Comments Add Comment

भविष्यमा जीवित बन्ने आशामा यसरी राखियो १४६ जनाको लाश

तपाईंले हलिउडका विभिन्न साइन्स फिक्सन फिल्महरु हेर्नुभएकै होला । केही साइन्स फिक्सन फिल्ममा क्रायोजेनिक च्याम्बरको विषय समावेश गरिएको हुन्छ । त्यस्ता क्रायोजेनिक च्याम्बरमा फिल्मका पात्रहरुले आफ्नो शरीरलाई लामो समयसम्म फ्रिज गर्ने र वर्षौंपछि त्यस्ता च्याम्बरबाट निस्किँदा ज्यूँका त्यूँ रहने दृश्यहरु फिल्ममा हेर्न पाइन्छ ।

क्याप्टेन अमेरिका नामक फिल्ममा त ७० वर्षसम्म बरफमा जमाएर राखेपछि पनि मानिसलाई पुनः जीवित गराउन सकिने कथा समावेश छ ।

हालै करेन्ट बायोलोजी नामक विज्ञान पत्रिकामा एउटा शोध प्रकाशित भयो । जसमा रुसको साइबेरियामा २४ हजार वर्षसम्म हिउँमा जमेर रहेको डेलाइट रोटिफर नामक सूक्ष्म जीव जीवितै रहेको तथ्य पत्ता लागेको छ । यो सबैलाई आश्चर्यजनक शोधको रुपमा रहेको छ ।

यी सबै तथ्यहरुलाई हेर्दा एउटा प्रश्न स्वभाविक रुपमा उठ्छ के मानिसलाई समेत लामो समयसम्म क्रायोजेनिक निद्रामा राखेर पुनः जीवित गराउन सकिन्छ ? के भविष्यमा कुनै त्यस्तो प्रविधिको विकास होला जसले मरेका मानिसलाई पनि पुनः जीवित गराउन सक्नेछ ? यही विश्वासका साथ अमेरिकाको एरिजोनास्थित अल्कार लाइफ एक्सटेन्सन फाउन्डेसनले १४६ जना मानिसको शवलाई सुरक्षित ढंगले क्रायोजेनिक च्याम्बरमा राखेको छ । भविष्यमा विज्ञानको मद्दतले ती मानिसहरुलाई पुनः जीवित बनाउन सकिने विश्वास उसको छ ।

एरिजोनाको फोनिक्समा रहेको उक्त फाउन्डेसनले ती मानिसहरुको मृत शरीरलाई एक विशेष खालको क्रायोजेनिक च्याम्बरमा राख्छ जसले जीवित छँदै भविष्यमा पुनः दोस्रोपटक जीवित बन्ने इच्छा जाहेर गरेका हुन्छन् । ती विशेष च्याम्बरमा निकै कम तापक्रममा शवलाई राखिएको हुन्छ ।

कम तापक्रममा राख्नाले मृतकको शरीरमा कुनै पनि परिवर्तत तथा क्षयीकरण हुँदैन र शरीर जस्ताको तस्तै रहन्छ । अल्कार लाइफ एक्सटेन्सन फाउन्डेसनले आफ्नो वेबसाइटमा यस प्रविधिको बारेमा विस्तृत व्याख्या गरेको छ ।

मृत शरीरलाई यसरी विशेष खालको क्रायो च्याम्बरमा राख्दा झण्डै साढे २ करोड रुपैयाँ बराबरको खर्च लाग्दछ । त्यसैले धनाढ्य परिवारका व्यक्तिहरुले आफ्ना मृतक परिवारजनको शव त्यसरी सुरक्षित राख्न सक्दछन् ।

हालसम्म यो संस्थाले १४६ जनाको शव क्रायोजेनिक रुपमा एक विशेष तरिकाले तरल नाइट्रोजनमा राखेको छ । त्यसमा प्रथम विश्वयुद्धका एकजना सिपाहीको शव पनि रहेको छ । त्यहाँ राखिएका मृतकका परिवारजनलाई यो आशा छ कि भविष्यमा विज्ञानको चामत्कारिक विकासले गर्दा ती मृतकलाई पुनः जीवित गराउन सकिनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment