
काठमाडौं । भारतमा प्लाज्मा थेरापीे माध्यमबाट कोरोना भाइरस (कोभिड–१९) को उपचारको परीक्षण सुरु भएको छ ।
नयाँ दिल्लीस्थित म्याक्स अस्पतालको भेन्टिलेटरमा रहेका गम्भीर बिरामीमाथि यो परीक्षण सुरु गरिएको हो । उनमा थेरापीको प्रभाव सकारात्मक देखिएको र उनको स्वास्थ्यमा सुधार आइरहेको इन्डिया टुडेले जनाएको छ ।
अस्पतालका डाक्टरहरू सुरुमा प्लाज्मा थेरापीको परीक्षण गर्ने पक्षमा थिएनन् । तर, एक ४९ वर्षीय व्यक्तिले यो थेरापीको परीक्षणका लागि आग्रह गरेका थिए । उनका बाबुको पनि कोरोना भाइरसको कारण मृत्यु भएको थियो । उनलाई पनि निमोनिया र श्वासप्रश्वासमा कठिनाइ जस्ता समस्या देखिएको थियो ।
म्याक्स हेल्थकेयरका क्लिनिकल निर्देशक डाक्टर सन्दीप बुधिराजा जीवन मृत्युको लडाइँ लडिरहेका बिरामीको परिवारले यो उपचारको लागि आग्रह गर्दा अहिलेसम्म प्रमाणित नभएको यो उपचार पद्धतिको प्रयोग गर्न सकिने बताउँछन् । यद्यपि यो उपचार पद्धतिबाट केही मुलुकमा भने सकारात्मक नतिजा देखिसकेको छ ।

प्लाज्मा मानिसको रगतको एक भाग हो । यसमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने एन्टिबडी हुन्छ । यस्तोमा कोरोना भाइरसबाट निको भएका मानिसको प्लाज्मालाई निकै महत्वपूर्ण मानिएको छ । निको भएका व्यक्तिबाट लिइएको प्लाज्मा यो रोगका गम्भीर बिरामीलाई दिइन्छ । यसमा रहेको एन्टिबडीले बिरामीको रोग प्रतिरोधी क्षमता बढाउने विश्वास लिइएको छ ।
साथै, यो एन्टिबडीको कारण यो रोगसँग बिरामीले यो रोगसँग थप शक्तिका साथमा लड्न सक्छ ।
गत सातासम्म प्लाज्मा थेरापीको कुनै तयारी थिएन । तर, बिरामीको परिवारले प्लाज्मा दिने निको भएका बिरामी खोजेर ल्याए । उनीहरूले कोरोना भाइरसबाट निको भएकी एक महिलालाई ल्याएका थिए । उनी कोभिड–१९ बाट निको भएकी थिइन् भने प्लाज्मा दिनका लागि तयार भएकी थिइन् ।
अप्रिल १४ मा पहिलोपटक भारतमा म्याक्स अस्पतालका चिकित्सकहरूले प्लाज्मा थेरापी प्रयोग गरेका थिए । त्यसको चार दिनपछि बिरामीलाई भेन्टिलेटरबाट सामान्य वार्डमा सारिएको थियो । यद्यपि यसबारे निकै सचेत हुनेपर्ने बुधिराजा बताउँछन् । उनले यो कुनै जादुको गोली नभएको र यसले बिरामीलाई छिटो निको पार्न सघाउ मात्र पु¥याउने भएकाले अन्य उपचार जारी राख्नुपर्ने बताए ।
अहिले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले यसको परीक्षण गरिरहेको छ । अहिले यो परीक्षण दुई सरकारी अस्पतालका पाँच सयभन्दा धेरै मानिसमा सुरु भएको छ । प्लाज्माको उपचार गम्भीर र मोडेरेट बिरामीलाई दिइनेछ ।
पछिल्लो २८ दिनमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएका र दुई पटकको परीक्षणमा नेगेटिभ आएका मानिसहरुले प्लाज्मा दान गर्न सक्ने बताइएको छ । कोरोना भाइरस (कोभिड–१९)बाट निको भएका मानिसहरूलाई प्लाज्मा दान गर्नुभन्दा पहिला परामर्श दिनु जरुरी हुने रेडक्रस इन्डियाले बताएको छ ।
प्लाज्मा थेरापीको इतिहास
जर्मन भौतिकशास्त्री एमिल भोन बेहरिनले पत्ता लगाएको यो पद्धतिको प्रयोग सन् १८९० मा पहिलोपटक गरिएको थियो । सन् २०१४ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इबोला भाइरसको उपचारमा प्लाज्मा थेरापी प्रयोग गर्न सिफारिस गरेको थियो । स्पेनिस फ्लुको उपचारमा पनि प्लाज्मा थेरापीको प्रयोग गरिएको थियो । साथै, सन् २००९ मा फैलिएको एच१एन१ को संक्रमणका लागि पनि प्लाज्मा थेरापीको प्रयोग गरिएको थियो ।
कोभिड–१९ मा प्लाज्मा थेरापी
चीनले कोरोना भाइरस (कोभिड–१९) का बिरामीमा प्लाज्मा थेरापीको परीक्षण गरेको थियो । चीनमा १५ जना बिरामीमा यो थेरापी परीक्षण गरिएको थियो । यो परीक्षणमा उसले सकारात्मक नतिजा आएको बताएको छ ।
यस्तै, बेलायत र अमेरिकाजस्ता मुलुकले प्लाज्मा थेरापीको परीक्षण सुरु गरिसकेका छन् ।
स्रोत : द साउथ चाइना मर्निङ पोस्ट
प्रतिक्रिया 4