+
+

कोरोनाको असरः अन्य क्षेत्र ध्वस्त हुँदा सेयर बजारमा उल्लास

रोयल आचार्य रोयल आचार्य
२०७८ जेठ ११ गते २३:४०
फाइल तस्वीरः ब्रोकर कार्यालयमा लगानीकर्ता । अनलाइन कारोबार प्रणाली भित्रिएपछि भने लगानीकर्ताहरु घरबाटै कारोबार गर्न थालेका छन् ।

११ जेठ, काठमाडौं । सोमबार सेयर बजार उल्लासमय देखियो । सेयर कारोबार मापक नेप्से परिसूचक इतिहास रच्दै २८२३ दशमलव ०६ अंकमा पुग्यो भने सेयर कारोबार १३ अर्ब नाघ्यो । नेपाली सेयर बजारको इतिहासमा यी दुवै नयाँ कीर्तिमान हुन् ।

नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड बनाएको छ भने एकै दिन १३ अर्ब नाघेर सेयर कारोबार रकमले पनि नयाँ कीर्तिमान बनाएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद कोरोनाको सकारात्मक असर सेयर बजारमा देखिएको बताउँछन् ।

नेप्सेका सीईओ साउद अहिले बजार बढ्नुको प्रमुख कारण कोरोना पछिको अवस्था नै भएको बताउँछन् । यसमा पनि दुई फ्याक्टर रहेको उनले औंल्याए । पहिलो– प्रविधिको कमाल र दोस्रो– सहज रुपमै कर्जा ।

केही समय अघिसम्म धेरैले अनलाइन कारोबार प्रणाली राम्रो भएन भनेर गाली गरे । नेप्सेलाई कमिशन खाएर नराम्रो सफ्टवेयर भित्र्याएकोसम्म आरोप लाग्यो । नेप्सेका अधिकारी भने अहिलेको उल्लासले आरोपहरुलाई खण्डन गरेको बताउँछन् ।

‘हामीले राम्रो गर्न खोजेका छौं भन्ने कुरा त अहिले पुष्टि भयो नि, अनलाइनबाटै कारोबार गर्नेहरुको संख्या ६ लाख नाघसक्यो’ नेप्सेका सीईओ साउद भन्छन्, ‘अहिले त प्रविधिले कमाल नै गरेको छ, घरबाटै कारोबार गर्न पाएपछि लगानीकर्ताहरु मक्ख छन् ।’

लकडाउन नभएको भए अहिले पनि नेप्सेलाई गर्ने गाली नरोकिने उनी बताउँछन् । धन्न लकडाउन भएका कारण मान्छेहरु धमाधम घरमै बसेर कारोबार गर्न थालेको र अहिले अनलाइन कारोबारको बारेमा प्रष्टसँग बुझेको उनी बताउँछन् ।

यो सबै प्रविधिको कमाल भएको र यसले लगानीकर्ता साथै राज्यलाई पनि राम्रो फाइदा पुगेको उनले बताए । अहिले सेयरमा लगानी गर्नका लागि पैसाको लागत कम पनि भएको सीईओ साउद बताउँछन् ।

उनले देखेको दोस्रो फ्याक्टर हो, सहज रुपमा कर्जा उपलब्ध हुनु । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी अहिले सुस्ताएको छ । कोरोना महामारी रोक्नका लागि गत वर्ष सरकारले लकडाउन गरेसँगै अन्य क्षेत्रमा बैंकहरुले राम्रो लगानी गर्न पाएका छैनन् ।

तर सेयर बजार भने शुरुवाती दिनहरु बाहेक सधैं खुला रहेका कारण यो क्षेत्रमा बैंकहरुले राम्रै लगानी गरेका छन् । अहिले पनि सेयर धितोमा कर्जा लिन चाहनेहरुका लागि बैंकहरुले सहजै दिने उनी बताउँछन् । लागत पनि अहिले सस्तो भएको उनी बताउँछन् ।

अहिले लगानीकर्ताहरु मालामाल भएको सीईओ साउदले बताए । अहिले लगानीकर्ताहरुले ९० देखि ९५ प्रतिशतसम्म सेयर बजारबाट नाफा कमाएको उनको दाबी छ । प्रविधिको कमालका कारण अहिले पहिलेको जस्तो गुनासाहरु पनि नआएको उनले बताए ।

‘कहिलेकाहीं लगानीकर्ताहरुले टीएमएस चलेन भन्ने गुनासो आउँछ, इन्टरनेट नचलेर पनि समस्या होला’ उनले भने, ‘यहाँ विभिन्न भेण्डर कम्पनीहरुले काम गर्छन्, इन्टरनेट, ब्रोकर कम्पनीहरुको साधन स्रोत, लगानीकर्ताहरुको साधन स्रोत सबै प्रयोग हुन्छ, काम राम्रै भएको छ, गुनासो त्यस्तो छैन ।’ कोरोनाका कारण अन्य क्षेत्र निकै अप्ठेरोमा पर्दा पनि सेयर बजारलाई भने यसले निकै राम्रो असर गरेको उनी बताउँछन् ।

‘राजश्वको बलियो आधार बन्यो’

सोमबार सेयर कारोबार रकम १३ अर्ब १७ करोड रुपैयाँ नाघ्यो । नेप्से परिसूचकसँगै कारोबार रकममा यसले एक किसिमको उल्लास छाएको छ । पछिल्लो समय सेयर बजार बढ्दा लगानीकर्ताहरुले मात्रै नाफा कमाएका छैनन् । सेयर बजारबाट राज्यको आम्दानीमा समेत राम्रै वृद्धि भएको छ ।

सेयर बजारको हिसाबकिताब राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पछिल्लो समय बजारमा निकै राम्रो राजश्व संकलन भएको बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको १० महीनामा पूँजीगत लाभकर मात्रै १० अर्ब संकलन भएको छ । अन्य करहरु पनि राम्रै बढिरहेको उनी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल पनि सेयर बजार पनि सरकारको आम्दानी गर्ने बलियो स्रोत हो भन्ने कुरा पुष्टि हुँदै गएको उनले बताए । लकडाउन हुनु अघिसम्म सेयर बजारमा लगानीकर्ताहरुको पहुँच एकदमै कम थियो ।

लकडाउन पछि लगानीकर्ताहरुको प्रवेशले बजार नयाँ उँचाइमा पुगेको छ । सेयर बजार जोखिम भएकै क्षेत्र हो । आफूले किन्न लागेको सेयर कुन कम्पनीको हो र त्यस कम्पनीको विषयमा राम्रो ज्ञान राख्नेहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । सेयर बजारमा घटबढ हुनु स्वाभाविक भए पनि आक्रामक ढंगले बढ्ने वा घट्ने हुँदा भने कहिलेकाहीं त्रास सिर्जना हुन्छ ।

पछिल्लो बजारमा देखिएको चमकले राज्यको आम्दानीमा राम्रै वृद्धि भएको पौडेल बताउँछन् । ‘राम्रो राजश्व आम्दानी गर्ने क्षेत्र यो भन्ने कुराको पुष्टि भयो, पछिल्लो समय जसरी बजारमा कारोबार भइरहेको छ यसले त राज्यलाई पनि राम्रै फाइदा हुन्छ’, उनले भने । बजार यसरी बढ्नुको कारण पनि पौडेल पनि कोरोना महामारी नै प्रमुख रहेको बताउँछन् ।

अन्य क्षेत्रहरु बन्द हुँदा पनि लगानी गर्ने एउटा क्षेत्र खुला नै रहेका कारण सेयर बजारमा आकर्षण बढेको उनले बताए । यसले अर्थतन्त्र चलायमान बनाइराख्न पनि राम्रो भूमिका खेलेको उनी बताउँछन् । ‘अन्य क्षेत्र ठप्प हुँदा पनि बजारमा दैनिक १३ अर्ब कारोबार हुन थाल्यो, यो बैंकिङ कारोबार भन्दा ठूलो रकम हो’ उनी भन्छन्, ‘यसले अर्थतन्त्रलाई चलायमान राखिराख्ने र राज्यको पनि बलियो आम्दानीको स्रोत बनिरहेको छ ।’

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक विश्वमोहन अधिकारी भने अहिले बजार अस्वाभाविक रुपले बढिरहेको बताउँछन् । यसले साना तथा सोझा लगानीकर्ताहरुमा बढी जोखिम रहेको उनले बताए । ‘अर्थतन्त्रका अन्य क्षेत्रहरु ठूलो समस्यामा छन्, तरलताकै नाममा, अनलाइनकै नाममा यसरी बजार बढाउनु भएन’ उनले भने, ‘यो वृद्धि अस्वाभाविक हो, यहाँ ठूला र बाठाले कमाउने अनि साना र सोझा लगानीकर्ताहरु डुब्ने खतरा देखिन्छ ।’

पछिल्लो समय एकदमै आक्रामक रुपमा बढिरहेको कारण लगानीकर्ताहरुले बुझेर मात्रै लगानी गर्नुपर्ने उनी बताउँछन् । मूल्य घटबढ हुनसक्ने आधारभूत पक्षहरु विश्लेषण गरेर मात्रै लगानी गर्न उनको सुझाव छ ।

लगानीकर्ताहरुले पनि यस अवधिमा निकै राम्रो आम्दानी गरेका छन् । चालु आर्थिक वर्षको ९ महीनामा नै लगानीकर्ताले १७ खर्ब रुपैयाँ भन्दा बढी कमाएका छन् । अर्थात् सेयर बजारको पूँजीकरण ९ महीनामा नै १७ खर्ब रुपैयाँ हाराहारीमा वृद्धि भएको छ । गत असार मसान्तमा १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको बजार पूँजीकरण चैत मसान्तमा बढेर ३७ खर्ब ५८ अर्ब ९८ करोड पुगेको छ ।

२०७७ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३८ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६९.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ७.९ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ चैतसम्ममा सूचीकृत ५ अर्ब ६७ करोड सेयरको चुक्ता मूल्य ५५७ अर्ब ७० करोड रहेको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महीनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, ३९ अर्ब ४७ करोड रुपैयाँ बराबरको साधारण सेयर, ३८ अर्ब ११ करोड बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब १८ अर्ब ८५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

९ महीनाको अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५९ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर, ३ अर्ब ३० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर गरी कुल २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?