
१२ चैत, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गत स्थापना भएको दक्षिण एसियाली विश्वविद्यालयमा भारतीय शिक्षक र विद्यार्थीको वर्चश्व देखिएको छ ।
भारतीय विदेश मन्त्रालयले त्यहाँको संसद लोकसभामा पेश गरेको विवरण अनुसार सो विश्वविद्यालयमा सन् २०२० सम्म ५६ जना शिक्षक छन्, जसमध्ये ५० जना भारतीय छन् ।
दक्षिण एसियाली विश्वविद्यालयमा नेपालका तीन शिक्षक, बंगलादेशका २ र श्रीलंकाका १ शिक्षक रहेका छन् । अन्य चार मुलुकबाट एक जना पनि शिक्षक छैनन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार उक्त विश्वविद्यालयमा विद्यार्थी पनि भारतकै बढी छन् । सन् २०२० मा सो विश्वविद्यालयमा २५१ जना विद्यार्थी रहेकामा भारतका मात्र १२५ विद्यार्थी छन् ।
नेपाली विद्यार्थी २१, अफगानिस्तानका ४६, बंगलादेशका ३४, भुटानका १५, पाकिस्तानका ८, श्रीलंकाका २ जना विद्यार्थी रहेका छन् । माल्दिभ्सका भने यो विश्वविद्यालयमा विद्यार्थी छैनन् ।
प्रतिक्रिया 4