
२४ असार, काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् ।
३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लागेका हुन् ।
ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नेछन् । थापालाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ ।
प्रहरीका एक जना एसएसपीका अनुसार महानिरीक्षक ज्ञवालीको विदाइका लागि बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम राखिएको छ । जहाँ विभागका अधिकृतहरु उपस्थित हुनेछन् ।
नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबार राखिएको छ । त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिनेछ ।
याे पनि पढ्नुस्
प्रहरी संगठनप्रति गुमेको विश्वास फर्काउने चुनौति
ज्ञवालीको कार्यकाल औसत
सरकारले हालका आईजीपी ज्ञवालीलाई २८ माघ २०७६ मा नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो । महानिरीक्षकमा बढुवा हुुन अघि उनी संगठन बाहिर त्यति चिनिएका अधिकृत होइनन् ।
यद्यपि, संगठनभित्र भने इमान्दार र निष्कलंकित अधिकृतका रुपमा परिचित थिए । उनले जिम्मेवारी सम्हालेलगत्तै कञ्चनपुरको निर्मला हत्या प्रकरणको रहस्य सुल्झाउनु आफ्नो प्रमुख उद्देश्य हुने बताएका थिए ।
चर्चित निर्मला पन्त हत्या प्रकरणका बेला केन्द्रीय अनुसन्धान ब्युरोमा रहेर छानविनमा संलग्न भएका कारण पनि उनका पालामा अनुसन्धानले गति लिने अपेक्षा गरिएको थियो । तर, ज्ञवालीले त्यता ध्यान दिएनन् ।
नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भने यसमा उनलाई दोष दिने ठाउँ पनि नभएको बताउँछन् । ‘पहिलो कुरा उहाँको कार्यकाल नै छोटो थियो, दोस्रो कोरोना भाइरसका कारण पनि उहाँले अन्यत्र ध्यान दिन पाउनुभएन’, मल्लले अनलाइनखबरसँग भने, ‘महामारीमा केन्द्रित भएकाले उनको राम्रोसँग मूल्यांकन हुनै पाएन ।’
प्रहरीको सरुवा–बढुवामा चरम् राजनीतिक हस्तक्षेप हुने गरेको अधिकृतहरु बताउँछन् । ज्ञवालीले सरुवाती चरणमा बढुवामा ‘स्ट्याण्ड’ लिएको भन्दै चर्चा भएको थियो । तर, पछिल्लो पटक ज्ञवालीमाथि बालुवाटार र गृह मन्त्रालय हाबी भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।
मल्ल भने केही गुनासा भए पनि विगतका तुलनामा ती औसत रहेको बताउँछन् । डीआईजीको दरबन्दी घटाउने विषयमा ज्ञवाली र गृह सचिव महेश्वर न्यौपानेबीच मतभेद देखियो । जसमा ज्ञवालीले दरबन्दी कटौती गर्नु नहुने पक्षमा स्ट्याण्ड लिएको चर्चा गरिएको थियो ।
यद्यपि, दरबन्दी कटौतीपछि मात्रै २९ चैतमा १० जना एसएसपीको डीआईजीमा बढुवा भएको थियो । ज्ञवालीको कार्यकालमा प्रहरीले खोजी सूचीमा राखेको लिटल बुद्ध भनिने रामबहादुर बम्जनविरुद्ध पनि सर्च अपरेशन चलायो । यद्यपि, उनी फेला परेनन् ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘समग्रमा आईजी सा’बको कार्यकालमा कुनै उल्लेखनीय काम पनि हुनसकेन । विवादमा आउने खाल्को काम पनि भएन ।’
प्रतिक्रिया 4