
९ जेठ, काठमाडौं । बाँकेमा आइतबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।
४० दिनको अवधिमा पहिलो पटक कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्यमा झरेको भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए । अझै पनि अस्पतालमा गम्भीर बिरामी धेरै भएकाले मृत्यु घट्न थाल्यो भनेर ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।
आइतबार बाहिरी जिल्लाबाट बाँकेका विभिन्न अस्पतालमा उपचार गराउन आएका ८ जनाको भने मृत्यु भएको छ । तर यसमा बाँके जिल्लाका वासिन्दा भने नरहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।
‘गएको दुई हप्तामा मृत्यु दर उच्च हुुँदा हामी डराएका थियौं’ ओलीले भने, ‘दुई दिनदेखि मृत्यु हुने संख्या घटेको थियो, आज त मृत्यु संख्या शुन्य रह्यो, यो निकै सुखद हो ।’
बाँकेमा कोरोनाको पहिलो लहरमा ५८ जनाको मृत्यु भएको थियो । तर दोस्रो लहरको वैशाख महिनामा १६७ जना र जेठ महिनामा ४८ जना गरी कुल २१५ जनाको मृत्यु भएको ओलीले बताए ।
थपिए ३९० संक्रमित
बाँकेमा पछिल्लो २४ घण्टामा ३९० जना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा प्रयोगशालामा ६९० नमुना परीक्षण गर्दा ३९० जनामा संक्रमण पुष्टि भएको ओलीले बताए । जसमध्ये बाँके जिल्लाका मात्रै ११४ जना रहेका छन् ।
प्रतिक्रिया 4