+
+

किनेको खोपसमेत आएन, खोप अभियान नै रोकिने डर

थप खोप नआए दोस्रो डोज लगाउन थालिने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते २०:२५

२ चैत,  काठमाण्डौ । भारतीय कम्पनीसँग किनेको कोरोना खोप  समयमै नआउँद नेपालमा खोप अभियान प्रभावित हुने भएको छ । भारतको सेरम इन्ष्टिच्युटसँग २० लाख डोज खोपका लागि अग्रिम रकम भुक्तानी गरे पनि हालसम्म १० लाख डोजमात्र नेपाल आएको छ । बाँकी १० लाख डोज चैत २ गते पठाउने सम्झौता भए पनि नआएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

माग बढी भएकाले खोप पठाउन केही दिन ढिलो हुन सक्ने जवाफ दिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरी बताउँछन् । उनका अनुसार खरिद गरेको खोप ल्याउन र थप खोप खरिद गर्न पहल भइरहेको छ । ‘कम्पनीसंग हाम्रो कुराकानी भइरहेको छ, उताबाट जतिसक्दो छिटो पठाउने जानकारी आएको छ’ तिंकरी भन्छन् ।

स्वास्थ्य मन्त्रालयले भारतबाट  समयमै खोप आउने आकलन गरेर चैत ४ गतेदेखि ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिने अभियान सुरु गर्ने तयारी गरेको थियो । तर खरिद गरिसकेको १० लाख डोज खोप पनि तोकिएको समयमा नआउँदा चैत ४ गते सुरु हुने खोप अभियान स्थगित हुने भएको छ । ‘आज या भोलि नै खोप पठाउने जानकारी प्राप्त भएको छ, समयमै खोप आएमा अभियानले निरन्तरता पाउँछ नत्र केही दिन रोकिन्छ’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने ।

लामो समयसम्म खोप नआए के गर्ने भन्नेमा स्वास्थ्य मन्त्रालयले नै अन्योलमा छ । अहिले छिटो भन्दा छिटो खोप ल्याउनको लागि पहल भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । ‘यदि समयमै ल्याउन सकिएन भने खोप अभियान केही समयलाई स्थगित गरेर दोस्रो डोज दिन समय पुगेकालाई दिन सुरु गर्छौं’ उनले भने । दोस्रो डोज दिँदै गर्दा थप खोप आउने उनको अनुमान छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म १५ लाख ५० हजार भन्दा बढीले खोप लगाएका छन् । फागुन २३ गते सुरु भएको ६५ वर्ष भन्दा माथिको खोप अभियान मंगलबार सकिँदैछ । भारत सरकारले उपहारमा दिएको १० लाख डोज, डब्लुएचओको कोभ्याक्स सुविधामार्फत ३ लाख ४८ हजार डोज र खरिद गरेर ल्याएको १० लाख डोज गरेर २३ लाख ४८ हजार डोज खोप नेपालमा आएको थियो । नेपालले खरिद गरिसकेको १० लाख डोज खोप भारतको सेरम इन्ष्टिच्युटले पठाउन बाँकी छ ।

हालको दिनमा नेपालभित्रै करिब ८ लाख डोज खोप बाँकी रहेकाले पहिले लगाइसकेकाहरुलाई दोस्रो मात्रा लगाउन सुरु गरिने मन्त्रालयका सहप्रवक्ता अधिकारी बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा पहिलो डोज लगाएको ८ देखि १२ हप्ता भित्रमा दोस्रो डोज लगाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको थियो । उक्त निर्णयलाई स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको थियो ।

माघ १४ गते सुरु भएको पहिलो चरणको खोप अभियानमा साढे ४ लाख मानिसले खोप लगाएका थिए । जसको दोस्रो डोज लगाउने मिति वैशाख ७ गतेदेखि १५ गतेसम्म तोकिएको परिवार स्वास्थ्य महाशाखाको महानिर्देशक डा. तारानाथ पोखरेल बताउँछन् ।

उनका अनुसार फागुन २३ गतेदेखि खोप लगाएका ६५ वर्ष माथिका नागरिकको खोप लगाउने पालो जेठको पहिलो साताबाट तोकिएको छ । ‘बाँकी खोप समयमै नआए पनि हामीसंग भएको खोपले नै पहिले लगाइसकेकालाई दोस्रो डोज लगाउन पुग्छ, मुख्य समस्या भनेको लगाउन बाँकी भएकाहरुलाई हो’ उनले भने ।

चीनको खोप आएन

स्वास्थ्य मन्त्रालयका अनुसार चीन सरकारले दिने घोषणा गरेको ८ लाख डोज खोप कहिले आउने टुंगो छैन ।

मन्त्रालयका एक उच्च अधिकारीका  अनुसार खोप लिन तयार भएपनि अर्थ मन्त्रालयबाट स्वीकृति नआएकाले चीनले दिएको खोप अहिलेसम्म आइनपुगेको हो ।

‘अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने विषय पोलिटिकल हो, अर्थ र परराष्ट्रमा केही प्रक्रिया अड्किएको भन्ने जानकारी पाएका छौ’ मन्त्रालयका ती अधिकारीले भने, ‘उताबाट स्वीकृत हुनासाथ हामी खोप लिन्छौं ।’

निजी कम्पनीलाई अनुमति

सरकारले निजी आयातकर्ताहरुलाई पनि खोप खरिद गर्न अनुमति दिएको छ । मन्त्रिपरिषदले गरेको निर्णय अनुसार औषधी व्यवस्था विभागले पनि अनुमतिका लागि इच्छुक जो कोही उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतालाई औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता–२०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन भनेको छ ।

खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण पेस गर्नुपर्ने विभागले जनाएको छ ।

निजी आयातकर्ताले खोप ल्याउन नदिएको भनेर गुनासो गरेकाले  आयात खुल्ला गरिएको मन्त्रालयका एक अधिकारी बताउँछन् । उनका अनुसार निजी आयात कर्ताले खोप ल्याएको खण्डमा समेत सरकारले नै वितरण गर्नेछ ।

‘हामी हाम्रो तर्फबाट खोप खरिदको पहल गर्छौ, निजी क्षेत्रले आफ्नो तर्फबाट पहल गर्छ, जसले ल्याएपनि जनताले नै पाउने हो’ ती अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?