा मात्र घटीबढी हो, यो विश्वका राष्ट्रहरु सबैका हकमा लागु हुन्छ । आगलागी भइसकेपछि दमकलमा पानी भर्न निस्कने हाम्रो स्वाभावमा अझै धेरै परिवर्तन आउन बाँकी छ ।
योपटक विश्वमै महामारी भएकाले विकास क्षेत्रमा कार्य गर्ने संघसंस्थाको उपस्थिति असाध्यै न्यून छ । लगभग सरकार र सरकारका संयन्त्रहरु मात्र परिचालित छन् । त्यसैले यस महामारीमा प्राप्त उपलब्धी पनि हाम्रै क्षमताका कारणले हो भने भएका कमजोरी पनि हाम्रै जिम्मामा छ । यसबाट दोष अरुलाई दिएर पन्छिने सुविधामा हामी छैनौं ।
आशा गरौं ! यो संकट पनि एक दिन टरेर जाने छ । हामी पूर्ववत अवस्थामा फर्कनेछौं । हाम्रो दैनिक क्रियाकलापहरु स्वाभाविक अवस्थामा फर्किनेछ ।गाउँमा मानिसहरु फर्किनु संक्रमणको जोखिम मात्र होइन । श्रम, सीप र सिर्जनाको अवसर पनि हो । संक्रमणको जोखिममा सावधानी अपनाऔं । अनि गाउँ फर्किएकाहरुलाई गाउँकै उत्पादन र रोजगारीमा जोड गरौं । हरेक बादलमा चाँदीको घेरा हुन्छ । एकै छिन बादललाई नभुलिकन चाँदीको घेरा पनि हेर्ने कि ?
( सिन्धुपाल्चोककाे जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठ गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष हुन् )
प्रतिक्रिया 4