+
+

आफ्ना सन्तानलाई कम्पनीको नेतृत्व नदिने सामसुङ मालिकको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १६:०३

प्रायः धनाढ्यहरूले आफ्नो कार्यकालपछि व्यापार तथा व्यवसायको लगाम आफ्ना सन्तानहरूको हातमा छाड्छन् । तर दक्षिण कोरियाली कम्पनी सामसुङका मालिकले भने कम्पनीको आगामी नेतृत्वलाई परिवारवादबाट टाढा राख्ने भएका छन् ।

सामसुङ कम्पनीको नेतृत्व गरिरहेका उपाध्यक्ष ली जे योंगले हालै एक घोषणा गर्दै आगामी दिनमा कम्पनीको नेतृत्व तथा व्यवस्थापनको जिम्मा आफ्ना सन्तानहरूलाई नसुम्पिने बताएका हुन् ।

सामसुङका पूर्वअध्यक्ष ली कून हीका छोरासमेत रहेका अर्बपति ली जे योंगले सिओलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।

मैले मेरो जिम्मेवारी आफ्ना सन्तानमा सार्ने कुनै योजना बनाएको छैन, उनले भनेका छन् ।

आफूले लामो समयदेखि यस्तो विचार गरिरहेको भए पनि सार्वजनिक रूपमा व्यक्त गर्न नसकिरहेको भन्दै उनले विगतमा व्यवसायिक वातावरण प्रतिकूल रहेको तथा आफैं सक्षम नहुँदासम्म नेतृत्व हस्तान्तरणको कुरा गर्नुसमेत अनुपयुक्त हुने ठानेर आफ्नो विचार सार्वजनिक नगरेको उनले बताए ।

सन् २०१४ देखि हृदयाघातका कारण पिता ली कुन ही अस्वस्थ भएसँगै योंगले सामसुङको डि फ्याक्टो प्रमुख बनेर कम्पनी हाँकिरहेका छन् ।

स्मरण रहोस् सामसुङ दक्षिण कोरियाको सबैभन्दा ठूलो उद्योग तथा व्यवसाय कम्पनी हो । सामसुङको व्यवसायले दक्षिण कोरियाको कुल गाह्र्रस्थ उत्पादनमा १५ प्रतिशत हिस्सा ओगटेको छ ।

सामसुङ ग्रुपको सबैभन्दा ठूलो हिस्साको रुपमा रहेको सामसुङ इलेक्ट्रोनिक्स विश्वको नम्बर एक स्मार्टफोन निर्माता हो भने मेमोरी चिप्स तथा डिस्प्ले स्क्रिनको बजारमा समेत अग्रणी रहेको छ ।

लीको जेल यात्रा

सामसुङ उपाध्यक्ष ली सन् २०१७ मा जेल परेका थिए । उनीमाथि कम्पनीको नेतृत्व हत्याउन घुस खुवाएको तथा दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेउन हेको सरकार गिराउने षडयन्त्र गरेको आरोप लागेको थियो । उनीविरुद्ध अदालतमा चलेको मुद्दालाई शताब्दीकै सबैभन्दा चर्चित सुनुवाइ अर्थात् ट्रायल अफ दी सेन्चुरी भनिन्छ ।

हालैको पत्रकार सम्मेलनमा लीले कम्पनीको नेतृत्व गर्ने क्रममा आफूबाट भएका कमी कमजोरीप्रति माफीसमेत मागेका छन् । साथै उनले समाजका अपेक्षाहरू समयमै पूरा गर्नका लागि कम्पनी असमर्थ भएको समेत स्वीकारेका छन् ।

सामसुङ कम्पनीमा श्रमिक युनियन खोल्ने विषयमा भएको विवाद तथा आफ्नै फौजदारी अभियोगलगायतका विषयमा बोल्दै उनले त्यस विषयमा आफ्नो गल्ती भएको भन्दै माफी मागेका हुन् ।

यद्यपि,सामसुङ उपाध्यक्षको पछिल्लो भनाइ स्वतःस्फुर्त आएको भने होइन । सामसुङको एक स्वतन्त्र छानबिन समितिले नेतृत्व तथा श्रमसम्बन्धका विषयमा भएका कमजोरीप्रति सार्वजनिक रूपमा माफी माग्न सुझाव दिएसँगै लीले पत्रकार सम्मेलन गरेर माफी मागेका हुन् ।

सन् २०१८ मा जेलमुक्त भएका लीको मुद्दा काण्डले दक्षिण कोरियाको राजनीतिमा ठूलो हलचल ल्याइदिएको थियो । सोही कारणले राष्ट्रपति पार्कको सरकारसमेत ढलेको थियो ।

यद्यपि, गत अगष्टमा दक्षिण कोरियाको सर्वोच्च अदालतले उक्त मुद्दाको पुनः सुनुवाइ गर्न आदेश दिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?