
३ महिना लामो लकडाउनको समयमा नेपाली दर्शकले विश्वभरका चलचित्रको स्वाद लिने मौका पाए । विभिन्न डिजिटल प्लेटफर्ममा दर्शकले विश्वभर बनिरहेका नयाँ नयाँ शैलीका चलचित्रमा आफूलाई भिजाए । यसैले, पनि अब दर्शकको चलचित्रप्रतिको स्वाद बदलिएको छ भन्ने टिप्पणी चलचित्र बजारमा हुन थालेको छ ।
नेपाली चलचित्रका मेकरहरु पनि अब दर्शकलाई पुरानै शैलीका कथा पस्किएर सफलता पाउन नसक्नेमा सजग छन् । यसैले, लकडाउनको समयमा उनीहरुले कथामा नयाँ बिषय खोज्ने प्रयास गरे ।
‘छक्का पन्जा ४’कै कथामा व्यस्त दीपक
निर्माता तथा लेखक दीपकराज गिरीले लकडाउनको समयमा चलचित्र ‘छक्का पन्जा ४’को कथा लेखनमै आफूलाई व्यस्त बनाए । दीपक भन्छन्–‘छक्का पन्जा ४ को कथा अगाडिको भन्दा फरक छ । यसको छायांकनका लागि पनि एक बर्ष लाग्छ । करिब ३ करोडको बजेटमा यो चलचित्र बन्नेछ ।’
दीपकका अनुसार, उनले लकडाउनको समयमा २ वटा बाहिरी ब्यानरका चलचित्रका कथा पनि सुनेका छन् । उनका अनुसार, ‘छक्का पन्जा ४’ अगाडि उनी बाहिरी ब्यानरको चलचित्रमा काम गर्नेछन् ।
कथामा नयाँपन खोज्नुभयो त भन्नु प्रश्नमा दीपकले भने–‘लकडाउन नभएको भएपनि हामीले अब चलचित्रमा नयाँ बिषय भन्नुपर्ने थियो । हामीले लामो समय एउटै शैलीका कथा भनेका छौं । अब, दर्शकलाई झुक्याएर राख्न मिल्दैन । यसैले, आफ्नोपन बोक्ने कथा भन्न आवश्यक छ ।’
नयाँ कथा भन्न जहिले सजग छुः प्रदिप भट्टराई
चलचित्र ‘जात्रा, शत्रु गते र जात्रै जात्रा’का निर्देशक प्रदिप भट्टराइले लकडाउनको समयमा चलचित्र लेखनका लागि खासै समय छुट्याएनन् । लकडाउन अगाडि नै उनले मह जोडीको साथमा काम गर्न लागेको चलचित्रको कथा फाइनल गरेका थिए । लकडाउनको केही समय उनले यही कथालाई अझै धेरै पटक पढे । प्रदिप भन्छन्–‘हाम्रो टिमले चलचित्रको कथामा नयाँपन भन्नका लागि सधै प्रयास गरेको छ । अब, दर्शकको स्वाद फेरिएकाले हामीसँग ठूलो चुनौती थपिएको छ । यसैले, यो कुरामा म सजग छु ।’
प्रदिपले मह जोडीसँग काम गर्ने चलचित्रको छायांकन फागुणबाट सुरु गर्न सकिने बताए । तर, यो बिचमा एउटा कथा लेख्ने र २ वटा चलचित्र एकसाथ निर्देशन गर्ने उनको तयारी छ ।
स्क्रिप्ट अनुसार फिल्म नै बन्दैनः प्रदिप भारद्धाज
चलचित्र लेखक प्रदिप भारद्धाजले लकडाउनको समयमा ४ वटा प्रोजेक्टको काम सके । उनले चलचित्र ‘पारस’को कथा लेखेर सकेको बताए । साथै, चलचित्र ‘झ्यानकुटी २’को स्क्रिप्ट पनि लेखेको उनले सुनाए । साथै, एउटा लभ स्टोरी चलचित्र र ‘आधा खुशी’ नामक सिरियलको ५० एपिसोड लेखेर सकेको प्रदिपले बताए ।
भारद्धाज भन्छन्–‘मैले डिजिटल प्लेटफर्म आउनु अगाडि नै कथा भन्ने शैली परिवर्तन गर्छु भन्दै आएको हुँ । तर, यहाँ लेखेको कथामा चलचित्र नै बन्दैन । कुनै निर्देशकले मैले लेखेको कथालाई ५० प्रतिशत मात्र पर्दामा उतार्नुभयो भने मलाई खुशी लाग्छ । यसैले यस्तो बहस गर्नु बेकार छ ।’
सरकारले छायांकनका लागि अनुमती दिएसँगै दर्जन बढी चलचित्रका निर्माताले छायांकन सुरु गर्ने तयारी गरेका छन् । तर, दर्शकले चलचित्रको स्वादमा नयाँपन खोज्न थालेकाले मेकरले पनि अब पुरानै शैली अपनाएर भने हुँदैन । यी कुरामा ध्यान नदिने हो भने, नेपाली चलचित्रले फड्को मार्ने अपेक्षा बेकार हुनेछ ।
प्रतिक्रिया 4