
९ चैत, चितवन । तोकिएको समयभन्दा करिब दुई वर्षपछि विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना आजदेखिसुरु हुने भएको छ ।
गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुुरु गरिँदै छ ।
वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरी गैँडा गणनाको सुरुआत गर्ने कार्यक्रम रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख अणनाथ बरालले जानकारी दिए ।
गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो ।
चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । यी दुई निकुञ्जमा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना सुरु हुँदैछ ।
दुई निकुञ्जमा गैँडा गणना गर्न कम्तीमा २० दिन लाग्ने अनुमान छ । चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।
पाँच’पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना भाइरस -कोभिड-१९) र त्यसअघि बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो ।
कसरी हुन्छ गणना ?
गणनाका लागि हात्ती र गणकहरु छनोटको काम भैसकेको छ । उनीहरुलाई आवश्यक तालिमसमेत दिइएको छ । गणनामा ६० वटा हात्ती प्रयोग गरिँदै छ ।
मानवीय जनशक्ति सबै गरेर ३०० परिचालित हुनेछन् । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई गणनामा प्रयोग गरिने प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।
२२ भागमा विभाजन गरेर गणना गरिँदैछ । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक-एक गरी गैँडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायत प्रयोग गर्ने ।
पछिल्लो समयमा प्राकृतिक मृत्युदर बढिरहेको बेला यसपटक हुन लागेको गणनाले गैँडाको वास्तविक अवस्था, गैँडाको संख्या, प्रजनन् अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन सहज हुने विश्वास लिइएको छ ।
गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने निकुञ्ज विभागले जनाएको छ । गैँडाको संख्या र चाप बढी भएकोले जुँधेरसमेत गैँडा मर्ने गरेको चर्चा चलिरहेका बेला यसपटकको गणनाबाट आउने नतिजाले त्यसको वास्तविकता पनि थाहा हुने विश्वास निकुञ्ज कार्यालयको छ ।
सरकारले गत वर्ष गैँडा गणनाका लागि एक करोड १० लाख विनियोजन गरेको थियो । गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले ८० लाख विनियोजन गरेको छ । दाताबाट २५ लाख हाराहारी सहयोग हुने अनुमान छ ।
यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जका सूचना अधिकारी लोकेन्ऽ अधिकारीका अनुसारसन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा छन् ।
यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्जमा ४ वटा चोरी सिकारबाट र २२ वटा प्राकृतिक कारणबा गैँडा मरिसकेका छन् । गत वर्ष २६ गैँडा मरेका थिए । यस वर्ष चार गैँडा चोरी सिकारीले मारेका छन् ।
चार वर्षसम्म वन्यजन्तु तस्करहरुले गैँडा मार्न सकेका थिएनन् तर यसपटक लकडाउन तथा फितलो सुरक्षाका कारण चोरी सिकारीले गैँडा मारेपछि गैँडा जोगाउने सुरक्षा चुनौती पनि थपिएको छ ।
प्रतिक्रिया 4