+
+

प्रणव मुखर्जी : जीवनभर रह्यो प्रधानमन्त्री बन्न नपाउँदाको दुःख

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते २३:१६

सन् १९८४ को अक्टोबर ३१ मा कोलकाताबाट दिल्ली जाने एयर इन्डियाको बोइङ ७३७  विमानमा राजीव गान्धी, प्रणव मुखर्जी, शीला दीक्षित, उमाशंकर दीक्षित, बलराम जाखड, लोक सभाका महासचिव सुभाष काश्यप र एबीएगनी खाँ सवार थिए । साढे दुई बजे विमानको ककपिटबाट बाहिर निस्किएर राजीव गान्धीले इन्दिरा गान्धीको मृत्यु भएको घोषणा गरे । त्यसको केही समयमा नै अब के गर्ने भन्ने चर्चा चल्न सुरु भयो ।

प्रणव मुखर्जीले आफ्नो कुरा राख्दै भने, ‘नेहरुको पालामा यस्तो परिस्थितिमा अन्तरिम प्रधानमन्त्रीलाई नै शपथ दिने परम्परा थियो । नेहरुको देहावसानपछि मन्त्रिपरिषद्मा सबैभन्दा वरिष्ठ गुलजारी लाल नन्दालाई अन्तरिक प्रधानमन्त्रीको रूपमा चयन गरिएको थियो ।’

भारतका चर्चित पत्रकार रशिद किदवाईले आफ्नो किताब ‘२४ अकबर रोड’मा लेखेका छन् – इन्दिरा गान्धीको मृत्युपछि दुःखी भएर प्रणव मुखर्जी ट्वाइलेटमा गएर रुन थाले । उनको आँखा रातो भएको थियो । त्यसैले उनी विमानको पछाडिको भागमा गएर बसे । तर उनका विरोधीहरूले उनको यस किसिमको व्यवहारलाई राजीव गान्धीविरुद्धको षड्यन्त्रको रूपमा अथ्र्याए । त्यस्तै, राजीव गान्धीले प्रधानमन्त्रीको निधनपछि हुने प्रक्रियाको विषयमा सोध्दा प्रणव मुखर्जीले ‘वरिष्ठता’मा जोड दिए । उनको यो भनाइलाई पनि त्यसपछि आफ्नो पालो कुरेको अर्थमा हेरियो ।

यद्यपि इन्दिरा गान्धीको प्रधान सचिवको रूपमा रहेका पीसी अलेक्जेन्डरले आफ्नो आत्मकथा ‘थ्रु द कोरिडोर्स अफ पावर ः एन इनसाइडर्स स्टोरी’मा स्पष्ट रूपमा राजीव गान्धीलाई प्रधानमन्त्री पदको शपथ दिलाउने कुरा आउँदा त्यसलाई जोडदार रूपमा समर्थन गर्ने पहिलो व्यक्ति प्रणव मुखर्जी थिए भन्ने उल्लेख गरिएको छ । तर त्यतिबेलासम्म क्षति भइसकेको थियो । निर्वाचन जितेपछि राजीव गान्धीले आफ्नो मन्त्रिमण्डल बनाए, त्यसमा प्रणव मुखर्जीलाई कुनै पद दिइएन । साथै, उनलाई कांग्रेस कार्यसमितिमा पनि कुनै स्थान दिइएको थिएन । उनले सन् १९९६ मा पार्टी छाडेर एक छुट्टै पार्टी स्थापना गरे र त्यसको नाम राष्ट्रिय समाजवादी कांग्रेस राखे ।

प्रणव वरिष्ठ हुँदाहुँदै पनि सोनियाले मनमोहनलाई छानिन्

प्रणव मुखर्जीले दोस्रोपटक पनि प्रधानमन्त्री बन्ने मौका गुमाए । सोनिया गान्धी आफू प्रधानमन्त्री बन्न नसक्ने भएपछि उनले प्रधानमन्त्री पद दोस्रो वरीयतामा रहेका प्रणव मुखर्जीलाई नदिई मनमोहन सिंहलाई दिने निर्णय गरिन् ।

मनमोहन सिंहलाई इन्दिरा गान्धीको पालामा भारतको केन्द्रीय बैङ्कको गभर्नरको नियुक्तिपत्रमा प्रणव मुखर्जीले नै हस्ताक्षर गरेका थिए । प्रणव मुखर्जीले कुनै समयमा आफ्नो अधीनमा रहेर काम गर्ने मानिसलाई प्रधानमन्त्री बनाइएकोमा कहिल्यै पनि सार्वजनिक रूपमा विरोध गरेनन् ।

उनलाई आफ्नो केही कमजोरी थाहा थियो । उनले आफ्नो भाषणको क्रममा आफूले आफ्नो राजनीतिक करियरको ठूलो हिस्सा राज्य सभामा बिताएको बताएका थिए । उनलाई हिन्दी राम्रोसँग बोल्न समस्या हुन्थ्यो । त्यतिमात्र होइन, उनले आफ्नो गृहराज्यमा कहिल्यै पनि कांग्रेसलाई जिताउन सकेनन् । पछि उनले आफ्ना साथीहरूसँग ठट्टा गर्दै भन्थे– प्रधानमन्त्री त आउने जाने भइरहन्छ तर म सधैं पीएम (प्रणव मुखर्जी) नै रहन्छु ।’

उनले आफ्नो ५० वर्षको राजनीतिक करियरमा प्रधानमन्त्रीबाहेक सबै महत्वपूर्ण पदमा बसेर काम गरेका थिए ।

इन्दिरा गान्धीले बनाइन् आफ्नो उत्तराधिकारी

प्रणवको बौद्धिकस्तर र उनको योग्यतालाई आधार मान्दै इन्दिरा गान्धीले आफ्नो अनुपस्थितिमा मन्त्रिमण्डलको बैठकको अध्यक्षता प्रणव मुखर्जीले गर्ने आदेश दिएकी थिइन् । यद्यपि, इन्दिरा गान्धीले पनि पछि महत्वपूर्ण मौकामा भने प्रणव मुखर्जीलाई पाखा लगाउने काम गरिन् । तर त्यसको दुई वर्षपछि सन् १९८९ मा प्रणव मुखर्जीको राजीव गान्धीसँग पुनर्मिलन भयो । सन् १९९५ मा उनलाई नरसिंहा रावले विदेशमन्त्रीको रूपमा साउथ ब्लकको इन्चार्ज बनाएका थिए । तर एक सामान्य बंगाली कलेजमा अर्थशास्त्र पढाउने यी व्यक्तिको लागि वित्तीय मामिला सधैंको लागि प्यारो विषय रह्यो ।

‘युरोमनी’ पत्रिकाले उनलाई विश्वको उत्कृष्ट वित्तमन्त्रीको सूचीमा राखेको थियो । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सबैभन्दा धेरै ऋण लिन सफल भएका थिए । तर महत्वपूर्ण सफलता त्यतिबेला मिल्यो उनले ऋणको एक तिहाइ ऋण प्रयोग नगरीकन नै आईएमएफलाई फिर्ता गरिदिएका थिए ।

प्रणव मुखर्जीको वित्तीय प्रबन्धनको तारिफ रोनाल्ड रेगनको पालनामा अर्थमन्त्री बनेका डोनाल्ड रेगनले पनि गरेका थिए । सिंगापुरका प्रधानमन्त्री लि क्वान यू पनि मुखर्जीसँग प्रभावित भएका थिए । तर उनको प्रशंसाले उनलाई सत्तामा रहेका अन्य मानिसहरूभन्दा टाढा लग्यो ।

इन्दिरा गान्धीले भने मुखर्जीको तारिफ गर्ने गर्थिन् । एकपटक मुखर्जीको १३५ मिनेटको बजेट भाषणपछि इन्दिरा गान्धीले ठट्टा गर्दै भनेकी थिइन्– विश्वको सबैभन्दा छोटो कदका अर्थमन्त्रीले सबैभन्दा लामो बजेट भाषण दिए । (प्रणव मुखर्जीको उचाइ पाँच फिट आसपासको थियो ।)

सानैदेखि पढ्ने लेख्ने सोख

प्रणव मुखर्जीलाई सधैं पढ्ने÷लेख्ने सोख थियो । उनको निजी लाइब्रेरीमा आत्मकथादेखि लिएर दर्शन, इतिहास र अर्थशास्त्रका सयौं किताब थिए । एकपटक उनले गरेको टिप्पणी ‘एसिया माइनस इन्डिया इज लाइक हेमलेट विदआउट डेनमार्क’बाट पनि उनले अंग्रेजी साहित्यको ज्ञान कति थियो भन्ने बुझ्न सकिन्छ ।

आफ्नो जीवनको सुरुवातदेखि नै उनले आफ्ना पिताको एउटा बानी अपनाएका थिए । त्यो बानी थियो –विश्वभर भएका घटनाहरु सिलसिलाबद्ध रूपमा आफ्नो डायरीमा सधैं लेख्ने । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि आफ्नो यस्तो बानी रहेको बताएका थिए ।

प्रणवको रिस

प्रणव मुखर्जी मृदु स्वभावको व्यक्तिको रूपमा चिनिन्छन् । तर कहिलेकाहीँ उनलाई धेरै नै रिस उठ्थ्यो । त्यतिबेला कांग्रेसका ठूला नेताहरू पनि उनीसँग डराउँथे । एकपटक उनको रिसको स्वाद चर्चित भारतीय पत्रकार राजदीप सरदेसाईले चाखेका थिए । प्रणव मुखर्जीको राष्ट्रपतिको कार्यकाल सकिएपछि सरदेसाईले उनको अन्तर्वार्ता लिइरहेका थिए । मुखर्जीले जवाफ दिइरहँदा राजदीपले उनलाई रोके । त्यसपछि रिसाएका मुखर्जीले अन्तर्वार्ता रोकेर भने, ‘तपाईं यो नभुल्नुहोस् कि तपाईं भारतका पूर्वराष्ट्रपतिसँग अन्तर्वार्ता लिँदै हुनुहुन्छ र अन्तर्वार्ताको लागि आग्रह पनि तपाईंले गर्नुभएको थियो । यदि तपाईंसँग सुन्न सक्ने क्षमता छैन भने यो अन्तर्वार्ता यहीँ बन्द गरिदिनुहोस् ।’

मन्त्रिमण्डलको सबैभन्दा योग्य मन्त्री

अंग्रेजी भाषामा उनको क्षमता, लेखन क्षमता, सम्झने क्षमता, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयको जानकारी र संसदीय कार्यप्रणालीको राम्रो ज्ञान भएको कारण उनी मन्त्रिमण्डलको र पार्टीको अपरिहार्य हिस्सा बनेका थिए ।

जहिले पनि मन्त्रिमण्डलमा कुनै जटिल वा विवादपूर्ण मुद्दा आउँथ्यो, त्यसको समाधानको लागि प्रणव मुखर्जीलाई बोलाइन्थ्यो । मनमोहनको मन्त्रिमण्डलको पालामा उनी सुरुदेखि नै दोस्रो नम्बरमा थिए र ५० भन्दा धेरै मन्त्रिमण्डलीय समितिको प्रमुख पनि थिए ।

राष्ट्रपति बनाउँन चाहन्नथिन् सोनिया

सन् २०१२ मा कंग्रेस पार्टीले उनलाई राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवार बनाएको थियो । तर राजनीतिक विश्लेषकका अनसार सुरुमा यो पदको लागि सोनिया गान्धीको पहिलो रोजाइ उपराष्ट्रपति महिद अन्सारी थिए । प्रणवलाई यो पदको लागि नसोचिनुको दुई कारण छन् ।

एक त उनलाई सरकार बलियो पार्ने जिम्मेवारी थियो र अर्को कुरा सोनिया गान्धीलाई प्रणव मुखर्जीप्रति विश्वास थिएन । जुन २०१२ मा सोनिया गान्धीले मुखर्जीलाई भेट्न बोलाइन् ।

मुखर्जीले आफ्नो आत्मकथामा लेखेका छन् – सोनियाले मलाई भनिन् कि तपाईँ यो पदका लागि योग्य व्यक्ति हो । तर तपाईँले यो पनि भुल्नु हुँदैन कि सरकार चलाउनमा तपाईंको महत्वपूर्ण भूमिका छ । के तपाईं कुनै विकल्प सुझाउन सक्नुहुन्छ ? खै किन हो मलाई उनी महमोहन सिंहलाई राष्ट्रपति र मलाई प्रधानमन्त्री बनाउन खोजिरहेकी छन् जस्तो लाग्यो ।

भोलिपल्ट ममता बनर्जीले उनीसँग भेटिन् र साँझपख उनले राष्ट्रपति उम्मेदवारको क्रममा कलाम, मनमोहन सिंह र सोमनाथ चटर्जी रहेको घोषणा गरिन् । यो घोषणपछि सोनियाले मलाई राष्ट्रपति बनाउने मन बनाइन् । भोलिपल्ट कंग्रेसको कोर कमिटी बैठकमा मनमोहन सिंहले मलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको जानकारी दिए ।

न कसैसँग दोस्ती, न दुस्मनी

उनको राष्ट्रपति कार्यकालमा सरकार र विपक्ष दुवै उत्तिकै खुसी थिए । उनले कहिलेकाहीँ सरकारले पठाएको अध्यादेशमा आफ्नो असन्तुष्टि जनाएका थिए तर कहिले पनि फर्काएनन् । उनले भिडद्वारा जबरजस्ती गरिएको हत्या र अहिष्णुताविरुद्ध आफ्नो विचार पनि खुलेर राखेका थिए । उनले एकपटक नेहरु र इन्दिरा गान्धीको समयमा प्रशंसा गरेका थिए । उनले नोटबन्दीको समर्थन गरेका थिए र संसद अवरुद्ध गर्ने विपक्षीको रणनीतिलाई बढावा दिएनन् । उनले राज्य सरकारको दुई बिल, गुजरातको आतंकवाद विरोधी बिल र दिल्ली सरकारको लाभ पद बिललाई अनुमति दिएनन् । आफ्नो कार्यकालमा उनी कुनै पनि विवादमा परेनन् र सत्तापक्ष र विपक्ष दुवैको सम्मान पाउन सफल रहे । उनले राष्ट्रपति भवन जनताको लागि खुला गरेका थिए ।

भारतरत्नबाट सम्मानित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मार्गदर्शनका लागि सार्वजनिक रूपमा उनले तारिफ गर्दै सन् २०१७ मा उनलाई भारतरत्नबाट सम्मान गरिएको थियो । सन् २०१८ मा उनी राष्ट्रिय स्वयंसेवक संघको निमन्त्रणामा उनी नागपुर गए । त्यहाँ भारतीय जनता पार्टीको कार्यालयमा उनको खुब तारिफ भयो । कांग्रेसले भने यसमा आपत्ति जनाएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?