
१ असोज, काठमाडौं । जिल्ला कारागार, सिराहाका अधिकांश कैदीबन्दीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । कारागारमा रहेका ७९७ कैदीबन्दी र दुई आश्रित बालिकामध्ये ५ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म ७ जना संक्रमणमुक्त भएका छन् । अधिकांशलाई २६ साउनमा कोरोना संक्रमण पुष्टि भएको कारागारकी निमित्त जेलर बबिता महतोले अनलाइखबरलाई बताइन् ।
अधिकांश संक्रमित भएपछि कारागारलाई नै आइसोलेसन बनाइएको छ भने संक्रमण नदेखिएका व्यक्तिलाई राख्नका लागि वैकल्पिक स्थानको तयारी भइरहेको छ ।
मुख्य समस्या क्षमताभन्दा बढी कैदीबन्दी
२५ साउनमा चोरी, जबरजस्तीकरणी र लागूऔषध सम्बन्धी कसूरका चार जना आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, सिराहाले आदेश दिएको थियो ।
निमित्त जेलर महतोका अनुसार आरोपीहरुको पिसीआर परीक्षणका लागि स्वाब संकलन भए पनि नतिजा आइसकेको थिएन । त्यसैले कारागारभित्रै निर्मित क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ राखिएको भोलिपल्ट उनीहरुमा संक्रमण पुष्टि भएपछि केही दिनमा सम्पर्कमा गएका अन्य व्यक्तिको पनि परीक्षण गरियो । त्यसक्रममा थप तीन जनामा संक्रमण पुष्टि भएको महताको भनाइ छ ।
उनीहरुसँग सम्पर्कमा रहेका थपमा पनि कोरोना पुष्टि भयो । परीक्षण गर्दै जाँदा अधिकांश कैदीबन्दी संक्रमित भएको पाइएको महतो बताउँछिन् । ‘क्वारेन्टिनमा रहेका वेला खाना ल्याउने, सफा गर्ने व्यक्तिबाट पनि अन्यमा सरेको हुनसक्छ’, उनी थप्छिन् ।
जिल्ला प्रशासन कार्यालय, सिराहाले भने क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पनि छिटो संक्रमण फैलिएको हुनसक्ने जनाएको छ । सिराहा कारागारमा डेढ सयभन्दा बढी कैदीबन्दी राख्न समस्या छ । त्यसैले क्षमताभन्दा बढी कैदीबन्दी राखिएकै कारण संक्रमण फैलिएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलको आशंका छ ।
कारागारको दुराबस्थाबारे जिप्रकाले गृह मन्त्रालय र कारागार व्यवस्थापन विभाग, काठमाडौंलाई पनि जानकारी गराइसकेको छ । तर व्यवस्थापनबारे कुनै निर्णय भएको छैन ।
‘नतिजा ढिलो आउँदा पनि संक्रमण बढ्यो’
सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल कारागारमा नयाँ कैदीबन्दी राख्नु अघि पिसिआर जाँचलाई अनिवार्य गरिएको बताउँछन् । तर जिल्लामा प्रयोगशाला नभएकाले अन्य जिल्ला पठाउँदा नजिक आउनै एक सातासम्म लाग्ने गरेको र त्यही बीचको समयमा संक्रमण फैलिने जोखिम रहेको बताए ।
‘एक पटक स्वाब दिएर बसेको व्यक्ति पनि संक्रमितसँग सम्पर्कमा पुगेर सरिसकेको हुन्छ’, कँडेलले भने । संक्रमित व्यक्तिलाई राख्ने विषयमा पनि समस्या रहेको उनले सुनाए ।
कँडेलका अनुसार हाल उदारोमा कारागार प्रशासनले ५ लाख रुपैयाँको अस्थायी टहरा बनाएर संक्रमित व्यक्तिलाई राखेको छ । तर संक्रमित बढेसँगै समस्या थपिएको छ । कारागारमा कैदीबन्दीको व्यवस्थापन गर्नकै लागि प्रशासनले १८ जना महिला र दुई जना आश्रित नाबालिकालाई सरुवा गर्ने प्रयास गरेको थियो । महिला ब्लकमा रहेका उनीहरुलाई उदयपुर, सप्तरी र बिराटनगरको कारागारमा पठाएर संक्रमितलाई त्यहाँ राख्ने तयारी थियो ।
तर सरुवा गरिएका स्थानमा पठाइएकै दिन उनीहरुमा संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि फकाईएको अधिकारीहरु बताउँछन् । लामो समयदेखि सिराहामा बसेका कतिपय कैदीबन्दीले अन्यत्र सरुवा हुन पनि मानेका थिएनन् ।
संक्रमण नदेखिएकालाई बाहिर राख्ने तयारी

प्रजिअ कँडेलका अनुसार कारागार बाहिर आइसोलेसनमा राखिएका एक जना चोरी मुद्दाका कैदी भागेका थिए । पछि उनी पक्राउ परे । पीसीआर नेगेटिभ आएपछि पुनः फरार भए । त्यसपछि हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् ।
कारागार बाहिर राख्दा पनि कैदीबन्दी भाग्ने जोखिम हुने भएकाले कारागारसँगै रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई मर्मत सम्भार गरेर संक्रमण नभएका व्यक्तिलाई राख्ने तयारी गरिएको छ ।
संक्रमण बढेसँगै कारागारलाई आइसोलेसन र बाहिर संक्रमण नभएका व्यक्तिलाई राख्ने तयारी गरिएको हो । तर, त्यसका लागि बजेट अभाव रहेको जनाइएको छ । हाल प्रशासनले केन्द्र र प्रदेश दुवै सरकारसँग बजेट मागेको छ ।
पुरानो भवनलाई मर्मत गर्न करिब २० लाख खर्च लाग्ने अनुमान गरिएको सिराहा नगरपालिकाका मेयर अशेश्वरप्रसाद यादव बताउँछन् ।
उनी भन्छन्, ‘प्रशासनले १ लाख २५ हजार रुपैयाँ दिने भनेको छ, बाँकी पैसा केन्द्र वा प्रदेश सरकारले नदिए पनि काम गर्दै गर्नु जिल्लाका सबै स्थानीय तह मिलेर भागमा परे जति गछौं भनेका छौं ।’
स्वास्थ्यकर्मी कारागारमै तैनाथ
कारागारमा संक्रमण बढेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिराहा अस्पतालबाट एक जना स्वास्थ्यकर्मीलाई अनकल ड्यूटीमा खटाएको छ ।
प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार चमाविको आइसोलेसनमा रहेका एक जना स्वास्थ्यकर्मीलाई कारागारका संक्रमितको पनि उपचार गर्ने जिम्मेवारी दिइएको हो । थप दुई जना स्टाफ नर्स वा अनमीलाई खटाउने निर्णय भएको छ ।
अधिकारीहरुका अनुसार अधिकांश संक्रमितमा ज्वरो र रुघा, खोकीको समस्या छ । कारागारका संक्रमितका लागि सिराहा नगरपालिकाले पनि एक जना हेल्ड एसिस्ट्याट वा अहेब गरी दुई जना खटाउने गरी व्यवस्था गर्ने भएको छ । संक्रमितको सरसफाई, स्यानिटाइजर, मास्क र खानेकुराको व्यवस्थापन पनि नगरपालिकाले गरिरहेको छ ।
प्रतिक्रिया 4