
१४ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन व्यवसायको पुनरुत्थानका लागि कर्मचारीलाई पुनः बिदा पर्यटनमा पठाउने प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि यस्तो प्रस्ताव गरेको हो ।
यसअघि आव २०७०/७१ मा सरकारले बिदा पर्यटन कार्यान्वयनमा ल्याएको थियो । त्यसबेला प्रति कर्मचारीलाई १५ हजार ८ सय रुपैयाँ खर्च तोकेर ५ दिनको बिदा दिइएको थियो ।
‘हामीले निश्चित दिन तोकेर भ्रमण खर्चसहित कर्मचारीलाई भ्रमण बिदा दिने प्रस्ताव गरेका छौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ भट्टराईले भने । कोरोना महामारीबाट थला परेको पर्यटन व्यवसायलाई बचाई राख्न यो महत्वपूर्ण कदम सावित हुने विश्वास मन्त्रालयको हो ।
पर्यटनले यसअघि पनि पटक-पटक यसको अभ्यास भने गरिसकेको छ । यो पटक पर्यटनलाई आन्तरिक पर्यटककै आश बढी रहेका कारण यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । सरकारी कर्मचारीलाई मात्र भ्रमण बिदामा पठाउन करिब १ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । पर्यटन व्यवसायीले लामो समयदेखि सरकारी कर्मचारी, संस्थान र निजी क्षेत्रका प्रतिष्ठानले समेत भ्रमण बिदा दिनुपर्ने माग गर्दै आएका छन् । यसले विदेशी पर्यटक नआएको समयमा समेत व्यवसाय टाट पल्टनबाट रोकिने उनीहरुको तर्क छ ।
बजेटमा नयाँ कार्यक्रम छैनन्, पुराना कार्यक्रम कार्यान्वयनमा जोड
आगामी आर्थिक वर्ष समेत पर्यटनका दृष्टिकोणबाट त्यति उत्साहजनक नहुने आंकलन गरिएको छ । सोहीकारण पर्यटनले यो वर्ष नयाँ कार्यक्रम बजेटमा प्रस्ताव नगरेको भट्टराईले बताए ।
‘विदेशी पर्यटक आगमन अनिश्चित नै हुने भयो’, उनले अनलाइनखबरसँग भने, ‘हामी अब पूर्वाधारमै केन्द्रित हुन्छौं ।’ उनका अनुसार बजेटमा स्थानीय सरकारसँगको समन्वयमा अगाडि बढाइएका पर्यटन पूर्वाधारमा निरन्तर बजेट पठाइने छ । विगतबाटै अगाडी बढेका आयोजनालाई भने बजेट दिने गरि प्रस्ताव गरिएको छ । ग्रेट हिमालयन ट्रेलको पूर्वाधार विकासलाई समेत बजेटमा प्रस्ताव गरिएको छ ।
अमूर्त सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा जोड
आगामी वर्षको बजेटमा संस्कृतितर्फ अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धनमा बढी जोड दिने प्रयास गरिएको छ । ‘मूर्त सम्पदा पहिलेबाटै प्राथमिकतामा छ,’ भट्टराईले भने, ‘तर अमूर्त सम्पदालाई नेपाल चिनाउने माध्यमका रुपमा स्थापित गर्ने प्रयास हाम्रो हुनेछ ।’ संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को महासन्धि २००३ ले अमूर्त सम्पदाबारे विस्तृतमा व्याख्या गरेका थियो । यसभित्र विभिन्न समुदायका संस्कृतिका भित्रि पाटाहरु पर्छन् । उदाहरण दिँदै भट्टराई भन्छन्, ‘पशुपतिनाथको मन्दिर मूर्त सम्पदा हो, यहाँ हुने परम्परागत पूजा अमूर्त सम्पदा ।’
दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लक्ष्य
पर्यटन मन्त्रालयले हवाईतर्फ दुई अन्तर्राष्ट्रिय (गौतमबुद्ध र पोखरा) विमानस्थल आगामी आर्थिक वर्ष भित्र सञ्चालन गर्ने गरी लक्ष्य राखेको छ । यी दुई विमानस्थल चालु आव भित्रै सक्ने लक्ष्य चालु आवको बजेटमा थियो । तर, कोरोना महामारीका कारण काम प्रभावित भएसँगै दुवै विमानस्थल तोकिएको समयमा पुरा हुन सकेनन् ।
त्रिभुवन विमानस्थलको स्तरोन्नतीदेखि निजगढ विमानस्थल निर्माण शुरु गर्ने लक्ष्य समेत बजेटमा पर्यटनले प्रस्ताव गरेको छ । हवाई पूर्वाधारमा समेत नयाँ भन्दा विगतदेखिकै योजना कार्यक्रम कार्यान्वयनमा जोड दिइएको उनले जानकारी दिए । १५ जेठमा आउनु पर्ने आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको काम अहिले जारी रहेको छ ।
प्रतिक्रिया 4