+
+

भारतीय सहयोगको पुनर्निर्माण विवरण एउटै वेबसाइटमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १७:००

६ असोज, काठमाडौं । भारत सरकारको सहयोगमा नेपालमा भएका पुनर्निर्माणबारेको जानकारीहरु अब एउटै वेबसाइटबाट लिन सकिने भएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको जानकारी www.goicbrinepal.com वेबसाइटमा संग्रहित गरिएको छ ।

सो वेबसाइटको आज नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले संयुक्त रुपमा भर्चुअल विधिबाट उदघाटन गरेका छन् ।

सो डेडिकेटेड वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो वेबसाइटमा उपलब्ध छन् ।

सो वेबसाइट भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणामा र निर्माणमा तयार पारिएको हो । वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो । साथै परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो ।

आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्यूनीकरण जस्ता क्षेत्रहरुमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान हो ।

शिक्षा क्षेत्रका परियोजनाहरुमा यी संस्थानहरुको भूमिकापश्चात केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीलाई भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण प्रयास अन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाहरुका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा पनि नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्धता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन् । विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरुमध्ये ४६ हजार घरहरु निर्माण भइसकेका छन् । ७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचना र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरु पुनर्निर्माण/रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन् ।

भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्घ रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?