
१३ वैशाख, काठमाडौं । बढी मोल लिएर खाद्य वस्तु बिक्री गरेको भन्दै बिहीबार ललितपुर इमाडोलको कटुवाल स्टोरलाई वाणिज्य विभागले २ लाख रुपैयाँ जरीवाना गर्यो ।
खरिद मूल्यभन्दा बढी नाफा लिएर नुन, तेल र चामल बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार जरीवाना गरेको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले बताए ।
गत वैशाख ३ गते स्वयम्भूको बुद्ध बजार प्रालिलाई पनि विभागले दुई लाख रुपैयाँ जरीवाना गर्यो । लकडाउनको समयमा उपभोक्तालाई बढी मूल्यमा खाद्य सामाग्री बिक्री गरेको भन्दै उक्त मार्टलाई विभागले कारबाही गरेको थियो ।
तोकिएको भन्दा बढी मूल्यमा उपभोक्तालाई माल वस्तु बिक्री गरेको भन्दै खाद्यान्नदेखि सर्जिकल मास्क, थर्मल गन, आधा सिलिण्डर ग्यास, सेनिटाइजरसम्मका वस्तुहरु बिक्री गर्ने दर्जनौं पसल कारबाहीमा परेका छन् ।
के नै हुन्छ र ?
इमाडोलको कटुवाल स्टोरले एक किलो नुनमा पाँच रुपैयाँ, एक लिटर खाने तेलमा २० रुपैयाँ र एक बोरा चामलमा एकसय रुपैयाँ बढी लिएको भेटिएको विभागले बताएको छ ।
केही समयअघि आधा सिलिण्डर ग्यासको तोकिएको मूल्यभन्दा बढी लिएर बिक्री गरेको पाइएपछि विभागले डल्लुको एक किराना पसललाई पनि दुई लाख जरिवाना गरेको थियो । प्रतिकिलो रु. ६०० बढाएर खसीको मासु बेच्चे शंखमुलको आई कालु मिट सेन्टरलाई पनि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
साना र खुद्रा व्यापारीहरुले लकडाउनको बेला घटेका थोरै ग्राहकबाट धेरै कमाउन चाहेको देखिन्छ । त्यसक्रममा एक किलो नुनबाट पाँच रुपैयाँ बढी तान्न खोज्दा तिर्नु परेको हर्जना भने ६६ हजार किलो नुन बिक्रीबाट हुने नाफा बराबर देखिन्छ ।
एक किलो मासुमा ६०० रुपैयाँ कमाउन खोज्दा आई कालुले तिर्न परेको जरिवाना बराबरको रकम कमाउन उसलाई थप ३३३ किलो मासु बिक्री गर्नु पर्ने छ । त्यस्तै, डल्लुको ग्यास पसलले तिर्न परेको जरिवाना बराबरको रकम जुटाउन अब उसले थप १७ सय ८५ वटा सिलिण्डर ग्यास बिक्री गर्नु पर्नेछ ।
अर्थात्, सानो रकमको लोभमा मूल्य बढाएका व्यापारीहरु आफ्नो क्षमताभन्दा बाहिरको जरिवानामा फसिरहेका छन् । यस्तै सानो नाफाको लोभमा सुलभ अग्रवालले गरेको ज्वरो नाप्ने थर्मल गनको कालोबजारीले शंकर समूहको शाखमा पुर्याएको क्षती त रकममा गणना गर्न पनि मुस्किल पर्छ ।
अनुगमनमा संलग्न वाणिज्य बिभागका अधिकारीहरु साना व्यापारीहरुले परम्परा जस्तै गरी थोरै मूल्य बढाउने गरेको पाइएको बताउँछन् । दुई–चार रुपैयाँ बढेको मूल्यमा नेपाली ग्राहकले खासै प्रतिक्रिया नजनाउने कारण पनि व्यापारीहरु हौसिएको विभागका अनुगमन शाखा प्रमुख मिश्र बताउँछन् ।
‘सरकारले अनुगमन गर्छ भन्नेमा खासै मतलब नगरेका ब्यापारीहरुले ग्राहकले पनि बिरोध नगर्ने भएपछि अलिकति बढी लिँदा केनै पो हुन्छ र भन्ने सोचेको पाइयो’, मिश्र भन्छन्, ‘उनीहरुमा व्यापारीक चेतना नै कम भएको हो कि भन्ने जस्तो देखियो ।’
लकडाउनको एक महिनामा देशभर ८१ पटक अनुगमन गरेर २६ वटा फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बताउँछ ।
मूल्य सूची टाँस नगर्ने, बढी मूल्यमा वस्तु बिक्री गर्ने तथा खरिद बिक्री बील बिजक नराख्ने फर्महरु कारबाहीमा परेको विभागका अनुगमन शाखा प्रमुख मिश्रले बताए । उनका अनुसार, अनुगमनबाट रु.२८ लाख ३० हजार जरिवाना संकलन हुनको साथै दुईवटा फर्मविरुद्ध मुद्दा चलाउने प्रक्रिया थालिएको छ ।
नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठ भने थोक व्यापारीहरुको बदमासीको शिकार ‘सोझा खुद्रा व्यापारी’ भएको बताउँछन् । ‘थोक व्यापारीले एक्कासी मूल्य बढाए, बढेको मूल्यको बिल पनि दिँदैनन्’, उनी भन्छन्, ‘बिल माग्दा सामान नपाइने डर खुद्रा ब्यापारीलाई छ ।’
होलसेलबाट एक्कासी खाद्य वस्तुको मूल्य बढेर आएको असर उपभोक्ता मूल्यमा परेको दाबी उनले गरे ।
प्रतिक्रिया 4